६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेको नरैनापुरमा आगलागी हुँदा ११ घर जले

नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा भएको आगलागी निरीक्षण गरिँदै। तस्बिर: नागरिक

जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागी भएको छ। आइतबार दिउँसो १२ बजेतिर भएको उक्त आगलागीमा परी ११ वटा घर र एउटा गोठ जलेका हुन्।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा लागेको हो।

आगलागीबाट ११ वटा घर र एउटा गोठमा क्षति पुगेको उनले बताए। आगलागीबाट १७ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए।

दिउँसो १२ बजेबाट सुरु भएको आगलागी ३ बजे मात्र नियन्त्रणमा आएको बताइएको छ। आगलागी भएको जानकारी पाउने बित्तिकै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह घटनास्थलमा पुगेका थिए। समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको उनले बताए।

आगलागीबाट भएको क्षतिको विवरण संकलन हुन बाँकी रहेको शाहले बताए। आगलागी पीडितलाई गाउँपालिकाको तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताएका छन्।

प्रकाशित: १४ जेष्ठ २०८० १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App