५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश मन्त्री सिटौलामाथि पहिचान पक्षधरद्वारा ढुंगा मुढा प्रहार

मन्त्री सिटौलालाई कालो झण्डा देखाउन पुग्दै पहिचान पक्षधर युवाहरू। तस्बिर: महेश्वर/नागरिक।

प्रदेश १ प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि उदयपुरमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा प्रहार गरेका छन्।

शनिबार गाईघाटमा आयोजित ‘वृत्ति परामर्श तथा रोजगार मेला’मा सहभागी भई विराटनगर फर्कने क्रममा सडकमा पहिचान पक्षधरहरूले चर्को नाराबाजीसहित कालो झण्डा देखाउँदै ढुंगामुढा प्रहार गरेका हुन्।

गाईघाटस्थित त्रियुगा नमुना माविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भएर दिउँसो ३ः३० बजे फर्केका उनीमाथि त्रियुगा नगरपालिका ६ जलजलेमा पहिचान पक्षधर समूहले विरोध गर्दै आक्रमणको प्रयास गरेको हो। उनको गाडीमाथि ढुंगामुडा प्रहार गर्नुका साथै कालो झण्डा देखाएर विरोध प्रदर्शन भएको थियो। ढुंगाले मन्त्री सवार गाडीको सिसामा क्षति पुगेको छ भने झण्डा भाँचिएको प्रत्यक्षदर्शी स्थानीयले जनाएका छन्।

धरान–चतारा–गाईघाट खण्डको मदन भण्डारी लोकमार्ग भएर आएका उनी फर्कँदा व्यापक विरोध गर्ने गरी फर्कनु अगावै बेलका–चौदण्डीगढी खण्डका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शन गर्दै आक्रमणको तयारी भइरहेको थियो। विरोधको सुराकी पाएपछि रुट बदलेर गाईघाट–लाहान–रुपनी पूर्व–पश्चिम लोक मार्गको बाटो फर्केका उनी ७ किलो मिटर पार नगर्दै जलजलेमा पहिचान पक्षधरको निशानामा परिहाले। रुट बद्लेर अर्को बाटो जाने जानकारी पाएका पहिचान पक्षधरहरू गाईघाट–कदमाहा सडक खण्डको जलजलेमा जम्मा भई कालो झण्डा देखाउनुका साथै ढुंगामुढा प्रहार गरेको किरात राई यायोक्खा स्रोतले जनाएको छ।

पहिचानको विपक्षमा प्रदेश १ को नाम राखेपछि प्रदेश व्यापी आन्दोलनको भइरहेको र सोही कार्यक्रम अनुसार मन्त्री सिटौलाको विरोध गरेको यायोक्खाले जनाएको छ। मन्त्री आउने कुरा पूर्व जानकारी नभएकाले तत्काल बनेको विरोध कार्यक्रम सशक्त नभएको हो। एक्कासि कार्यक्रममा मन्त्री आएको थाहा भएपछि फर्कने क्रममा विरोध गर्ने कार्यक्रम तय भएको हो।

‘कार्यक्रममा मन्त्री आउने कुराको पूर्व जानकारी हामीलाई भएन’ १ नं. प्रदेश पुनः नामाकरण संघर्ष समितिले भन्यो ‘पहिल्यै थाहा भएको भए उनलाई कार्यक्रममा सहभागी हुनसम्म दिइँदैनथ्यो, धेरै सशक्त प्रतिकार हुन्थ्यो।’

मन्त्री उदयपुर आएको थाहा पाए लगत्तै पहिचान पक्षधरहरूले फर्कने क्रममा विरोध गर्न त्रियुगाका गाईघाट, असारी, चौदण्डीगढीका हडिया, बेलटार, बसाहा तथा बेलकाका रामपुरदेखि चतारासम्मको सडक खण्ड विरोध गर्ने कार्यक्रम तय गरेका थिए।

आक्रमण हुने सुराकी पाएपछि सिटौला फर्कने रुट बदलेर गाईघाट, लाहान, रुपनी, हुँदै इटहरीको बाटो भएर विराटनगर हिँडेका थिए। तर, रुट बद्ले पनि पहिचान पक्षधरको निशानाबाट बच्न भने नसकेको संघर्ष समितिका एक सदस्यले बताए। आन्दोलनकारीहरुले चर्को नाराबाजी गर्दै सडकमा टायर बालेर मन्त्री सिटौलाको विरोध गरेका थिए।

प्रहरीले भने मन्त्रीमाथि त्यस्तो कुनै आक्रमण नभएको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले मन्त्री सिटौला कार्यक्रम उद्घाटन गरेर फर्केको र त्यस्तो केही समस्या नभएको बताए। केही ठाउँमा कालो झण्डा देखाउने प्रयास भएको भन्ने खबर आएको तर, खासै विरोध भएको जानकारी नआएको डिएसपी चौधरीले बताए।

फागुन १७ गते छापामार शैलीमा पहिचान विरोधी प्रदेशको नाम राखेयता अशान्त रहेको प्रदेश १ मा पुनः नामाकरणको माग गर्दै चर्केको आन्दोलन पेचिलो बन्दै गएको छ।

एमाले सांसद हिक्मत कार्की नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपा नेतृत्वको गठबन्धन सरकारले प्रदेशसभामा छलफलै नगरी गुप्त रुपमा पहिचान विरोधी नाम राखेको भन्दै सुरु आन्दोलनको क्रममा प्रहरीको गोली लागेर पदम लिम्बु (लाजेहाङ) को मृत्यु भइसकेको छ।

पहिचान विरोधी नाम राखेको भन्दै गठबन्धनमा सामेलमध्ये जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन भर्खरै फिर्ता लिएको छ। जसपाबाट सरकारमा सामेल स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले ३ दिनअघि पार्टीले समर्थन फिर्ता लिएपछि मन्त्री पद त्यागिसकेकी छिन्। जसपाको समर्थन फिर्तासँगै अल्पमतमा परेको प्रदेश सरकारलाई माओवादी र राप्रपाको भने समर्थन कायमै छ।

प्रकाशित: २० जेष्ठ २०८० १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App