१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बिदेसिएर कमाउने चक्करमा दक्ष जनशक्ति

दश वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाएर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुवेदी अहिले विदेसिने सोचले भौंतारिदै छन्। नेपालमा नै सानोतिनो व्यवसाय तथा कुनै काममा अल्झिँदै थिए। तर सोचेजस्तो सफलता नमिलेपछि उनी भरपर्दो कम्पनीमा काम पाए जुन देश जान पनि तयार छन्।

‘नेपालमै केही गरौं भनेर तरकारी खेती तथा व्यापार व्यवसाय सुरु गरें, तर व्यवसाय खासै उकास्न सकिनँ,’ ओखलढुंगाका घनश्याम सुवेदी भन्छन्, ‘ऋण झन् बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुख पाइएला जस्तो छैन।’

विदेशमा दश वर्ष काम गरेर फर्किएको अनुभव स्वदेशमा बिचौलियाका कारण प्रयोग गर्न नसकेको उनको गुनासो छ। विदेशमा दुःख गरेको पैसाले घरपरिपारलाई रेखदेख गरी घरजग्गा पनि जोडिन सफल भएको उनले बताए। ‘९ महिनाकी छोरी छोडेर परदेसिने मन त कसलाई हुन्छ र? छोरीलाई पढाउनुपर्‍यो, घर चलाउनुपर्‍यो। महँगी धेरै छ,’ सुवेदीको गुनासो छ।

दश वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाएर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुवेदी अहिले विदेसिने सोचले भौंतारिदै छन्।

चापागाउँका २१ वर्षीय सुमित श्रेष्ठको पनि त्यस्तै व्यथा छ। उनी पनि परिवारको आर्थिक अवस्थालाई सहायता दिन बिदेसिँदै छन्। स्वदेशको सानोतिनो कामले घरखर्च चल्न मुस्किल भएपछि श्रेष्ठको वैदेशिक रोजगार नै पहिलो प्राथमिकता रहेको छ।

‘कोरोनाले गर्दा ३८ वर्षे बुबा बित्नुभयो। भाइ सानो छ। भाइ र आमाको लालनपालन, भाइको शिक्षादीक्षाको जिम्मेवारी ममाथि छ,’ उनले भने, ‘आमाको पढाइलेखाइ नहुँदा भनेझैं जागिर पनि नमिल्ने, आफूले १२ कक्षा पढेअनुसार जागिर पनि नपाइने। यदि पाइहालियो भने पनि १०/१५ हजार तलब हुने जागिर पाइने। न कुनै सिप छ हातमा। विदेश नगएर के गर्नु?’ सामाजिक परिवेशले पनि आफूलाई बिदेसिन बाध्य बनाएको बताउँदै श्रेष्ठ भन्छन्, ‘घरको मुली बुबा बितेपछि समाजमा पनि हेला भइँदो रहेछ। यस्तो समाजमा बस्नुभन्दा विदेश गएर कमाउनु नै उत्तम विकल्प ठानें।’

सानो भाइ र छोराको सहारा खोजिरहेकी आमालाई छाडेर विदेश जानुपर्दा निकै असजिलो भइरहेको उनले बताए। सानो भाइ र आमाको साथमा बस्दै आएको तर अब केही दिनमा नै बिदेसिने हुदाँ परिवारसँग बस्न नपाउने सोचले अहिले नै पीडा हुने गरेको उनले बताए।

श्रेष्ठले भने, ‘पैसा मात्र सबैथोक रहेछ। पैसा छ भने आफ्ना छन्। पैसा छैन त कोही छैनन्। नेपालमा नै राम्रो सिप र दक्षताअनुसारको रोजगारी र हरेक कामको सम्मान भइदिएको भए भर्खरै श्रीमान् गुमाएकी मेरी आमालाई र सानो भाइलाई छोडेर बिदेसिनुपर्ने थिएन।’

ओखलढुंगाकै नवीन बुढाथोकीको पीडा पनि उस्तै छ। नेपालमा नै मास्टर सिध्याए तापनि रोजगारी कम छ। कामको सम्मान छैन। उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन। परिवारको खुसीका लागि, परिवारका रहर पूरा गर्न र आफ्ना सपना पूरा गर्न परदेसिँदै गरेको उनी बताउँछन्।

‘विदेशको काम सजिलो पक्कै पनि छैन। सम्पूर्ण परिवार त्यागेर जानुपर्दा, दुःख बिमारमा पर्दा हेरविचार गर्ने कोही हुँदैन। काम नगरे खान पुग्दैन,’ नवीन भन्छन्, ‘वैदेशिक रोजगारी मेरा लागि रहर नभएर बाध्यता हो। नेपालमा नै रोजगारीको राम्रो व्यवस्था भए पक्कै पनि परिवार र साना बालबच्चा छोडेर विदेश जाँदैनथें होला।’

घनश्याम, सुमित र नवीनको जस्तो बाध्यताले मात्र नभई पछिल्लो समय युवाहरूको विदेश जाने क्रम अत्यन्तै बढ्दै गएको छ। १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास भइरहेको छ। स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइ कमै मात्रामा भएको देखिन्छ। स्वदेशमा रोजगारको अवसर न्यून रहेको, बढ्दो महँगीले गर्दा पनि पछिल्लो समय युवा जगत्मा बिदेसिने क्रम बढेको छ।

ओखलढुंगाकै नवीन बुढाथोकीको पीडा पनि उस्तै छ। नेपालमा नै मास्टर सिध्याए तापनि रोजगारी कम छ। कामको सम्मान छैन। उब्जाएको खेतीको राम्रो बजार व्यवस्थापन छैन।

वैदेशिक रोजगारीमा गएका लाखौं युवाले विदेशमा कमाएको पैसाले आफ्नो घर व्यवहार मात्र चलाएका छैनन्, स्वदेशलाई नै ठुलो आर्थिक टेवा दिएको छ।

नेपालमा वैदेशिक रोजगारमा जाने र आउने यिनै नेपालीले आर्जन गरेको रेमिट्यान्सले गर्दा नेपालको आर्थिक स्थितिलाई सहज बनाएको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या धेरै कम ज्याला हुनु, सामाजिक सुरक्षाको अभाव, काम गर्ने अवस्था नाजुक, मानव अधिकार हनन, सामाजिक वहिस्कार, अनियमित बसाइँसराइ, महिला तथा बालबालिकामा शोषण, बेचबिखन, स्वास्थ्य तथा औषधिको अभावजस्ता समस्या नेपालीले भोग्नुपरेको अवस्था छ।

नेपाली कामदारले विदेशमा गएर विभिन्न कठिनाइ, पीडा, खतरा सहेर पनि पैसाका लागि आफ्नो देश छोडेर अर्काको देशमा जान बाध्य छन्।

वैदेशिक रोजगारीमा जाने युवामध्ये ७५ प्रतिशतभन्दा बढी अदक्ष रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। यसरी अदक्ष जनशक्ति बिदेसिँदा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको छ। त्यस्तो जनशक्ति हातमा कुनै सिप नलिई जाने भएकाले उनीहरू नराम्रो, कठिन र जोखिमपूर्ण काम गर्न बाध्य भएका भुसालले जानकारी दिए।

नेपालमा वैदेशिक रोजगारमा जाने र आउने यिनै नेपालीले आर्जन गरेको रेमिट्यान्सले गर्दा नेपालको आर्थिक स्थितिलाई सहज बनाएको छ।

‘यसरी बिदेसिने क्रममा सहरका भन्दा ग्रामीण भेगका युवा बढी रहेका’ विभागका सूचना अधिकारी भुसालले बताए। प्रायः १८ वर्षदेखि ४५ वर्षसम्मका युवापुस्ताले वैदेशिक रोजगारलाई पछ्याएको विभागका अधिकारी बताउँछन्। वैदेशिक रोजगारमा बिदेसिनेको संख्या यसरी क्रमशः बढ्दै गएको देखिन्छ। यसको मुख्य कारण देशको बेरोजगारी र गरिबी हो।

नेपाल सरकारले दुबई, कतार, साउदी, मलेसिया, इजिप्ट, फ्रान्स लगायत विश्वका २ सय मुलुकमा वैदेशिक रोजगारीका लागि खुल्ला गरिएकोमा १ सय ७८ वटा देशमा व्यक्तिगत तर्फबाट जाने गरिएको छ भने १ सय ११ देशमा संस्थागत रूपमा विदेश जान खुला गरिएको भुसालले जानकारी दिए। सरकारले प्रमुख श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकौं समस्या झेल्दै आएका छन्।

हालको अवस्थामा नेपाली युवाजनहरू करिब दिनको ३ हजार जना विदेशतिर रोजगारको सिलसिलामा जाने गरेको पाइन्छ। नेपाली बिदेसिने कारण नेपालको राजनीतिक अस्थिरता, गरिबी, बेरोजगार, आर्थिक संकट नै हो।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४६ पुस ७ देखि २०७९ चैत ३० सम्म श्रम स्वीकृति लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ रहेको छ। त्यसमध्ये ७५ लाख ५२ हजार ७१ पुरुष र ४ लाख ५ हजार ७ सय ५६ महिला श्रम स्वीकृति लिएर बिदेसिएका थिए। वैदेशिक रोजगारमा जाने नेपालीको सोही अवधिको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली २२ लाख १५ हजार ९ सय १ कतार गएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०४६ पुस ७ देखि २०७९ चैत ३० सम्म श्रम स्वीकृति लिएर विभिन्न मुलुक जानेको संख्या ७९ लाख ५७ हजार ८ सय २७ रहेको छ।

त्यस्तै दोस्रो ठुलो मुलुक मलेसिया १८ लाख ७६ हजार २ सय २९ र तस्रो ठुलो मुलुक साउदी अरबमा १७ लाख ७१ हजार ५ सय ५८ युवा विदेश पलायन भएको देखिन्छ। त्यसैगरी १२ लाख ९३ हजार ६ सय ५१ जना दुबईमा, ३ लाख २ हजार २ सय १७ कुबेतमा, १ लाख ५ हजार ३ सय ३० जना बहराइनमा गएको देखिन्छ।  

प्रकाशित: ६ जेष्ठ २०८० ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App