२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आरसिपी बजारका घरटहरा भत्काउन सुरु

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले भौतिक संरचना भत्काउन सूचना जारी गरे पनि स्थानीयले अटेर गर्दै आएका थिए। नगरपालिका केन्द्र रहेको आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर नगरपालिकाले भत्काउन थालेको हो ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)ले बजार विस्तार गर्ने भन्दै गाउँबाट व्यापारीलाई उठाएर सो क्षेत्रमा राखेको थियो। त्यो समय जनही पाँच सय शुल्क लिएर घडेरी वितरण गरिएको थियो।

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ।

स्थानीय सरकार गठनपछि समेत अझ बढी जग्गा अतिक्रमण भएको थियो। सोही घडेरीमा कच्ची तथा पक्की संरचना बनाएर बसेका व्यापारीलाई ठाउँ खाली गर्न भन्दै नगरपालिकाले असोज ४ गते ४५ दिने सूचना जारी गरेको थियो। त्यो अवधिमा पनि घरटहरा खाली नगरेपछि मंसिर १३ गते पुनः १५ दिने सूचना जारी गरेको थियो।

नगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनु परेको छ। नगरप्रमुख धर्मराज शाही (पोषण)ले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउने सूचनाको अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको बताए। सार्वजनिक जग्गामा बसेको नगरपालिकाको भवनमा समेत डोजर चलाइएको छ।

स्थानीय तहको अघिल्लो सरकारका पालामा समेत सार्वजनिक जमिनमा निर्माण गरिएका घरटहरा हटाउन सूचना जारी गरिएको थियो। सूचना जारीपछि घरटहरा हटाउनुको साटो एक सयभन्दा बढी थप टहरा सो अवधिमा निर्माण गरिएका थिए। स्थानीय तहले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउन व्यवसायीसँग समेत विभिन्न चरणमा छलफल गरेको बताइन्छ।

नगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको छ।

व्यवसायीले भने जग्गा छाड्नुको सट्टा स्थानीय सरकारको निर्णय अवज्ञा गर्दै संघर्ष समिति बनाएका थिए।

संघर्ष समितिका अध्यक्ष सुशील शाहीले द्वन्द्वकालमा जग्गा वितरण गर्ने तर अहिले हटाउने निर्णय नागरिकविरुद्ध भएको बताए। घरटहरा भत्काउने निर्णय फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी अध्यक्ष शाहीको छ।

प्रकाशित: १२ वैशाख २०८० ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App