४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

वर्षदिनदेखि डायलासिस गराइरकेका मिर्गौला रोगी कृष्ण खत्री । तस्बिर : फेसबुक

खोटाङ – दुवै मिर्गौला फेल भएका खोटाङको दिप्रुङ गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका ४८ वर्षीय कृष्ण खत्रीले सहयोगको याचना गरेका छन् । हाल उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका खत्रीले दुवै मिर्गौला प्रत्यारोपणका लागि शुभेच्छुक तथा आफन्तलाई सहयोगको याचना गरेका हुन् ।
 मिर्गौला रोगी खत्रीले वर्षदिन अघिदेखि बिरेन्द्र अस्पताल छाउनीमा हप्तामा दुई पटक डायलासिस गराउँदै आएका छन् । मिर्गौला प्रत्यारोपणका लागि २० देखि २५ लाख खर्च लाग्ने भएपछि शुभेच्छुकलाई गुहार्नु गरेको उनका छोरा सुमनले बताए । सरकारले मिर्गौलाको डायलासिस सेवा निःशुल्क सुरु गरेपनि रगत जाँच, औषधि र चिकित्सकको सल्लाह बमोजिमको फलफुल र खानेकुराको व्यवस्थामा मासिक १५ देखि २५ हजारको हाराहारीमा खर्च भइरहेको खत्री परिवारको भनाई छ । मिर्गौलाको उपचारकाक्रममा हालसम्म खत्री परिवारको ६ लाख बढि खर्च भई सकेको छ । निरन्तर खर्च जुटाउन नसक्दा डायलासिस गर्न नै छाड्नुपर्ने अवस्था आएको मिर्गौला रोगी खत्रीले बताए । ‘उपचारकाक्रममा लाखौं खर्च भईसक्यो, भएभरको सम्पति पनि सकियो,’ खत्रीले भने, ‘सबैको साथ र सहयोगमा मिर्गौला फेरौँ भनेको, आफैले त कसरी जुटाउनु त्यत्रो उपचार खर्च ।’ 
सरकारले निःशुल्क डायलासिसको व्यवस्था गरेपनि निम्न आर्थिकस्तरका परिवार अझै पनि मिर्गौलाको उपचारबाट पछि सर्नुपर्ने अवस्था अनुभव भएको उनी बताउँछन् । डायलाासिस निःशुल्क भएपनि मासिकरुपमा रगत जाँच गर्नुपर्ने, रगत लिनुपर्ने, दैनिक औषधि सेवन गर्नुपर्ने, रगत बढाउने सुई लगाउनुपर्ने, तागतिला खानेकुरा खानुपर्ने, कुरुवाका लागि छुट्टै कोठा र खानपानको व्यवस्था गर्नुपर्ने लगायतका अन्य खर्च धान्न मुस्किल परिरहेको खत्री परिवार बताउँछन् । ‘सरकारले डायलासिस निशुल्क गरिदिएको छ, तर अरु काममा धेरै खर्च हुन्छ,’ उनले भने, ‘खर्चले नपुग्दा डायलासिस नै छाडौंजस्तो भइरहेको छ ।’ मिर्गौलाको उपचारकाक्रममा अन्या ठाउँमा कोठा लिनुपर्ने बाध्यता अन्त्याका लागि अस्पतालमा छुट्टै कुरुवा घर वा धर्मशालाको व्यवस्था गर्नुपर्ने खत्रीले बताए । 
मिर्गौला फेर्ने बिरामीका लागि भनेको समयमा मिर्गौला पाउन गाह्रो छ । पाए पनि मागिएको मूल्या तिर्न सक्ने आर्थिक हैसियत सबैको हुँदैन । अर्कातर्फ मृगौला खरिद बिक्रीमा कानूनी अड्चन पनि छँदैछ । त्यही भएर हाल खत्री परिवार मृगौला दिन ईच्छुक व्यक्तिको खोजीमा छन् । ‘मेरो जीवन मरण तपाईहरुको हातमा छ,’ मिर्गौला रोगी खत्रीले भने, ‘आफ्नै बुवा, आफ्नै काका वा दाजुभाई सम्झेर सहयोग गर्न अपिल गर्दछु ।’ 
 

प्रकाशित: १७ चैत्र २०७३ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App