३ मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। गाँजा बोकेको कारका चालक भने फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १ बजेर ४० मिनेटको समयमा भैंसे चेकपोस्टमा नियमित जाँचका क्रममा गाँजा बरामद भएको हो।

पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले रोकेर जाँच गर्न खोजेको थियो। सो क्रममा चालकले ‘केही छैन सर’ भन्दै प्रहरीलाई छल्दै फरार भएका थिए।

त्यसपछि प्रहरीले कारको पछाडिको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी नौ वटा पोकामा राखिएको ११७ किलो ९१० ग्राम गाँजा फेला पारेको थियो।

सोपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमान्डमा थप टोली परिचालन गरिएको थियो।

प्रहरीले बिहान ४ बजेर ४५ मिनेटमा उक्त कार र बरामद गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको जनाएको छ।

फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App