४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

तुलसी सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिन प्रहरीको अनुरोध

गाईघाटस्थित सञ्चालक बेपत्ता भएको तुलसी सहकारी भवन।

झण्डै अढाई महिनादेखि कारोबार बन्द गरेर सञ्चालक बेपत्ता भएको गाईघाटस्थित ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकविरुद्ध जाहेरी दिन उदयपुर प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

बिहीबार स्थानीय सञ्चारकर्मीहरुलाई सूचना पठाउँदै सहकारीबाट ठगिएका पीडितहरूलाई प्रहरीमा जाहेरी दिन आग्रह गरेको हो।

‘त्रियुगा नगरपालिका ११ स्थित तुलसी सहकारीका सञ्चालक÷अध्यक्ष केदारनाथ शर्मालगायत सञ्चालक र कर्मचारीले रकम हिनामिना गरी सहकारी ऐन् २०७४ अनुसारको कसुर गरेको सन्दर्भमा’ प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ‘प्रहरीमा मुद्दा दर्ता भई हाल अनुसन्धान भइरहेको हुँदा उक्त संस्थाद्वारा पीडित जाहेरी दिन बाँकी निक्षेपकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न सूचित गरिन्छ।’ सो सम्बन्धी समाचार बनाएर सर्वसाधारणमा जानकारी गराउन पत्रकारलाई पनि प्रहरीको अनुरोध छ।

माघ तेस्रो सातादेखि अनिश्चितकालीन कारोबार रोकेको सूचना टाँसेर फरार सञ्चालक शर्मालगायत र कर्मचारीहरु अहिलेसम्म फेला परेका छैनन्। शर्मा अध्यक्ष रहेको सहकारीले २ वर्षदेखि गाईघाटस्थित हिमाली टोलमा ४ तले भवनमा सहकारीसँगै गार्डेन मार्ट डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएकोमा फरार भएको केही दिनमै परिवारनै भारत भासिएको खबर त्यस बेलै सार्वजनिक भएको थियो। फागुन सुरुमै भैरहवा नाका भएर भारततर्फ भागेको खबर बाहिरिएपछि मोरङको विराटनगर ८ मा रहेको सोही नामको सहकारीका निक्षेपकर्ताहरुको उजुरीका आधारमा केही पदाधिकारी भने पक्राउ परिसकेका छन्।

बाँकेको उढरापुर गाउँपालिका २ स्थायी ठेगाना भएका शर्मासँगै सहकारीका कानुनी सल्लाहकार, काठमाडौँ बस्दै आएका श्रीमती र छोरा पनि त्यति बेलै भूमिगत भइसकेको कुरा बाहिरिएको थियो। विराटनगर हेडक्वाटर रहेको सहकारीबाट ३ महिनाअघि नै शर्मा भागेसँगै उदयपुरको सहकारी बन्द गर्ने सूचना टाँसेपछि मात्र बचतकर्ताहरु लगानी जोखिममा परेको चाल पाएका थिए।

यसबारे जिल्ला प्रशासन, प्रहरी र त्रियुगा नगरपालिकालाई जानकारी गराएर पीडित निक्षेपकर्ताहरुले आफ्नो रकम जोखिममा परेको भन्दै फिर्ता गरिदिन माग गर्दै आएका छन्। 

बचतकर्ताहरुले साता दिनसम्म सहकारी कार्यालय घेराउ गर्दै विभिन्न नाराबाजी गरेपछि नगरपालिका, प्रहरी, प्रशासन र सहकारी कर्मचारीको प्रतिनिधित्व रहेको छानबिन समिति गठन गरेर अनुसन्धान थालियो।

प्रारम्भिक अनुसन्धानले उदयपुरमा ४ हजार २ सय सर्वसाधारण बचतकर्ताको झण्डै ५० करोड बचत, निक्षेप र शेयर लगानी भएको खुलेको थियो। न्यूनतम ५० हजारदेखि ४ करोडसम्म एउटै व्यत्तिकाे बचत सहकारीमा रहेको पनि खुलेको छ। विराटनगरका बचतकर्ताहरुको दबाबले सञ्चालक समिति सचिव सबिता न्यौपानेलगायत केही पदाधिकारी पक्राउ परेर अनुसन्धान भइरहे पनि गाईघाटका बचतकर्ताको लगानी भने अझै जोखिममै रहेको त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोइराला बताउँछन्।

सुरुवाती चरणको छानबिन समितिसँग छलफल गराउँदा सचिव न्यौपाने जिल्ला प्रशासन कार्यालय उदयपुरमा उपस्थित थिइन्। सो बेला उनले अध्यक्षसँग सम्पर्क हुन छाडेको तर, कसैको रकम अपचलन नगरेको दाबी गर्दै आर्थिक मन्दी भएकाले केही समय कारोबार रोक्न मात्र खोजेको बताएकी थिइन्।

‘हामीले कसैको रकम अपचलन गरेका छैनौँ, आर्थिक मन्दी भएकाले केही समय कारोबार रोक्न मात्र खोजेका हौ’ न्यौपानेलाई उद्धृत गर्दै समितिले भनेको थियो ‘सबैको बचत, निक्षेप र शेयर सुरक्षित भएकाले फिर्ता दिन्छौँ।’ तर, छलफलपछि विराटनगर गएकी न्यौपाने पक्राउ परेर कारबाही भइरहे पनि उदयपुरका बचतकर्ताहरुको रकमको ग्यारेन्टी भने हुन नसकिरहेकै बेला प्रहरीले जाहेरी दिन आग्रह गरेको छ।

सहकारीले विभिन्न प्रलोभन दिएर निक्षेम राख्न सर्वसाधारणलाई आकर्षित गरेको पाइएको छ। बजारको ४ तले कार्यालय भवन, सोही भवनमा डिपार्टमेन्ट, त्यसमा मौज्दात विभिन्न उपभोग्य सामग्री तथा नगरपालिकाका विभिन्न ठाउँमा जग्गाजमिन खरिद गरेको देखाएको सहकारीले चल अचल सम्पत्तिको चलन चल्तीको मूल्यभन्दा कैयौँ गुणा बढी बचतकर्ताको शेयर, निक्षेप र बचत रहेको देखिएको वडाध्यक्ष कोइरालाको भनाई छ।

सुरुवाती छानबिनकै क्रममा  ४० करोड रकम न्यौपानेको खातामा ‘ट्रान्सफर’ भएको देखिएको र उनको खाताबाट अन्यत्र खर्च भएको पाइएको थियो। मोरङ प्रहरी नियन्त्रणमा परेपछि सबै कुरा खुल्दै जाने भनिए पनि अहिलेसम्म ठोस कुरा भने बाहिर नआएको छानबिन समिति सदस्यसमेत रहेका त्रियुगा नगरपालिका, उद्योग तथा सहकारी शाखा प्रमुख विष्णु खत्रीले बताए।

उनका अनुसार बजारमा हल्ला चलेजस्तो बजारको भवन, जग्गा जमिन र डिपार्टमेन्ट केही पनि तुलसी बहुउद्देश्यीय सहकारीको नाममा दर्ता छैन। भवन, डिपार्टमेन्ट स्टोर, त्रियुगा ४ बगाहा र त्रियुगा १५ खाँबुमा किनेको जमिन सहकारीकोनाममा नभई अन्यकै नाममा दर्ता रहेको पाइएको छ भने बगाहा र खाँबुको पाखो बारी तुलसी रिसर्च सेन्टर, शिखर अर्गनाईजेसन र नटराज एग्रो प्रालिको नाममा दर्ता पाइएको मालपोत कार्यालयको अभिलेखले देखाएको छ। हल्ला गरेजस्तो नभएर जे जति जमिन र सम्पत्ति देखिएको छ ती सबको प्रचलित मूल्यभन्दा दसौँ गुणा बढी मूल्याङ्कन गरेर विभिन्न बैंकबाट ऋण लिएको जानकारीसमेत समितिले पत्ता लगाएको खत्रीले बताए।

उदयपुरमा २ हजार ४ सय जनाको बचत रकम हिनामिना गरेको तथ्य बाहिरिएपछि त्रियुगा नगरपालिकाले सहकारीको नाममा रहेको जग्गा जमित र चलअचल सम्पत्ति रोक्का गरेको छ। नगरपालिकाको आग्रह अनुसार मालपोत कार्यालयलले माघ २५ गते नै सञ्चालक शर्मा र उनीसँग सम्बन्धित सहकारी लगायत कम्पनीहरुको नाममा दर्ता रहेका जमिन रोक्का भएको छ।

प्रकाशित: ७ वैशाख २०८० १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App