२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

निर्माण कम्पनीको लापरबाहीले सडक यात्रीलाई सास्ती

रौतहटको व्यापारिक केन्द्र गरुडाबाट ऐतिहासिक समनपुर पुग्न यात्रीले चरम सास्ती खप्नु परेको छ।

करिब आठ किलोमिटर लामो सडक खनेर कहीँ खाल्टो त कतै सडक अग्लो बनाउनुका साथै निर्माण कम्पनीले सडकमै ठूल्ठूला गिटी र बोल्डर अलपत्र पारेपछि यात्रीलाई चरम सास्ती भएको हो।

अत्यन्तै चर्को घामको समयमा छारो उडेर यात्रीलाई चिन्नै नसक्ने बनाइरहेको तथा सडकको एकातिर गिटीको लहरै पहाड बनाइएको कारण सडक यात्रीलाई यात्राभन्दा यातना बढी महशुस हुन्छ।

गरुडा–समनपुर सडक निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनको चरम लापरबाहीका कारण जिल्लाको समनपुर – गरुडा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दै गएको छ। जिल्लाको गरुडा र गढीमाई नगरपालिकालाई जोड्ने समनपुर गरुडा सडक खण्डमा सगुन कन्ट्रक्सनले निर्माणजन्य सामग्रीहरू लामो समयदेखि सडकमै थुपारेर राख्दा सो सडकमा दिनहुँ दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ।

वर्षौँदेखि जीर्ण रहेको गरुडा समनपुर सडक खण्डलाई कालोपत्रे गर्ने जिम्मा सगुन कन्ट्रक्सनले पाएको थियाे। कन्ट्रक्सनले उक्त सडक पिच गर्ने भन्दै सडक पिच नगरी यस्तै अलपत्र छाडेको स्थानीय राजु सहनी बताउँछन्। निर्माण कम्पनीले सडकको पारेको दुर्दशाको कारण एम्बुलेन्स तथा दमकल लैजान पनि नसकिने भइसकेको सहनी बताउँछन्।

कन्ट्रक्सनले निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी लगायतका सामग्रीहरू सडकमै थुर्पादा एकातर्फ दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ सडक नै कुरूप बन्न पुगेको छ। उक्त कन्ट्रक्सनले सो सडक कालोपत्रे गर्नका लागि करिब एक महिनादेखि समनपुरबाट मलाहीटोलसम्म सडकको आधि भाग मिचेर बीच सडकसम्म निर्माण कार्यमा प्रयोग हुने गिटी थुपारेका कारण पैदल र सवारी साधनबाट यात्रा गर्न यात्रुहरुलाई निकै कठिनाई भइरहेको छ।

अति व्यस्त सडकको रुपमा रहेको र दैनिक हजारौँ सवारी साधन ओहोर दोहोर गर्ने समनपुर गरुडा सडकको फुटपाथसमेत मिचेर सगुन कन्ट्रक्सनले निर्माणजन्य सामग्रीहरू सडकमै भण्डारण गरेर छाडिदिएका कारण सर्वसाधारणहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

जथाभाबी थुपारिएका निर्माण सामग्रीका कारण आवत– जावतमा कठिनाइ हुनुका साथै र ट्राफिक जामको समेत उतिकै समस्या रहेको पाइएको छ। सो सडकमा ठुलठुला खाल्डाखुल्डी रहेको र अहिले चर्को गर्मी साथै हावा चल्ने समय भएकोले अत्यधिक धुलो उड्ने गरेको कारण दिनमा सो सडक भएर हिँड्नै मुस्किल हुने गरेको स्थानीयहरु बताउँछन्।

सडकको आधा भाग सम्ममा निर्माणजन्य सामग्री थुपारेर राखिएको कारण सवारी साधनले यात्रा गर्न निकै कठिनाई भइरहेको बताउँछन्।

निर्माण कम्पनीले छिटोछरितो सडक निर्माण गर्नुपर्नेमा ढिलो गरी लामो समयसम्म निर्माण सामग्री सडकमै थुपारेर राखेका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएको सहनीले बताए।

व्यस्त सडकको काम तीव्र रूपमा सञ्चालन गरेर निकास दिनुको सट्टा झन् अवरोध बढेर आवतजावतमा कठिनाइ भोग्नुको साथै ठूला सवारी गुड्दा उड्ने धुलोले श्वास प्रश्वासमा समेत समस्या हुने गरेको स्थानीय सहनीको गुनासो रहेको छ।

प्रकाशित: ३१ वैशाख २०८० १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App