बाजुराका प्रकाश विक र कंचनपुरकी पार्वती सुनारको भेट सामाजिक सञ्जाल फेसबुकले गरायो। फेसबुकबाटै उनीहरु बीच चिनजान भयो। दुवै जना साथी बने। त्यो क्रम रोकिएनन् बिस्तारै कुराकानी गर्न थाले। कुराकानीले दुबैलाई नजिक बनाउँदै लग्यो।
जीवन अन्तरङ्गका गफगाफ हुन थाले। फेसबुकको कुराकानीको क्रम हेलो हाइमा मात्र सीमित भएन, दुवै जना एक अर्कालाई प्रेम गर्न थाले।
सामाजिक सञ्जालले नै जुराएको भेटलाई प्रेम सम्बन्धमा मात्रै सीमित उनीहरूले राखेनन् अन्ततः प्रकाश र पार्वती दुवै जनाले अलग नबस्ने र बिहे गर्ने निधो गरे। सामाजिक सञ्जालको प्रेम बिस्तारै विवाहमा परिणत भयो। प्रकाश पार्वती लिन कंचनपुर पुगे र पार्वती प्रकाशसँगै बस्ने निर्णय सहित बाजुरा आइन्।
गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका थिए, तर औपचारिक बिहे भने गरेका थिएनन्। दुवै तर्फका आफन्तसँगको परामर्शपछि ज्येष्ठमा बिहे गर्ने साइत जुराए। त्यही साइत अनुसार नै प्रकाश र पार्वतीको बिहे मालिका मन्दिर मार्तडीमा ज्येष्ठ ८ गते जुरेको थियो।
साइत अनुसार नै माइती पोइली पक्षबाट आफन्त इष्टमित्र छरछिमेकको टोली बाजुरा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिर पुग्यो। मन्दिरमा बिहे गर्ने बारे अघिल्लो दिन नै नियमित पूजापाठ गर्ने ब्राह्मणलाई जानकारी गरिसकेकोले आफन्त बडो उत्साहका साथ मन्दिर पुगे। विवाहको पोशागमा सजिएका बेहुला बेहुली र आफन्तहरू मन्दिर परिसर पुग्दा मूल मन्दिरको ढोका बन्द देखेँ र झस्किए।
मूल मन्दिरको ढोका बन्द थियो। तर मन्दिर भित्र दीप जलिरहेको देखिन्थ्यो। मन्दिर परिसरमा नियमित पूजा पाठ गर्ने कुनै ब्राह्मणहरू थिएनन्। बिहेको जानकारी गराएका नियमित पूजापाठमा सरिक हुने पुजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन भन्यो।
खुसीका साथ मन्दिर पुगेकाहरुको मुहार मलिन हुन थाल्यो। एक अर्का बीच कानेखुसी भइरह्यो, विक थर भएकै कारण पुजारी मन्दिर बन्द गरेर गएको हुन सक्ने कुराकानी पनि चल्यो। अघिल्लो दिन हुन्छ, आउनु भनेका ब्राह्मण नै सम्पर्क बाहिर भएपछि जातकै कारण विभेदपूर्ण व्यवहार गरिएको निष्कर्षमा पुगे।
नत मन्दिरको ढोका खुला हुने, नत ब्राह्मण नै आएर पूजापाठ व्रतबन्ध गराउने त्यो सबै कुरा अनिश्चित बन्यो। अन्ततः आफन्तहरू ब्राह्मण नआएपछि मन्दिरको झ्यालबाट प्रसाद चढाएर निराशा बोकेर घर फर्किए।
हरेक जनमसँगै हुने, अर्काबीचको प्रेम सदा जीवित राख्न मन्दिरलाई साक्षी राखेर हिन्दु परम्परा अनुसारको बिहेका लागि मन्दिर पुगेको जोडिले अपमान र विभेद सहेर फर्किनु परेको पीडा शब्दमा लेखि साध्य छैन, यो तहसम्मको अन्याय र विभेद हुनै सक्दैन्, भन्छन् पत्रकार मदन विक।
प्रेस चौतारी बाजुरा अध्यक्ष समेत रहेका विकपनि सँगै थिए। मालिका मन्दिरलाई यहाँका स्थानीयले बडी मालिकाको आस्थाका रुपमा पूजा गर्ने गरेका छन्। त्यही विभेदकारी मानसिकताले नै काम गरेको हुन सक्ने अनुमान बेहुला पक्षको छ। ढोका बन्द हुनु, ब्राह्मणको मोबाइलमा फोन नलाग्नु, अघिल्लो दिन हुन्छ भनेर पछिल्लो दिन फरार हुनु नै विभेद गरिनु हो, हामीलाई सह्य छैन, कानुनी बाटो रोज्छौँ, बेहुलाका आफन्तले बताएका छन्।
उसोत प्रहरीमा मन्दिर व्यवस्थापन समिति, पुजारी सहितलाई विपक्ष बनाएर निवेदन दिइसकेको छ। जाहेरी नै दर्ता गर्ने तयारी अधिकार कर्मी र आफन्तहरुले तयारी गरेका छन्। हामीले ब्राह्मण मन्त्र सहित बिहे गरिदिन भनेकै होइन, ढोका खुला गरिदिए हुन्थ्यो, म गर्दिन पनि पुजारीले पाउनु हुन्छ, तर जातकै कारण विभेद गरेर सम्पर्क विहीन हुनु जीवनकै ठुलो अपमान र अन्यायपूर्ण क्षण बिताउनु पुर्यो, बेहुला प्रकाश विकले दुखेसो पोखे।
मालिका मन्दिरमा यस अघि पनि दसैँ मनाउने विषयलाई लिएर दलित र गैर दलित समुदायबिच विवाद भएको थियो। दुवै पक्षका केही व्यक्तिहरू घाइते भए, केही बालबालिका समेत कुटिएका थिए। त्योपछि दुवै पक्षबीच मन्दिरमा कोही कसैले अवरोध नगर्ने सहमति भयो। त्यस यता जान आउन र पूजा पाठ गर्न अवरोध गरिएको थिएन।
फेरि बिहेका लागि पुगेको दलित समुदायको जोडी माथि अर्को प्रहार भयो। पत्रकार वसन्त विश्वकर्माले बिहेका लागि गरिएको अवरोध र विभेदलाई भोट माग्ने, सीप चलाउने तर मन्दिरमा समान इज्जत नदिने उपल्लो भनिएका व्यक्तिहरूको मनोविज्ञानकै प्रकाष्टाले दलित समुदाय विभेदमा परेको विचार राखेका छन्।
मानव भएर मान्छेको पहिचान र परिचयले नबाँच्ने अवस्थामा पुर्याउनु जति निन्दनीय र अमानवीय अर्को घटना हुनै नसक्ने आक्रोश सामाजिक सञ्जालमा थपिदैं गएको छ।
विवाह जीवनमा एक पटक हुने हो, जन्म र मृत्यु आफूलाई थाह हुदैन्, थाह हुने, महसुस गरिने र अनुभव लिन मिल्ने जीवनमै महत्त्वपूर्ण क्षण विवाह हो, त्यही पल पनि पीडादायी बिताउनुको पीडा कुनै सजाय र सम्मानले पूर्ति हुने दुखेसो बेहुली पार्वती सुनारले गरिन्। आफन्त छोडेर अर्काको ठाउँमा आएर खुसी मनाउने दिन अपमानित हुनु पर्दाको आफ्नै जीवनदेखि धिक्कार लाग्यो पार्वतीले थपिन्।
दलित समुदायले मन्दिरमा बिहे गर्न नपाउने कँहि कतै कुनै प्रावधान छैन। नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा विभेदभाव विरुद्धको हक उल्लेख छ। मुलुकी अपराध संहिता २०७४ को दफा १६६ मा सार्वजनिक स्थल वा कुनै पनि कारण देखाइ कसैलाई विभेद वा भेदभाव गर्न पाइने छैन, यदि त्यो भएको खण्डमा ३ वर्षसम्म कैद र ३० हजार जरिवाना वा दुवै हुने व्यवस्था रहेको अधिवक्ता हर्क खडायतले बताएका छन्।
जातीय विभेदको रंग देखाउने गरी मन्दिरमा पूजा गर्ने ब्राह्मणले विभेद गरेको आरोप बेहुला पक्षको छ। बिहे कार्यमा सहभागी नभए पनि मन्दिरको ढोका नै बन्द गर्नु सिङ्गो दलित माथि र देशको मूल कानुन संविधान माथि नै प्रहार भएको दलित अधिकार कर्मीको आक्रोश छ।
बडी मालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले वास्तविकता पत्ता लगाएर दोषी माथि कानुनी कारबाही हुनु पर्ने बताएका छन्। खड्काले बडी मालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकलाईलाई फोन गरेर सम्बन्धित निकायमा निवेदन दिन भनिसकेको बताएका छन्।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बड मालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले फोन गरेर घटना बारे जानकारी गराएको र घटनाबारे थप आफूले जानकारी लिइरहेको बताएका छन्।
उनले घटना सत्य साबित भए कानुनी रुपमा अघि बढाउने आश्वासन दिएका छन्। बाजुरामा दलित समुदाय माथि बेलाबेला छुवाछुतका घटनाहरू हुँदै आए पनि संरक्षणकै कारण पीडितले न्याय नपाएको अवस्था छ।
प्रकाशित: ८ जेष्ठ २०८० १६:५४ सोमबार