४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अव्यवस्थित सडक विस्तारले सुक्यो पानीका मुहान

जुम्लामा सडक खन्दै गरेको । तस्बिर गोल्डेन बुढा/ जुम्ला

जुम्लाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ। कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए। खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो। तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ।  

स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो। अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ। सिंजा-६ का काले बुढाले पानीका मुहान सुक्दै गएको बताए। 'केही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे अहिले सब सुक्दै गएका छन्,' उनले भने।

वनजङ्गल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको सिंजा गाउँपालिका-५ का सोवखर बुढाको भनाइ छ। ग्रामीण क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका स्थानीय हरि बहादुर बुढा बताउँछन्। मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ।  

यता सिंजा ५ का  वडाध्यक्ष कृष्णबहादुर रोकाया अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताउँछन्। मुहान सुक्न थालेपछि पानी ल्याउन आधाघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको स्थानीय बसन्त रोकाया बताउँछन्।  

यस्तै जुम्लाको सदरमुकाम खलंगामा पनि खानेपानीको समस्या भइरहेको देखिन्छ। खलंगामा खानेपानीको मुहान नहुँदा झन्डै ९ किलोमिटर टाढाको पातारासी गाउँपालिकाको–६ बडेखोलीदेखि खानेपानी ल्याइएको छ। तर खडेरीका कारण मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती भएको हो। मुहान नहुँदा खानेपानीमा अर्कै स्थानीय तहको भर पर्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिले जनाएको छ। समितिका कार्यालय प्रमुख अर्जुन बरालले मुहान सुक्दा पानीको समस्या भएको बताए। पहिले २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ६ सय ५० धारा छन। बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ। भौगोलिक बनावट र जनसंख्या वृद्धिका कारण खलंगामा दिनप्रतिदिन खानेपानीको अभाव हुँदै गएको प्रमुख बरालले बताए। उनका अनुसार चैतदेखि असारको पहिलो सातासम्म खलंगामा पानी पुर्‍याउन समस्या भएको हुन्छ। पछिल्लो समय तातोपानी, चन्दननाथ र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी धौलिगाड बृहत् खानेपानी आयोजनाको काम सुरु भइरहेको छ। बढ्दो सहरीकरण र जनसंख्या वृद्धिका कारण पानीको माग बर्सेनि बढ्दै छ।परापूर्वकालदेखिका पानीका मुख्य स्रोत मुहान, धारा, कुवा, ढुंगेधारा आदि भने सुक्दै गएका छन्।

प्रकाशित: १३ वैशाख २०८० ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App