२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ। 

रासायनिक मलको कारोबारको अनुमति नभएको फर्मलाई लिलाम प्रक्रियामा समावेश गराएर तथा कार्यालयले निकालेको सूचना पनि लुकाएर भन्सार कर्मचारीले अनियमितता गरेको पाइएको हाे।

गत शुक्रवार नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजपुर नगरपालिकाबाट गोली चलाएर व्यापक तनावका बिच ल्याएको अवैध तस्करीको २० लाख भन्दा बढी मूल्यको युरिया, डिएपी तथा पोटासलाई भन्सारले सोमबार साँझ आधा मूल्यमा लिलामी गरेको थियो।

लिलामीमा 'जय माता दी जेनरल सप्लायर्स' गौर, जैएमडी सप्लायर्स गौरलाई समावेश गराइएको छ तर दुवै फर्मलाई रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएको बुझिएको छ। भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्काले तस्करहरूसँग मिलेर लिलामी सकार गर्ने एउटा मात्र फर्मलाई जानीजानी समावेश गराएको बुझिएको छ।

नासु रोक्काले २० लाख भन्दा बढीको रासायनिक मल मिलेमतोमा १० लाख दुई हजार रुपैयाँमा जय मा दुर्गा सप्लायर्सलाई जिम्मा लगाएका हुन्।

चारैतिरबाट विरोध हुन थालेपछि हतार हतार कागजपत्र मिलाएर नासु रोक्काले राति ८ बजेपछि लिलाम सकार गरेको फर्मबाट राजस्व जम्मा गर्न लगाएको पनि बुझिएको छ।

भन्सार कार्यालयले मिलेमतोमा गरेको लिलामको मल राजपुरको फर्मले सकार गरेको भए पनि मल रातारात चन्द्रनिगाहपुर पुगेको छ। भन्सार कार्यालयकै सेटिङमा एक हजार तीन सय बोरा रासायनिक मल चन्द्रनिगाहपुर पुगेको स्रोतको दाबी छ।

भन्सारबाट मल चन्द्रनिगाहपुर पुर्‍याएर भन्सारकै सेटिङमा फेरि तस्करी गर्न लगाउने गोप्य योजना रहेको बुझिएको छ। राजपुरको संस्थाले लिलाम सकार गरेकोमा फेरि पनि राजपुरको गोदाममा तस्करी गराएर मल राख्दा कसैले केही भन्न नसक्ने दाबी गरिएको छ।

गौर भन्सारको सेटिङमा भएको रासायनिक मलको लिलाम प्रक्रियाको अनुसन्धान हुनुपर्ने गौरका व्यावसायीहरुको माग रहेको छ। गौर भन्सार कार्यालयले मल लिलाम गर्न लागेको सूचना पाएपछि सोमवार दिउँसो लिलामबारे बुझ्न जाँदा नासु रोक्काले रासायनिक मलको लिलाम सोमवार नभई मंगलवार हुने बताएको आरोप गौरका केही व्यवसायीको रहेको छ।

प्रकाशित: २ जेष्ठ २०८० १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App