१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डकर्मीलाई तालिम दिन सेना

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रहमा रक्षा मन्त्रालयले माघ अन्तिम सातादेखि नेपाली सेनाका तालिम प्राप्त प्राविधिक जनशक्तिलाई भूकम्पपछिको पुनर्निर्माणमा खटाउने भएको छ। रक्षामन्त्री बालकृष्ण खाँड, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल र नेपाली सेनाका पदाधिकारीबीच शुक्रबार भएको छलफलका आधारमा पहिलो चरणमा तीन जिल्लामा सेनाका प्राविधिक जनशक्ति खटाउने निर्णय भएको हो। प्राधिकरणले रक्षा मन्त्रालयमा जनशक्ति उपलब्ध गराउन पत्र पठाइसकेको छ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार पहिलो चरणमा ओखलढुंगा, रामेछाप र सिन्धुलीमा २ सय जना सेनाका प्राविधिक जनशक्ति खटाइनेछ। सेनाका ओभरसियर, सबओभरसियरलगायतका तालिम प्राप्त जनशक्ति ती जिल्लाका गाउँमा खटाइने जानकारी उनले दिए। उनीहरूले प्रभावित गाउँमा निर्माणसम्बन्धी तालिम प्रदान गर्नेछन्।

'भूकम्पपीडितले घर बनाउन पहलो किस्ताको पैसा र इन्जिनियर त पाएका छन् तर घर बनाउने दक्ष कामदार पाउन सकेका छैनन्,' पोखरेलले भने, 'गाउँमा दक्ष कामदार उत्पादन गर्न तालिम दिन सेनाको टोली पठाउन लागिएको हो।' एउटा गाविसमा दुईजना सेनाको जनशक्ति परिचालन हुनेछन्।

पोखरेलका अनुसार रक्षाले पठाउने प्राविधिक जनशक्तिलाई पहिला प्राधिकरणले सुरक्षित र भूकम्पप्रतिरोधी आवास निर्माणबारे एक साता तालिम दिनेछ। 'उहाँहरूलाई यही १८ गतेदेखि एक हप्ते तालिम दिइनेछ,' उनले भने, 'त्यसपछि डकर्मीलाई सुरक्षित घर निर्माणबारे तालिम दिन सेनाका जनशक्ति गाउँमा खटाइनेछ।'

पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न नसकेको पोखरेलले बताए। यस्तो समस्या  समाधान गर्न सेनाले गाउँमा पुगेर पुनर्निर्माणसम्बन्धी तालिम दिने तथा पुनर्निर्माणका लागि अन्य आवश्यक सहयोग गर्र्ने उनले जानकारी दिए।

उनका अनुसार ३१ जिल्लाका ८ लाखभन्दा बढी निजी आवास निर्माणका लागि दक्ष जनशक्तिको अभाव छ। प्राधिकरणले गाउँगाउँमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्न र अन्य आवश्यक सहयोगका लागि सेना र सशस्त्र प्रहरी परिचालन गर्ने योजना अगाडि बढाएको हो।

पोखरेलले रसुवामा सशस्त्र प्रहरीका तालिम प्राप्त जनशक्तिलाई खटाउने विषयमा छलफल भइरहेको जानकारी दिए।  'उहाँहरूको साथ लिएर अगाडि बढ्दा गाउँमा घर बनाउने दक्ष कामदारको संख्या बढ्दै जाने र पुनर्निर्माणको काम छिटो अघि बढ्नेछ।'

 प्राधिकरणले सेना र सशस्त्र प्रहरीसँग जनशक्तिसहित पूर्वाधार, उपकरणलगायतमा सहयोग उपलब्ध गराउने विषयमा पनि औपचारिक आग्रह गर्ने तयारी गरेको छ।

प्राधिकरणका अनुसार भूकम्प प्रभावित ३१ जिल्लामा करिब ८ लाख घर पुनर्निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि १ लाखभन्दा बढी निर्माणकर्मी आवश्यक रहेको प्राधिकरणले जनाएको छ। तर हालसम्म भूकम्प प्रभावित क्षेत्रमा करिब ४० हजार डकर्मी–सिकर्मी रहेको अनुमान छ। तीमध्ये हालसम्म २० हजारलाई तालिम उपलब्ध गराइएको छ।

प्राधिकरणले 'एक वडा एक नमुना घर' को अवधारणामा प्रत्येक वडामा ६ देखि १० जना निर्माणकर्मीका दरले आर्थिक ०७३/७४ भित्र करिब ६० हजार निर्माणकर्मी उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले यसअघि नै करिब २६ सय इन्जिनियरलाई तालिमसहित गाउँमा खटाएको छ।

यसैगरी प्राधिकरणले पुनर्निर्माण कार्य  तीव्र रूपमा अगाडि बढाउन इन्जिनियरिङका विद्यार्थीलाई स्वयंसेवकका रूपमा खटाउने भएको छ। आगामी माघ २१ देखि फागुन २० सम्म एकमहिने पुनर्निर्माण अभियानमा स्वयंसेवकका रूपमा सिभिल इन्जिनिरिङका विद्यार्थीलाई खटाइनेछ।

प्रकाशित: ९ माघ २०७३ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App