१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बारा–२ उपनिर्वाचन: ६५ मतदान स्थल संवेदनशील

फाइल तस्बिर।

वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनको लागि निर्धारण गरिएको मतदानस्थल मध्ये ६५ वटा मतदान स्थालहरु संवेदनशील रहेका छन्। भारतसँग सीमा जोडिएका क्षेत्रका दक्षिणी भागमा रहेका मतदान स्थलहरु संवेदनशील रहेको बताइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा –२ मा निर्धारण गरिएको ८२ वटा मतदानस्थलहरु मध्ये ६५ वटा मतदान स्थलहरु संवेदनशील रहेको बताएका हुन्। संवेदनशील मतदानस्थलहरुमा शान्तिपूर्ण मतदान गराउनको लागि विशेष सुरक्षाको व्यवस्था समेत मिलाइएको प्रजिअ सापकोटाले बताए।

बारा–२ मा शान्तिपूर्ण मतदान सम्पन्न गराउनको लागि ८२ वटा मतदान स्थललाई एक सय ३८ वटा मतदान केन्द्र समेत बनाइएको उनले बताए। एक सय ३८ वटा मतदान केन्द्रबाट गरिने मतदानका लागि लगभग आठ सयको हाराहारीमा मतदान अधिकृत सहितको कर्मचारी खटाउने व्यवस्था मिलाइएको प्रजिअले सुनाए।

उपनिर्वाचनको लागि बारा –२ को निर्वाचन क्षेत्रमा १७ सयकाे हाराहारीमा नेपाली प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

३ सय प्रहरीहरुलाई पेट्रोलिङको लागि तयारी अवस्थामा राख्ने व्यवस्था समेत मिलाइएको प्रहरी उपरीक्षक बोगटीले सुनाए। ६ वटा स्थानीय तहहरुको ४४ वटा वडाहरुमा पबारा –२ को निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाताको संख्या रहेको छ।

वैशाख १० गते हुने उपनिर्वाचनको चुनाव प्रचारको अन्तिम दिन वैशाख ७ गते चुनावी सभालाई सम्बोधन गर्न सरकार प्रमुख देखि पार्टी प्रमुखहरु बारा आउने भएका छन्।

पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको लागि बरियारपुरमा आयोजना गर्न लागिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगाएका नेताहरु आउने कार्यक्रम तय गरिएको छ।

यस्तै एमालेका अध्यक्ष केपी ओली एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको लागि पचरौतामा आयोजना गर्न लागिएको चुनावी सभालाई सम्बोधन गर्न बारा आउन लागेका छन्। 

त्यसै गरी राप्रपा उम्मेदवारको लागि गंजभवानीपुरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बारा आउने कार्यक्रम तय गरिएको छ।

बाराका प्रहरी उपरीक्षक बोगटीले वैशाख ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको बरियारपुरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

प्रकाशित: ६ वैशाख २०८० १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App