२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘ब्रान्ड बिगार्ने’ ५० हजार किलो तयारी चिया नष्ट

इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा रहेको समालभ्याली चिया कारखानामा फेला पारी नष्ट गरिएको तयारी चिया।

गुणस्तरहीन चियाले नेपाली ब्रान्डकै बदनाम गर्ने भन्दै सूर्योदय नगरपालिकाले एक कारखानामा भण्डारण गरिएको ‘गुणस्तरहीन’ तयारी चिया नष्ट गरिदिएको छ। अन्तुस्थित समालभ्यालीमा विक्रीका लागि तयार करिब ५० हजार किलो चिया नगरको अनुगमन टोलीले नष्ट गरेको हो। 

कारखानाले चियाको मुना नभई सिन्का (डाँठ)को तयारी चिया उत्पादन र खरिदसमेत गरी बेच्न लागेकाले नगरले त्यस्तो चिया केही दिनअघि ‘नियन्त्रण’मा लिएको थियो। त्यही चिया बुधवार खाडलमा पुरेर नष्ट गरिएको नगरले गठन गरेको चियासम्बन्धी समस्या समाधान समिति संयोजक तथा वडा १० का अध्यक्ष पेमाउग्येन लामाले जानकारी दिए। ‘गुणस्तरीय चिया उत्पादन गरी नेपाली ब्रान्डको प्रचार गर्न नगरपालिका लामो समयदेखि प्रयासरत छ,’ उनले भने, ‘तर, यो उद्योगले गुणस्तरहीन चिया बेच्न लागेको पाएपछि नष्ट गरिएको हो।’ 

समालभ्यालीले आफूले उत्पादन गरेको मात्र नभई अन्य उद्योगबाट समेत यस्तो चिया खरिद गरेको पाइएको उनले जनाए। ‘धुलो र डाँठ मात्र भएको चिया यसअघि पनि बेचिँदै आएको रहेछ,’ उनले भने, ‘अब चियाको परिमाणभन्दा गुणस्तरमा ध्यान दिन चेतावनी समेत दिइएको छ।’ उनका अनुसार भण्डारण गरेर राखिएको बोराको मात्र होइन, विक्रीका लागि उपभोक्तासम्म पु¥याउन प्याकेजिङ गरिएको चियासमेत गुणस्तरहीन पाइएको छ। 

कारखानाले यसअघि आफूले र अन्य उद्योगले पनि यस्तो चिया भारतमा बेचिरहेको जनाएको छ। कारखाना प्रबन्धक अजय जैसवालले यस्तो चिया आफूले मात्र नभई अरू उद्योगले समेत उत्पादन र विक्री गरिरहेको बताए। ‘यो चिया भारतमा बिक्ने नै चिया भएकाले हामीले अरू उद्योगबाट समेत खरिद गरेर ल्याएका हौँ,’ उनले भने, ‘नगरको अनुगमन समितिको सुझावअनुसार अब यस्तो चिया उत्पादन र विक्री गर्नेछैनौँ।’ उनले कारखानाको करिब १५ लाख रुपैयाँको चिया नष्ट गरिएको दाबी गरे। तर, नष्ट गरिएको चियाको परिमाण चाहिँ ५० हजार किलो नभई ‘अलि कम’ भएको जनाएको छ।

उत्पादकदेखि उपभोक्तासम्म जेलिएको चिया क्षेत्रको समस्या समाधान गर्ने प्रयासमा नगरले गएको माघमा समिति गठन गरेको हो। सरोकारवालाको छलफल र सुझाव संकलन गरी चिया क्षेत्रका समस्या समाधान गर्न प्रयास गरेको मेयर रणबहादुर राईले बताए। चिया क्षेत्रमा न्यूनतम समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चियाको तेस्रो मुलुक निर्यात र विदेशी मुद्रा आर्जनलगायत क्षेत्रमा नगरले कार्य योजना बनाउने उनको भनाइ छ। 

२०७५ सालमा सूर्योदयले हरियो चिया पत्तीको न्यूनतम समर्थन मूल्यसमेत तोकिएको चियासम्बन्धी कार्यविधि निर्माण र लागू गरेको थियो। तर, कार्यविधि पूर्ण रूपमा पालना हुन नसकेको गुनासो आइरहेका बेला ठूलो परिमाणको गुणस्तरहीन तयारी चिया कारखानामै फेला परेको हो।

चियाको समस्या लामो समयदेखिको भएको र स्थानीय सरकारको मात्रै प्रयासले समाधान नहुने मेयर राई बताउँछन्। उनले चिया उत्पादक, ढुवानीकर्ता, प्रशोधन कारखानालगायत सबैले प्रयास गर्दा मात्रै गुणस्तरीय चिया उत्पादन गर्न सकिने बताए। ‘चियालाई व्यापारको वस्तु मात्र नभई सूर्याेदयको ब्रान्ड बनाउन नगरले समन्वय गरिरहेको छ,’ मेयर राईले भने, ‘चियाले सूर्योदय र  इलामको मात्र नभई विश्वमा नेपाललाई नै चिनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्ने भएकाले नगरले यसमा विशेष चासो दिइरहेको छ।’

प्रकाशित: ६ वैशाख २०८० १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App