१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

लाइसेन्स् ट्रायल सेन्टरको मापदण्ड परिमार्जित

काठमाडौं-यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) को मापदण्ड परिमार्जन गरेको छ । पुरानो मापदण्डअनुसार ट्रायल सेन्टर पाउनै मुस्किल भएपछि केही प्रावधान हटाइएको हो ।

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने निर्देशिका– ०६९ ले ठूला सवारीसाधनको ट्रायल सेन्टर सञ्चालन गर्न झन्डै ३० रोपनी क्षेत्रफल चाहिने मापदण्ड तोकेको थियो । मापदण्डअनुसारको नयाँ ट्रायल सेन्टर नभेटेपछि विभाग निर्देशक चन्द्र फुयाँलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलले ठूला सवारीसाधनका लागि ‘सिम्पल टेस्ट ड्राइभिङ’ अव्यावहारिक भएकाले निर्देशिकाबाट हटाउन विभागलाई सुझाव दिएको थियो । विभागले कार्यदलबाट आएको सुझावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाएको थियो । मन्त्रालयले माघ ११ गते ‘सिम्पल टेस्ट ड्राइभिङ’ प्रावधान हटाउन स्वीकृति दिएसँगै ट्रायल सेन्टर खोज्न सहज भएको निर्देशक फुयाँलले जानकारी दिए ।

‘ट्रायल सेन्टरका लागि ३० रोपनीभन्दा धेरै क्षेत्रफल चाहिन्छ । सोहीअनुरुपको पाउनै सकिएन,’ उनले भने, ‘सिम्पल ड्राइभिङ टेस्टमा खुला जग्गामा सवारी कुदाउने हो । जुन अहिले अव्यावहारिक भइसक्यो । त्यसैले हटाउने सुझाव दिएका हौँ ।’

विभागले परिमार्जित मापदण्डअनुसार नै वागमती अञ्चलका चारवटै यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरेको एकान्तकुना कार्यालयप्रमुख तेजनारायण यादव बताउँछन् ।

‘अबदेखि ट्रायल सेन्टर खोज्न सहज भएको छ,’ उनले भने, ‘केही समयभित्रै नयाँ ट्रायल सेन्टरबाट सेवा प्रवाह गर्नेछौँ ।’

फागुनको पहिलो साताभित्रै तीनवटै कार्यालयमा ट्रायल सेन्टर सञ्चालन ल्याउने निर्देशक फुयाँलले बताए। वागमती अञ्चलमा स्यम्भूको ठूलोभ¥याङ, चावहिलको सुकेधारा र भक्तपुरको जगातीमा नयाँ यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कार्यालय थपिए पनि ट्रायल सेन्टरको अभावमा सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुन सकेको छैन । सिम्पल ड्राइभिङ टेस्ट हटाए पनि अन्य नियम भने यथावत नै रहेको विभागले जनाएको छ ।

चारपांग्रे सवारीसाधनका लागि अंग्रेजी आठ अंक आकारमा लिइने पहिलो परीक्षण परिवर्तन गरेर टी आकारबाट लिन थालिएको हो । टी आकारको संकेत पास गरेपछि मात्रै आठ आकारमा, युटर्न, एच र आर सवारी टेस्ट गर्नुपर्ने व्यवस्था छ । विभागका अनुसार मोटरसाइकलका लागि सात सय ८४ वर्गमिटर क्षेत्रफल भएको ट्रायल सेन्टर चाहिन्छ ।

त्यस्तै, कार र जिपका लागि दुई हजार आठ सय ९० वर्गमिटर, हेभी गाडीका लागि सात हजार आठ सय ६० वर्गमिटर क्षेत्रफल आवश्यक पर्ने विभागले जनाएको छ । विभागले नयाँ मापदण्डअनुसार ट्रायल सेन्टर भाडाका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्रकाशित: १९ माघ २०७३ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App