६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आन्तरिक र बाह्य पर्यटकको केन्द्र भक्तपुर,९ महिना १ लाख बढीले गरे अवलोकन

भक्तपुर घुम्न आउने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ। नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुर आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ थिए। 

आर्थिक वर्ष २०७९।८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन्। यसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन्। भक्तपुर नगरपालिकाले सार्क (नेपालीबाहेक) तथा चिनियाँयाहरुलाई र गैरसार्क राष्टका पर्यटकहरुलाई दुई छुटाछुटै प्रवेश शुल्क उठाउँंदै आएको छ।

गत आवको तुलनामा ९ महिनाको अवधिमा ९३ हजार ६ सय ४५ जना (गैर सार्क ५६ हजार दुई सय ६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७ हजार तीन सय ८५ जना) पर्यटकको आगमन वृद्धि भएको छ। र यसबाट ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बरबरको पर्यटन शुल्क वृद्धि भएको हो।

यो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ। यसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ।

गत आर्थिक वर्ष २०७८।७९ को तथ्यांक हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए। यसमा गैरसार्क अन्तर्गत ११ हजार ४ सय ४० जना र सार्क राष्ट्र र चीनका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ। आ.व. २०७८।७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो।

नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाट भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ।

नपामा हाल दैनिक ५.६ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुर भित्रिरहेको तथ्यांक छ। उनीहरुले यहाँंका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्ने गर्दछन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ। विश्व सम्पदा सूचिमा सूचिकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन्। पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ।

भक्तपुर घुम्न आउनेमा प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकहरू रहेका छन्। भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ। पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका विभिन्न पेशा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको देखिन्छ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा दोस्रो कार्यकालमा १४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गरेको र दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी रहेको जनाएको छ। गएको पहिलो पदावधिमा १२४ वटा सम्पदाहरू जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो। त्यस्तै समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालिन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरुलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरुसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ।

दोस्रो कार्यकालमा पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हरी उत्सव, भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगिता लगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गरेको थियो। भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नगरपालिका प्रयासरत रहेको नगर प्रमुख सुनिल प्रजापति बताउँंछन्।  

प्रकाशित: ८ वैशाख २०८० ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App