२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रिय पुस्तकालय अलपत्र

वसन्त खड्का

काठमाडौं- अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि ललितपुर हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय सञ्चालनमा आउन सकेको छैन। ०१३ सालमा स्थापित पुस्तकालयमा दुर्लभ र महत्वपूर्ण ३० हजारसहित एक लाख ५० हजार पुस्तक छन्। भवन भत्किएपछि पुस्तकालयका पुस्तक सानो गौचरनस्थित महेन्द्र भवनमा थन्क्याइएको छ। आफ्नै जग्गा तथा भवन नहुँदा पुस्तकालय सञ्चालनमा आउन नसकेको हो।

पुस्तकालय भवन निर्माणका लागि गत मंसिर २९ गते सरकारी जग्गा खोजी गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी शिक्षा मन्त्रालयअन्तर्गत योजना महाशाखाका सहसचिव वैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा गठन भएको कार्यदलले राष्ट्रिय पुस्तकालयलाई केशरमहलमा रहेको केशर पुस्तकालयसँगै राख्ने गरी प्रतिवेदन बुझाएको थियो।

पुस्तकालयले भने प्रतिवेदनमा असहमति जनाउँदै छुट्टै जग्गा तथा भवनको माग गर्दै आएको छ।  पुस्तकालयले गत पुस २१ गते शिक्षा मन्त्रालयलाई पत्र लेख्दै केशरमहल क्षेत्रमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्न नमिल्ने भन्दै जग्गाका लागि विकल्प पेस गरेको छ। हालसम्म पनि जग्गाको टुंगो नलागेको पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले जानकारी दिए। नेपाल राष्ट्रिय पुस्तकालय आफैँमा एउटा सार्वभौम संस्था भएकाले यसलाई उस्तै प्रकृतिको अर्काे संस्थासँगै राख्न नहुने मैनाली बताउँछन्। उनी भन्छन्, 'यो आफैँमा सार्वभौम संस्था हो, यसका लागि आफ्नै जग्गा र भवन आवश्यक छ।'

विश्वका अधिकांश मुलुकमा राष्ट्रिय पुस्तकालय हुने र यसले उक्त देशको बौद्धिक स्तरलाई प्रतिनिधित्व गर्ने मैनाली बताउँछन्।

'विदेशी राष्ट्रप्रमुख तथा पाहुनालाई राज्यका तर्फबाट भ्रमण गराउने एउटा संस्था राष्ट्रिय पुस्तकालय पनि भएकाले यसलाई स्वतन्त्र संस्थाकै रुपमा राख्नुपर्छ,' उनले भने।

अलपत्र रहेको पुस्तकालय सञ्चालनका लागि पुस्तकालय प्रशासनले भवन निर्माण गर्न उपत्यकाका विभिन्न तीन ठाउँको जग्गा छनोट गरी त्यसको विवरण मन्त्रालयमा पठाएको छ। बाल पुस्तकालय रहेको हरिहर भवनस्थित ६ रोपनी दुई आना जग्गालाई पुस्तकालयले पहिलो प्राथमिकतामा छनोट गरेको छ। त्यस्तै, दोस्रो छनोटमा जमलस्थित पहिलेको परीक्षा नियन्त्रण कार्यालयको जग्गा रहेको छ। सात रोपनी १५ आना तीन पैसा तीन दाम क्षेत्रफल रहेको उक्त जग्गामा राष्ट्रिय पुस्तकालय सञ्चालन हुन सकेमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी लाभान्वित हुने मैनाली बताउँछन्।

त्रिवि मातहतका अधिकांश सरकारी क्याम्पस त्यस क्षेत्रमा रहेकाले उच्च शिक्षा अध्यनरत विद्यार्थीका लागि जमल उपयुक्त हुने उनको भनाइ छ। त्यस्तै, पुस्तकालयको तेस्रो छनोटमा सानोठिमीस्थित शिक्षा विभागको पूर्वदक्षिणतर्फ करिब १० रोपनी जग्गा रहेको छ। शान्त वातावरणमा रहेको उक्त स्थानमा पुस्तकालय सञ्चालन हुन सके पनि त्यसबाट बौद्धिक जगत्लाई शान्त वातावरणमा बसेर अध्ययन गर्न सहज हुने मैनालीको भनाइ छ।

यता, शिक्षा मन्त्रालयले भने पुस्तकालयको भवन निर्माणका लागि जग्गा छनोट प्रक्रिया अघि बढेको र केही दिनमै टुंगो लाग्ने जनाएको छ। शिक्षा मन्त्रालय अन्तर्गत पुस्तकालय व्यवस्थापन शाखामा कार्यरत यादव निरौलाले जग्गाको विषयमा मन्त्रालयले काम गरिरहेको र जग्गाको छिटै टुंगो लाग्ने जानकारी दिए। उनले भने, 'हामीले काम गरिरहेका छाँै, अब केही दिनमै जग्गाको टुंगो लाग्नेछ।'

प्रकाशित: ६ माघ २०७३ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App