१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बौद्धमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्दै

काठमाडौं— जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर विस्तार गर्ने भएको छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्न लागेको हो ।

आइतबार महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वर पौडेल र निवर्तमान प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, वारुणयन्त्र प्रमुख किशोर भट्टराई र इटालीको स्वायत्त प्रदेशका अध्यक्ष डा. आरनो कम्प्यास्चरले संयुक्त रुपमा सेन्टरको उद्घाटन गरे ।

दुई वर्षभित्र बनिसक्ने सेन्टरका लागि इटालीले करिब सात करोड रुपैयाँ आर्थिक सहयोग गरेको वारुणयन्त्रका प्रमुख भट्टराईले बताए ।

महानगरपालिकाले न्युरोडमा रहेको वारुणयन्त्रलाई यसअघि नै काठमाडौंका चार ठाउँमा शाखा विस्तार गर्न लागेको थियो । उत्तरमा बौद्ध, दक्षिणमा बल्खु, पूर्वमा जडिबुटी र पश्चिम कंलकीमा शाखा स्थापना गर्ने योजनाअन्र्तगत बौद्धमा आइतबार उद्घाटन गरिएको हो ।

‘बढ्दो सहरीकरणका कारण न्युरोडस्थित वारुणयन्त्र घटनास्थलसम्म पुग्दा क्षति धेरै भइसकेको हुन्छ,’ वारुणयन्त्र प्रमुख भट्टाराईले भने, ‘क्षतिको न्यूनीकरण गर्न समयमै घटनास्थल पुग्न सकियोस् भनेर विपत् व्यवस्थापनको पूर्वतयारी स्वरुप शाखा विस्तार गर्न लागेको हौं ।’

दाताको मुख ताक्नुपर्ने भएकाले बाँकी तीन ठाउँमा शाखा विस्तार कहिलेसम्म हुन्छ भन्ने यसै भन्न नसकिने उनको भनाइ छ।

काठमाडौंका चार ठाउँमा दमकल सेन्टर आवश्यक छ : किशोर भट्टराई, प्रमुख, जुद्ध वारुणयन्त्र काठमाडौं

 

बौद्धमा स्थापना हुन लागेको दमकल सेन्टर कस्तो प्रकारको हो ?

बौद्धमा बन्न लागेको शाखा अन्तर्राष्ट्रियस्तरको हुनेछ । दमकलका लागि आवश्यक सम्पूर्ण पूर्वाधार उक्त शाखामा हुनेछन् । करिब तीन रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त शाखामा विपत् व्यवस्थापन शाखा समेत हुनेछ । यसका लागि इटालीबाट सात करोड सहयोगको प्रतिबद्धता आएको छ ।

इटालीको सहयोग कसरी प्राप्त भयो ?

सन् २०११ मा इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशबाट रोटरी क्लबमार्फत नेपालको वारुणयन्त्रलाई सहयोग गर्न चाहेको कुरा आयो । सन् २०१२ मा दमकल, ¥याडर, रोड रेस्क्यु ट्रक, जिप, कमान्ड कारलगायत विपत् व्यवस्थापन सामग्री सहयोग पायौं । त्यसपछि पनि हामी उनीहरुको सम्पर्कमा रहँदै आएका थियौं । अघिल्लो वर्षको भूकम्पपछि उक्त प्रदेशका वारुणयन्त्र प्रमुख डा. अनस्ट प्रेअर नेपाल आएका थिए । त्यसबेला उनी यस वारुणयन्त्रमा पनि आए । उनलाई मैले हाम्रो योजना सुनाएको थिएँ । योजना सुनेपछि चारमध्ये एक ठाउँ (बौद्ध)मा इटालीले बनाउने कुरा भयो । ६ महिनाअघि एमओयु भएको थियो । आइतबार (आज)बाट भने काम नै सुरु भएको छ ।

दमकल सेन्टर बनाउने सोच नयाँ हो कि पहिलेकै ?

यो दमकल सेन्टर ७९ वर्षअघिको कल्पना हो । त्यसबेलाको र अहिलेको सहरीकरणमा धेरै फरक आएको छ । जस्तो कि साँखुमा आगलागी भयो भने यहाँबाट दमकल पठाउँदा धेरै क्षति भइसकेको हुन्छ । त्यसैले यस्तो क्षतिलाई कसरी कमी गर्न सकिन्छ भनेर अनुसन्धान गरी काठमाडौंका चार ठाउँमा दमकल सेन्टर बनाउने योजना भएको हो । यो दमकल सेन्टर निर्माणपछि काठमाडौंको उत्तरमा हुने आगलागीमा क्षति धेरै कमी हुने विश्वास लिएका छौं । यसका साथै अन्य ठाउँमा पनि दमकल सेन्टर चाँडै स्थापना गर्न हामी लागिरहेका छौं । यो अत्यन्त आवश्यक पनि छ । यसलाई विपत् व्यवस्थापनको पूर्वतयारीको रुपमा बुझ्नुपर्छ ।

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App