एक दिन प्रेमसागर कर्माचार्यको घरमा एक महिला रुँदै आइन्। उनी रुँदै आउनुको कारण थियो, उपचारमा रहेका उनको बिरामीका लागि रगत नपाउनु। रगत अभावले उनको बिरामीको मुटुको अपरेसन ४ पटकसम्म रोकिएको थियो। पाँचौं पटकको अपरेसनका लागि चाहिने रगत खोज्दै ती महिला कर्माचार्यलाई खोज्दै घरमा पुगेकी थिइन्।
ती महिलाको बिरामीलाई चाहिने ए नेगेटिभ रगत उपलब्ध गराउने कर्माचार्यले आश्वासन दिए। घर फर्किन सिँढीबाट झर्दै गर्दा ती महिलाले भनिन्, ‘आजभोलि कस्ताकस्ता मान्छे पनि हुन्छन्, हाम्रो बोझ नै हलुका गरे यिनले।’ त्यो कुरा कर्माचार्यको कानमा प¥यो। त्यसपछि उनी जसरी पनि रगत उपलब्ध गराउन लागे र गराए पनि। एक दिन अर्को बिरामी भेट्न कर्माचार्य सहिद गंगालाल अस्पताल पुगेका थिए।
ती महिलाले उनलाई खुट्टा ढोग्न नै आइन्। तर उनले इनकार गर्दै पछि हट्दा झन्डै लडेका थिए। अर्को व्यक्तिले आएर उनलाई समाए र उनी लड्नबाट जोगिए। यो कुरा प्रेमसागर कर्माचार्यको दिमाखमा अझै घुमिरहन्छ।
रक्तदान अभियानमा लागिरहँदा उनीसँग यस्ता थुप्रै अविस्मणीय क्षण छन्। एक दिन उनी भृकुटीमण्डपमा आफैं रक्तदान गर्न गएका थिए। उनी रक्तदान गरेर घर फर्किन लाग्दा टेक्निसियनले पखर्नु म तपाईको रगतले कति काम गर्छ हेर्छु भने। त्यो सुन्दा उनलाई के भनेको होला जस्तो लागेको थियो।
टेक्निसियनले प्राविधिक जाँच गरेपछि उक्त रगत बाहिर ल्याए र रक्तदान भइरहेको ठाउँको एउटा कुनातिर लगे। त्यहाँ पर्दाले छेकेर रक्तश्राव भइरहेका एक बिरामी राखेको कर्माचार्यले देखे। रक्तश्राव भइरहेका ती बिरामीलाई उक्त रगत चढाइयो। एकै छिनमा बिरामीको रक्तश्राव रोकियाे। त्यो क्षण पनि कर्माचार्यले सम्झिरहन्छन्।
२०२० सालमा परिवारको जेठो सन्तानको रुपमा कर्माचार्यको जन्म भएको थियो। उनका एक भाइ र एक बहिनी छन्। उनी आफ्नो बाल्यकाल सुखद् रुपमा नै बितेको बताउँछन्। बाल्यकालको त्यस्तो यादगार सम्झना कर्माचार्यलाई छैन्। ‘बाबुआमाको काखमा रमाइलोले बाल्यकाल बित्यो,’ कर्माचार्य भन्छन्। उनले एसएलसी सहिद शुक्र माध्यमिक विद्यालय बागबजारबाट दिए। उनले अर्थशास्त्रमा स्नातक रत्नराज्य लक्ष्मी क्याम्पसबाट गरेका हुन्।
ट्रमा सेन्टर र वीर अस्पतालको बीचमा भएको बाटोको छेउमा एउटा रक्त सञ्चार केन्द्र थियो। रक्त सञ्चार केन्द्रमा त्यहाँ वरिपरि बस्ने भरिया दाजुहरुले रगत बेचेको कर्माचार्यले देखेका थिए। उनको घर वरपर खेत थियो। छिमेकी खेतमा काम गर्दा चोट लागे उनको घरमा आउँथे। कर्माचार्यका बुबा प्राथमिक उपचार प्रशिक्षक थिए। चोट लागेर आएकाहरुको घाउमा उनका बुबा औषधी लगाएर ब्यान्डेज बाँधिदिन्थे र रक्तश्राव रोकिएपछि उनीहरु पुनः काममा फर्कन्थे। यो देखिरहेका उनको मनमा भने पलाएको जिज्ञासा थियो।
ट्रमा सेन्टरछेउमा भएको रक्तसञ्चार केन्द्रमा रगतकै लागि भएका बार्गेनिङ भइरहेको उनले देखेका थिए। त्यही क्रममा रक्तसञ्चार केन्द्रका इन्चार्ज वासुदेव शर्मा पौडेलले उनलाई रक्तदान गर्नका लागि भने। त्यो बेला उनी १६ वर्ष मात्र भएका थिए। ‘कानुनको हिसाबले हेर्ने हो भने १६ वर्षमा मिल्दैन रक्तदान गर्न। तर त्यो बेला कसैले रक्तदान गर्दैनथे। पौडेलले मलाई गर गर भन्नुभयो मैले पनि गरेँ,’ कर्माचार्य भन्छन्।
त्यसपछि उनले लगातार रक्तदान गरिरहेका छन्। यही वैशाख १८÷१९ तिर रक्तदान गर्दा उनले रक्तदान गरेको १७३औं पटक हुन्छ। रगत दिएर, खेर गएर पनि मान्छे काममा फर्किन सक्दो रहेछ भन्ने कुरा लागेपछि अभियानमा जोडिएको उनले बताए।
१६ वर्षको उमेरदेखि रक्तदान अभियानमा लागेको कर्माचार्य संगठित रुपमा भने २०६२ सालदेखि लागेका हुन्। २०६२ साल माघ १५ गतेदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गरेर संगठित रुपमा अभियानमा लागेको उनले बताए। अहिलेसम्म ३४ वटा जिल्लामा ७७ वटा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार भइसकेको छ।
व्यक्तिगत रुपमा रक्तदान अभियानमा लागेकाहरु अहिले सांगठनिक रुपमा लागेको कर्माचार्यले बताए। रगतको शुल्क निर्धारण गर्न हुन्न। रगत निःशुल्क हुनुपर्छ भन्ने अभियानमा पनि आफूहरु रहेको उनको भनाइ छ। निःशुल्क रगत अभियानमा कुनै प्रदेश सरकारहरुले सहयोग गरेको र अब संघीय सरकारसँग समन्वय गरिरहेको उनले बताए।
‘रक्तदान अभियान सुरु गरी ९/१० पटकसम्म रक्तदान गरेपछि मात्र कर्माचार्य यो अभियानमा लागेको उनका आमा बुबालाई थाहा भएको थियो,’ कर्माचार्य भन्छन्, ‘म यो अभियानमा लागेर ९/१० पटकसम्म रक्तदान गरेपछि मात्र मेरो घरमा थाहा भयो। त्यो पनि एक दिन मेरो मेरो बुबाले हाम्रै घरमा रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको थियो। त्यो बेला रक्तदान गर्दा ९/१० पटक गरिसके भन्दा मात्र उहाँहरुलाई थाहा भयो।’
त्यो बेला कर्माचार्यलाई उनकी आमाले किन यसरी दिइरहेको भनेकी थिइन्। तर घरमै रक्तदान कार्यक्रम आयोजना भएको र अन्यले पनि गरिरहेको देखाउँदा उनलाई आमालाई सम्झाउन गाह्रो भएन। अहिले त उल्टै आमाले नै रक्तदान गर्ने समय सम्झाउने कर्माचार्य बताउँछन्।
रक्तदान अभियानमा लाग्दाको सुरुवाती समयमा भने आफू एक्लै भएको कर्माचार्य सुनाउँछन्। उनका साथिभाइ उनीबाट टाडिएका थिए। कतिपय साथी अफिसमा उनलाई देख्नेबित्तिकै अब रक्तदान गर्न लगाउँछ भन्दै भाग्ने गर्दथे। त्यो समय रक्तदान गर्न सबै जना डराउने गरेको उनी सम्झन्छन्। ‘त्यति बेला रक्तदान गर्ने मान्छे हुँदैनथे। धेरै जना रक्तदान गर्न डराउँथे। अलि पछि परोपकारका स्वयंसेवक साथी आएर दिन थाल्नुभयो। हामी भने व्यक्तिगत रुपमा नै रक्तदान गर्ने गर्दथ्यौं,’ कर्माचार्यले भने।
तर उनलाई परिवारको भने राम्रो सहयोग थियो। उनको परिवारिक पृष्ठभूमि नै समाजसेवा भएकाले पनि आफूलाई त्यस्तो समस्या नपरेको कर्माचार्य बताउँछन्। समाजसेवामा आफू लाग्नुमा बुबाको ठुलो हात रहेको उनले बताए। सानैदेखि बुबाको हात समाउदै आफूले समाज चिनेका कारण पनि समाजसेवामा आफू आएको उनको भनाइ छ। अभियानको सुरुवातदेखि अहिलेसम्म उनले परिवार, समाज र आफन्तहरुको त्यस्ता नकारात्मक कुराहरु सुनेका नै छैनन्। बुबा नै समाजसेवी हुँदा आफूले त्यस्ता नराम्रा कुरा सुन्न नपरेको उनले बताए।
अहिले आफैं नमुनाको रुपमा अभिँदा अरुलाई रक्तदान अभियानमा जोड्न कर्माचार्यलाई सहज भएको छ। उनले रक्तदान गर्न डराउने आफ्नो साथीलाई पनि अहिले नियमित रक्तदान गर्नेसमेत बनाएका छन्। ‘मेरो समकालीनको एउटा साथी छ। उनलाई रक्तदानमा जहिल्यै बोलाउँछु म। रक्तदानमा पनि आउँछन्। तर रक्तदान गर्ने बेला सधैं भाग्ने। एकपटक मैले हाम्रो टिमसँग कुरा गरेँ। ए डराएको मात्र हो। उसको सबै ठिक छ। जसरी पनि रगत निकाल्नुपर्छ। ए रक्तदानमा आयो हामीले ब्लड ब्याग सबै दियौं। ब्लड ब्याग लिएको मान्छे ऊ छेउछेउ लागेर जान लाग्यो। मैले बोलाए। रगत निकाल्दा त डर हुन्छ। रगत निकाल्न मात्र के लाग्या थियौं। ए त पुरै छटपटिन लाग्यो, मैले च्याप समातेँ हल्लिन दिइनँ। अनि भने केही हुँदो रछ त डर मात्र हो। त्यसपछि उसले नियमित रक्तदान गर्न थाल्यो,’ उनले भने।
रक्तदान गर्न डर लाग्ने कतिपयलाई त्यसरी पनि रक्तदान गर्न प्रोत्साहन गर्नुपर्ने उनको बुझाइ छ। पहिला रक्तदान अरुका लागि गरको लाग्ने उनलाई अहिले भने आफ्नै स्वास्थ्यका लागि रक्तदान गरेको भन्ने लाग्छ। कमाचार्यले अहिलेसम्म औषधीको नाममा एउटा सिटामोल पनि खाएका छैनन्। गाह्रो नै हुने गरी बिरामी भएको भन्ने उनलाई याद नै छैन। कहिलेकाहीँ टाउको दुख्दा अलिअलि ज्वरो आउँदा जिरा पानी, बेसार पानी, अदुवा पानी खाएर ठिक पार्छन्। स्वस्थ रहनका लागि आत्मसन्तुष्ट महत्वपूर्ण रहेको उनको भनाइ छ। मानिसलाई लोभ लालचले नै सबै कुरा सिकाउने उनको ठम्माइ छ।
अभियानमा लाग्दा अहिलेसम्म उनले आफ्नै खर्च गरिरहेका छन्। बाहिरबाट अहिलेसम्म कसैको आर्थिक सहयोग लिएका छैनन्। उनका बुबा सरकारी जागिरबाट रिटाएर हुन्। घरको केही भाग भाडामा छ। उनकी श्रीमती लिटिल एन्जल विद्यालयमा संलग्न छिन्। भाइको आफ्नै व्यवसाय छ। छोरा बुहारी जागिरे छन्। अहिलेसम्म उनीहरुबाटै पैसा लिएर कर्माचार्य चलिरहेका छन्। रक्तदाताहरुको पनि उनले एक रुपैयाँ खर्च हुन दिएका छैनन्।
रक्तदातालाई बोलाउँछन्, चिया खुवाउँछन् र पु¥याउँछन्। रक्तदाताहरुको एक रुपैयाँ पनि खान नहुने उनको बुझाइ छ। उनले अहिलेसम्म कति खर्च गरे भन्ने कुरा राखेका नै छैनन्। त्यसरी खर्चको लेखाजोखा राख्ने हो भने समाजसेवा नै नहुने उनी बताउँछन्। निःस्वार्थ मनले सेवा गरेकाले अब पनि त्यसरी हिसाब नराख्ने कर्माचार्यले बताए।
अभियानमा यति समय दिन्छु भन्ने उनको छैन। उनको अभियानमा दिने समय मोबाइलको घण्टीले निर्धारण गर्छ। फोन आउनेबित्तिकै उनको काम सुरु हुन्छ। जस्तोसुकै कार्यक्रममा वा परिस्थितिमा हुँदा पनि उनले फोन उठाउन भने छोड्दैनन्।
कर्माचार्यलाई अहिले रक्तदाता खोज्नलाई समस्या छैन। उनीहरुको सञ्जाल छ। आवश्यकता पर्नेबित्तिकै सञ्जालमा भन्छन् र बोलाउँछन्। नेपालमा रक्तदान निःशुल्क रगत दिनुपर्छ भन्दा कतिपय संस्थाबाट बाहिरिन परेको उनको अनुभव छ। तर निःशुल्क रक्तदानमा उनी निरन्तर लागिरहे। नेपालमा निःशुल्क रक्तदान गर्ने र दिने बेलामा पैसा लिर्ने प्रवृत्ति राम्रो नभएको उनी बताउँछन्। अहिले गण्डकी प्रदेश, लुम्बीनी प्रदेशमा पूर्ण रुपमा निःशुल्क रगत र बागमती प्रदेशमा आंशिक रुपमा निःशुल्क रगत दिन थालिएको छ। अब संघीय सरकारबाट पनि निःशुल्क रगत दिने व्यवस्था गराउने प्रयासमा कर्माचार्य रहेका छन्।
कर्माचार्य भन्छन्, ‘निःशुल्क मात्र नभएर बिरामीको बेड बेडमा रगत पुर्याउने अभियानमा छौं र हामी पुर्याउँछौं पनि। बिरामीको आफन्तहरु घामपानी नभनी बाकस भोकेर रगत खोज्न हिँड्ने अवस्थाको अन्त्य गर्छौं। कसैले सहयोग नगरे पनि व्यक्तिगत रुपमा, कोष उठाएर भने पनि गर्छौं। यदि रगत किनेर नै दिने अवस्था आए पनि हामी किनेर दिन्छौं। तर सरकार अलि सकारात्मक बनेर आएको छ। त्यसैले हामीलाई सरकारले गर्छ कि भन्ने आशा पनि छ।’
अब भने रगत एकद्वार प्रणालीबाट लैजाने र रगत कहाँ गइरहेको छ भन्ने कुरामा के गर्न सकिन्छ भन्ने कुरामा आफूहरु गम्भीर भएको कर्माचार्यले बताए। अनुगमन नहुँदा अस्पतालमा पुगेका रगत प्रयोगको समय सकिँदा फालिइरहेको र रगत नालीमा फाल्नु व्यवस्थापनको लाचारपनको पराकाष्ट रहेको उनको बुझाइ छ। रक्तदान व्यवस्थापन सरकारको मुख्य भूमिका हुनुपर्ने ठाउँमा संघसंस्था र निजी संस्थालाई सुम्पिएको कर्माचार्यले बताए। उनी भन्छन्, ‘रक्तदान व्यवस्थापन सरकारको मुख्य जिम्मेवारी थियो। तत्कालीन समयमा रेडक्रसलाई जिम्मेवारी दियो र पछि अन्य निजी संस्थाले पनि काम गर्न सक्ने भन्ने कानुन ल्यायो। रेडक्रसबाहेक अन्य संस्था पनि आउनु राम्रो हो। तर निजी संस्था कसरी टिक्छन्। दातृ संस्थाबाट चलेको रेडक्रसले त व्यापार गरिरहेको छ भने अन्य निजी कसरी चल्ने ठिक छ काम गरुन् तर रेडक्रसभन्दा तल बसेर गरुन्। मानवताको नाममा भ्रष्टाचारीको सञ्जाल हेर्ने हो भने रेडक्रस जानु भन्छु म। त्यहाँ त्यति आपराधिक कार्य हुन्छ।’
सरकारले आफैले लिखित रुपमा ल्याएको काम कर्तव्य अधिकार नियमन गर्ने, अनुगमन गर्ने र कार्यान्वयन मात्र गर्ने हो भने आफैं व्यवस्थापन हुने उनले बताए। रक्तदानमा जबसम्म स्वयंसेवी रक्तदाताको भूमिका संगठनभित्र रहँदैन तबसम्म यस्ता समस्या भइरहने उनको दाबी छ।
कर्माचार्यकी आमा सानुमैया कर्माचार्य छोरो यो अभियानमा लागेको देख्दा खुसी लागेको बताउँछिन्। उनले भने, ‘अहिलेसम्म रक्तदान गरेकी छैनन्। रक्तदान गर्न त उनले पहिले नै खोजेकी थिइन् तर उनको स्वास्थ्य अवस्थाले भने रक्तदान गर्न सकिनन्।’ कहिलेकाहीँ छोरासँग बोल्न समय पनि नहुने गरेको उनी सुनाउँछिन्। छोरा प्रेमसागरको फोनमा घण्टी बजिरहन्छ। उनी फोनमा नै धेरै व्यस्त हुन्छन्। त्यसैले छोरासँग उनको त्यति धेरै कुरा हुन पाउँदैन।
प्रेमसागर कर्माचार्यकी श्रीमती माया दुलाल कर्माचार्य जो कोही समाजसेवा गर्छु भन्नेले यतिको काम गर्न नसक्ने बताउँछिन्। खाना खाँदा होस् वा शौचालय जाँदा, प्रेमसागर कर्माचार्य मोबाइल नै बोकेर हिँड्ने उनी बताउँछिन्।
हुन त उनी पनि अरुको दुःख देख्न सक्दिनन्। आफूले गर्दा अरुको समस्या समाधान हुन्छ भने गरिदिऊँ भन्ने लाग्छ। उनलाई श्रीमान्ले यो गर्दिए हुन्थ्यो, त्यो गर्दिए हुन्थ्यो भन्ने कहिल्यै पनि लागेन। पहिला पहिला कतै सँगै बाहिर निस्कँदा उनलाई यही काम सकाउँदै गर ब्लड लिने मान्छे आए म एकछिनमा आइहाल्छु भन्दै श्रीमान् प्रेमसागर कर्माचार्य जान्थे। तर उनले काम सकेर घर पुग्दा पनि श्रीमान् आएका हुदैनथे। त्यसपछि उनलाई लाग्यो मैले श्रीमान्लाई त्यति छोड्दिँदा कसैको जीवन बाँच्छ भने मेरो काम म आफैंले गर्नुपर्छ।
विगत २५ वर्षदेखि प्रेमसागर कर्माचार्यसँगै काम गरिरहेका महेश श्रेष्ठ कर्माचार्य कसैलाई पनि खाली हात नफर्काउने बताउँछन्। रगतका लागि कर्माचार्य भगवान् नै रहेको बताउँछन्। यदि कर्माचार्यले रक्तदानको अभियान नचलाएको भए रगत नै नपाई धेरैको ज्यान जाने उनको दाबी छ।
‘मलाई लाग्छ यदि उहाँले यो अभियान नचलाउनु भएको भए धेरै ज्यान जान्थ्यो होला। रातिको १÷२ बने भन्नुहुन्न। कसैको फोन आउनेबित्तिकै उहाँ गइहाल्नुहुन्छ। लकडाउनमा अरु डराएर बसे तर उहाँ स्वयंसेवकको कार्ड लगाएर हिँड्नुभयो। उहाँ फेरि निःशुल्क रगत दिनुपर्छ भन्ने अभियानमा लाग्नु भएको छ,’ उनले भने।
सबैलाई समान व्यवहार गर्ने कर्माचार्यको स्वभाव रहेको श्रेष्ठले बताए। समाजसेवा गर्छु भन्नेहरुमा प्रेमसागर जस्तो मान्छे नेपालभर नभएको उनी बताउँछन्। रक्तदानको सेवामा मात्र होइन, अन्य समस्या पर्दा पनि प्रेमसागर उत्तिकै सहयोग गर्ने श्रेष्ठले बताए।
प्रकाशित: १२ वैशाख २०८० ०८:२० मंगलबार