१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुआहारा कार्यक्रमको निरन्तरता चाहन्छन् ताप्लेजुङका सरोकारवाला

ताप्लेजुङको फुङलिङ नगरपालिका दोखुकी महिला स्वास्थ्य स्वयंसेविका ममता पालुङ्वाले सुआहारा कार्यक्रममार्फत स्वास्थ्य र सफाइबाहेक पोषण तथा खाद्य सुरक्षाका विविध आयामबारे जानकारी पाइन्। उनलाई अझै यो कार्यक्रममार्फत गाउँ समाजमा सन्देश प्रवाह गर्ने इच्छा छ, तर सुआहारा दोस्रो कार्यक्रमको अवधिसमेत समाप्त हुन लागेको सुन्दा उनी खिन्न छिन्। ‘सुआहारा कार्यक्रमले समेट्ने सबै क्षेत्र समाजमा पस्किएर मात्र बिदा हुन पाएको भए यसले ताप्लेजुङमा धेरै सुधार ल्याउने थियो’, उनले भनिन्।

सुआहारा कार्यक्रममार्फत समुदायमा पुगेको स्वास्थ्य र सफाइ जागरणको अवसर पर्याप्त भइनसकेको महसुस गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदीलाई भइरहेको छ। ‘स्वास्थ्य र सफाइ क्षेत्रमा सुआहारा कार्यक्रमले धेरै ज्ञान दिएको छ, तर निश्चित अवधि लगाएर यसलाई पूर्ण बनाउने प्रयासमा लाग्नु पर्छ। ताप्लेजुङमा सुआहाराको निरन्तरता अनिवार्य छ’, सुवेदीले भने।

पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम सुआहारा कार्यक्रमले दिएको ज्ञानमार्फत ताप्लेजुङको स्वास्थ्य र सफाइ क्षेत्रमा सकारात्मक परिवर्तन आएको देख्छन्। ‘तर केही समय अझै यो कार्यक्रमलाई निरन्तरता दिएर यो सूचकद्वारा समुदाय स्तरमा पर्याप्त सुधारको संकेत दिनु पर्छ’,गौतमले सुआहारा कार्यक्रमले बीचमै बाटो नछाड्ने विश्वास लिँदै भने।

जनस्वास्थ्य अधिकृत पशुपति खनाल यो कार्यक्रम सुरु भएपछि स्वास्थ्य, सफाइ, पोषण र गर्भवती महिला तथा बालबच्चाको दैनिकीमा सुधार आएको तर पर्याप्त भइनसकेको बताउँछन्। उनले अहिलेसम्मको सिकाईबाट सुधार गर्नुपर्ने क्षेत्रमा थप अवधि खर्च गरी स्वास्थ्य र सफाइमा ताप्लेजुङलाई अब्बल बनाउन सुआहारा कार्यक्रमको निरन्तरता अनिवार्य देखिएको अनुभव सुनाए।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ समुदायमा जागरण प्रवाहका लागि सुआहारामार्फत भएका गतिविधिको खुलेर प्रशंसा गर्न सकिने बताइन्। ‘यसलाई फेरि कसरी सञ्चालनमा ल्याउने भन्ने स्वरूपबारेमा छलफल होला, तर यसको यात्रा टुंगिनु हँुदैन’,प्रजिअ चेम्जोङले यो कार्यक्रमको निरन्तरतामा जोड दिइन्।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जनप्रतिनिधिका तर्फबाट कस्तो सहयोग चाहिएको हो, त्यो दिन तयार रहेको तर ताप्लेजुङमा सुआहारा कार्यक्रमको अवधि यहीं समाप्त हुन नहुने बताउँछिन्। सरोकारवालाको कुरा सुनेपछि सुआहारा कार्यक्रम जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङले लामाले यो कार्यक्रमको निरन्तरता जिल्लाको आवश्यकताका रूपमा रहेको बताए। ‘हामी जिल्लासभा, नगरसभा र गाउँसभाबाट आगामी सहकार्यका बारेमा विशेष प्रस्ताव नै पारित गरौंला, तर यो कार्यक्रम यतिमै मात्र सीमित गर्नुभएन’, लामाले भने। उनले सुआहारा कार्यक्रमले ताप्लेजुङमा प्राप्त नतिजालाई निश्चित गन्तव्यमा पु¥याएर मात्र हात झिक्ने योजना बनाउनुपर्नेमा जोड दिए। यसो भएमा समग्र जिल्लालाई सुखद नतिजातर्फ अघि बढाउने उनको विश्वास थियो।

सुआहारा दोस्रो कार्यक्रमका जगदिश दासका अनुसार सुआहारा कार्यक्रम (दोस्रो चरण) भने समाप्त भएको छ। यो कार्यक्रममार्फत ताप्लेजुङमा स्वास्थ्य, सफाइ, पोषण र गर्भवती तथा बालबच्चाको स्वास्थ्य अवस्था र दैनिकीमा पर्याप्त सुधार आएको छ, तर यो पूर्ण छैन र यस्ता अभियानलाई निरन्तरता दिनुपर्छ’,दासले भने। सुआहारा कार्यक्रमका वरिष्ठ मूल्यांकन सल्लाहकार सुबिर कोलेका अनुसार सुआहाराको तेस्रो चरणको कार्यक्रम भित्रनेमा विश्वास राख्दै यसको स्वरूप र क्षेत्रबारे अहिले केही भन्न नसकिने बताए। महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन सन् २०१६ देखि ताप्लेजुङसहितका ४२ जिल्लामा सुआहारा कार्यक्रम सञ्चालनमा रहेको थियो।

प्रकाशित: २ जेष्ठ २०८० ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App