४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ नेता चुन्ने तयारीमा प्रजातन्त्रवादी प्राध्यापक

 

काठमाडौं- प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ। दुईदिने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेस निकट संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

जगत तिमिल्सिना समूहले बुधबार अध्यक्ष र महासचिव पदमा उम्मेदवारी घोषणा गरेको छ। राजधानीमा कार्यक्रम गरी सो समूहले अध्यक्षमा तिमिल्सिना र महासचिवमा राजेन्द्र गौतमको उम्मेदवारी घोषणा गरेको हो। तिमिल्सिना त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक हुन्। उनी संघको केन्द्रीय महासचिव पनि हुन्। त्यस्तै गौतम त्रिचन्द्र क्याम्पस रसायनशास्त्र विभागका सहप्राध्यापक हुन्। उनी प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिचन्द्र एकाइका अध्यक्ष पनि हुन्।

दुई समूहबीच प्रतिस्पर्धा हुने, तिमिल्सिना समूहको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणासभामा तिमिल्सिना र गौतमले प्रजातन्त्रवादी प्राध्यापक संघको नयाँ नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनुलाई  प्रजातान्त्रिक अभ्यासको संज्ञा दिँदै यसलाई अन्यथा लिन नहुने बताए। तिमिल्सिनाले विश्वविद्यालय र कलेजमा सुधार, प्राज्ञिक उन्नयन, गुणस्तरीय उच्च शिक्षा, आंशिक, करार र पूर्णकालीन अध्यापकको हितरक्षाका लागि संघलाई अग्रपंक्तिमा उभ्याउने लक्ष्यसाथ अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरे। त्यस्तै महासचिवका उम्मेदवार गौतमले उच्च शिक्षामा देखिएका विसंगति अन्त्यका लागि संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै त्यसैका लागि आफूहरूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिए।

तिमिल्सिना समूहले 'उद्देश्य प्राज्ञिक मर्यादाको–अभियान गतिशील र परिणाममुखी प्रजातन्त्रवादी प्राध्यापक संघ निर्माण' नारा अघि सारेको छ।

उम्मेदवारी घोषणासभामा संघका अध्यक्ष प्राध्यापक वासुदेव घिमिरेले प्राज्ञिक मर्यादा र उच्चशिक्षामा समसामयिक सुधारका लागि संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले यसलाई अझै जुझारु र परिस्कृत बनाउनुपर्ने बताए। घोषणासभमा संघको कार्यसमितिका पदाधिकारी, वरिष्ठ प्राध्यापकलगायतको उपस्थिति थियो।

संघको नयाँ नेतृत्वका लागि अर्को समूहले प्रकाशसिंह प्रधानको नेतृत्वमा बिहीबार उम्मेदवारी घोषणा गर्ने जनाएको छ। दुई समूहले चुनाव लड्ने तयारी गरे पनि सहमतिका लागि पनि प्रयास भइरहेको स्रोतले बतायो।

प्रकाशित: १९ फाल्गुन २०७३ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App