१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनाका आरोपितलाई उन्मुक्ति छैन

काठमाडौं- सडकमा सवारी दुर्घटना गराएर प्रहरीले फेला नपारे कानुनी कारबाहीबाट बचिन्छ भन्ने सोच्नुभएको छ भने होसियार! दुर्घटना गराएको महिनौं त के वषार्ंैपछि पनि प्रहरीले खोजेर छाड्छ। प्रहरीले माघ ६ गते सडक दुर्घटनापछि फरार रहेका सवारी चालकलाई २० दिनपछि घरमै पुगेर पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं शंखपार्क अगाडि राति साढे २ बजे दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका चालकलाई सिन्धुपाल्चोकस्थित उनकै घरबाट पक्रेको हो।

महाशाखाका अनुसार उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए। घटनामा दाङ पाँचकुलेका लोकबहादुर श्रेष्ठको मृत्यु भएको थियो। रोल्पा लिबाङका हुकुम महरा घाइते भएका थिए। दुवै जना  डोजर चालक थिए।

महाशाखाका अनुसार नीरबहादुर तामाङ बा ४ च १०१२ नम्बरको टाटा मोबाइल लिएर सुकेधाराबाट तरकारी ल्याउने मानिस लिन बसुन्धरातर्फ जाँदै थिए। एकाबिहानै दुरदृष्टि निकै कम थियो। हुइँकिएको टाटा मोबाइलले बाटो काट्दै गरेका श्रेष्ठ र महरालाई ठक्कर दियो। दुवै जना हुत्तिँदै सडक किनारमा पुगे। बिहानको समय कोही नदेखेपछि चालक गाडी नरोकी फरार भए।

'अनुसन्धानका लागि दुर्घटना स्थलमा भेटिएको हेड लाइटको रिङ र क्लोज सर्किट क्यामराको धमिलो दृश्य सहायक बन्यो। पछ्याउदै जाँदा दुर्घटनापछि घरमा बसेको अवस्थामा फेला पारेका हौ,' महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने। उनका अनुसार दुर्घटना भएको गाडी मर्मतसम्भार गरि चालक फरार भएका थिए। 

महाशाखाको अनुसन्धानमा ठक्करबाट क्षति भएको गाडी भत्केको पुलस्थित ग्यारेजमा बनाएर तामाङ सिन्धुपाल्चोक गएका थिए। 

यस्तै ललितपुर प्रहरीले माघ १० को मध्यरातमा मोटरसाइकललाई पुल्चोकमा ठक्कर दिएर फरार रहेका कार चालक विपुलमान सिंहलाई घरबाटै नियन्त्रणमा लिएको थियो। बा ६६ प ६२४८ नम्बरको मोटरसाइकललाई सिंहले चलाएको बा ७ च ९५०८ नम्बरको कारले ठक्कर दिएको थियो। घटनामा मोटरसाइकल चालक कृष्ण थापा घाइते भएका थिए।

प्रकाशित: २७ माघ २०७३ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App