१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपाली बालबालिकाबारे प्रतिवेदन राष्ट्रसंघमा बुझाइने

नेपालका बालबालिकाको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामबारे प्रतिवेदन संयुक्त राष्ट्रसंंघलाई बुझाइने भएको छ। बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) प्रगतिनगर शंखमूल काठमाडौंले बालबालिकाबाटै प्रतिवेदन तयार पारी बुझाउन लागेको हो।

यसका लागि देशभरका बालबालिका राजधानीमा भेला भई प्रतिवेदन तयार गर्दै छन्। प्रत्येक प्रदेशबाट न्यूनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिका मिलेर प्रतिवेदन तयारी कार्य भइरहेको छ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगालले आइतबार प्रतिवेदन तयार भइसक्ने जनाए। ‘यसपछि बालबालिकाबाटै तयार भएको प्रतिवेदन हामीले राष्ट्रसंघलाई बुझाउने हो’, उनले भने।

कन्सोर्टियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिका आआफ्नो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए।

 ‘सातवटै प्रदेशका बालबालिकाले लिएर आएको प्रतिवेदन मिलाएर नयाँ प्रतिवेदन तयार हुन्छ’, उनले भने। संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाले समुदाय स्तरमा पुगेर नेपाली बालबालिकाको अवस्था र समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए। प्रदेश स्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाकै प्रतिनिधित्व गरी एउटा प्रदेशबाट घटीमा दुईजना बालबालिका प्रतिवेदन लिएर काठमाडौं आएका हुन्।

राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि १९८९ माथि बालबालिकाको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्बन्धी बालबालिकासँगको राष्ट्रिय कार्यशाला गोष्ठी नाम दिइएको प्रतिवेदन लेखन कार्यक्रमको उद्घाटन शनिबार संघीय संसद्का सभामुख देवराज घिमिरेले गरेका थिए। शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने छ।  

प्रकाशित: ३ वैशाख २०८० ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App