७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

डोल्पामा पहिलो पटक गाडी पुग्यो

राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको नेपालको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ।सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो।यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको १र१ वटा बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ।२०७६ सालमा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीपमात्रै गुड्दै आएको थियो।

केही महिनायता डोल्पा जाजरकोट सडक खण्ड अन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो।अब राष्ट्रिय राजमार्गसँग जोडिन हुम्ला जिल्ला मात्र बाँकी छ।राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर नेपाली सेनामार्फत निर्माण कार्य भइरहेको छ।

करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माणको काम बाँकी छ।राजमार्ग अन्तरगत केही खोलामा पुल निर्माणको काम पनि बाँकी छ।उक्त बाँकी रहेको सडक निर्माण र झन्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय राजमार्गसँग जोडिने छ। नेपालगन्जबाट सुर्खेत,देखि छिन्चु,जाजरकोट,त्रिवेणी हुँदै दुनै गाडी पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी भुवनेश्वर पोखरेले जानकारी दिए।

प्रकाशित: २७ वैशाख २०८० ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App