५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’

पडरिया(लहान)- मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक्राउ गरीएको हो।

              एसइई परीक्षा सञ्चालन भैरहेका केन्द्रमा अनुगमन टोली प्रवेश गर्नासाथ केन्द्राध्यक्ष र निरीक्षकहरु परीक्षार्थीलाई ‘अलर्ट’ गर्दै आँफुसित भएका चिट फ्याक्न सँकेत गरेका थिए। निरीक्षक र केन्द्राध्यक्षको संकेत पाउनासाथ झ्यालबाट परीक्षार्थीले प्रश्न हल गरिएको पाना(चिट) फ्याक्न थाले। मिलेमतोमा नै परीक्षाहल हलभित्र चिट पुग्ने गरेको देखिएको छ। अनुगमन आएको जानकारी पनि निरीक्षकले नै विद्यार्थीलाई दिने गरेको पाइएको छ।

रतनेश यादवको निरीक्षक बिल्ला झुण्ड्याएर पश्चिम दक्षिणतर्फको परीक्षा कोठामा परीक्षार्थीलाई चोराईरहेका महतोलाई अनुगमन टोलीले सोधपुछ गर्दा उनी अकमकिए। शंका लागेर निमित्त प्रजिअ भट्टराईले केन्द्राध्यक्ष रामकुमार साहलाई बोलाए। केन्द्राध्यक्ष साहले सोधपुछको क्रममा  रतनेशको ‘परिचय पत्र’ झुण्ड्याएको ब्याक्ति नक्कली निरीक्षक भएको स्विकारे। सोधपुछको क्रममा सुरुमा 'आँफुनै रतनेश हुँ' बताउने पक्राउ ब्यक्तिले पछि आँफु अनिल महतो भएको प्रष्ट पारे।

अनुगमनको क्रममा यो परीक्षा केन्द्रमा अधिकतम निरीक्षक संस्थागत(परीक्षार्थी सहभागी नीजि विद्यालय) कै विषयगत शिक्षक रहेको अनुगमन टोलीका एक सुरक्षा अधिकारीले बताए । निमित्त प्रजिअ भट्टराईले केन्द्राध्यक्ष साहलाई गल्ती सच्चाउन निर्देशन दिएका थिए। उनले भने,‘ अर्काको परिचय पत्र झुण्ड्याएर तीन दिनसम्म निरीक्षकको जिम्मेबारी सम्हालिरहँदा ‘केन्द्राध्यक्ष’ लाई थाहा नहुने कँही हुन्छ ? ‘परीक्षा कोठाभित्र ‘चिट’ भित्रिंदा केन्द्राध्यक्षले पत्तो नपाउने हुँदैन’– लोभलालचमा परि परीक्षालाई अमर्यादित बनाउने जोसुकै भएपछि कारबाही हुन्छ।

                यो परीक्षा केन्द्रमा मोडेल एजुकेशनल एकेडेमी लहान, लर्डबुद्ध युनिक एकेडेमी लहान, जिविस इङ्गलिस बोर्डिङ स्कुल लहान, बेबी एन्जल सेकेन्ड्री बोर्डिङ स्कुल लहान, देव आईडिअल सेकेन्ड्री बोर्डिङ स्कुल लहान, सफटेक उमावि लहान, तुसडो उमावि बिष्णुपुरकट्टी को परीक्षा केन्द्र छ। ति विद्यालयहरुबाट ३ सय ८५ परीक्षार्थी सहभागी रहेको शिक्षा कार्यालयको तथ्यांक रहेको छ।

                               

 

 

  

प्रकाशित: ६ चैत्र २०७३ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App