४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

निजी विद्यालयलाई नगरपालिकाको निर्देशन: आफूखुसी शुल्क नउठाउनू

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरूलाई विद्यार्थी भर्नाका नाममा चर्को शुल्क नउठाउन निर्देशन दिएको छ।

विद्यार्थीहरुकालागि आवश्यक शैक्षिक सामाग्रीहरू अभिभावक वा विद्यार्थीले चाहेको स्थान वा पुस्तक पसलबाट किन्न सक्ने मौलिक अधिकारको समेत विशेष ख्याल राख्न नगरपालिकाले आग्रह गरेको छ।

पछिल्लो समय संस्थागत विद्यालयहरूले चर्को शुल्क असुल्नुका साथै शैक्षिक सामाग्रीहरू समेत स्कुलले तोकेको पसलबाट किन्न बाध्य पारिएको भन्ने जनगुनासो आएपछि नगरपालिकाले यस्तो निर्देशन जारी गरेको छ।

संस्थागत विद्यालयहरूले मनोमानी ढंगले चर्को शुल्क असुल्ने र पसल तोकेर शैक्षिक सामग्री खरिद गर्न बाध्य गराएको गुनासो/उजुरी प्राप्त भएपछि पत्र जारी गरेर निर्देशन दिइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संशोधन सहित र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को प्रावधान विपरीत काम नगर्न नगराउन नगरप्रमुख खानले आग्रह गरेका छन्।

आफू खुसी शैक्षिक शुल्क बढाउने रकमिसनको लोभमा पसल नै तोकेर पाठ्यपुस्तक, विद्यालय पोसाक, झोला लगायतका शैक्षिक सामग्री खरिद गर्न बाध्य बनाउने गरिएका गुनासो अभिभावकहरूले गर्दै आएका छन्।

‘विद्यार्थीहरूलाई शैक्षिक सामग्री किन्न यो पसलमा जाऊ भनेर विद्यालयले तोक्न मिल्दैन। स्कुलले भनेकै ठाउँबाट किताब कापी किन्न बाध्य बनाइनु ठिक होइन’ शिक्षा समितिका संयोजक समेत रहेका खानले भने, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको विवरण उपलब्ध गराउने काम मात्रै विद्यालयको भएको भन्दै उनले कहाँ खरिद गर्ने भन्ने विषय विद्यार्थी अभिभावकको स्वतन्त्रताको विषय भएको बताए।

नगरपालिकको निर्देशनलाई लत्त्याएर फेरी मनोमानी शुल्क वृद्धि तथा शैक्षिक सामाग्री तोकिएकै पसलमा किन्न बाध्य बनाइए कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाइने बताइएको छ। 

‘यदि कहीँ कतैबाट सो सम्बन्धमा गुनासो आएमा वा अनुगमनको क्रममा निर्देशनको उल्लङ्घन भए/गरेको पाइए ऐन, नियमावली तथा कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाइनेछ’ नगरपालिकाले जारी गरेको पत्रमा भनिएको छ।

प्रकाशित: ५ वैशाख २०८० १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App