काठमाडौं– हेल्प नेपाल नेटवर्कले गतवर्ष गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ठोकर्पा उच्च माध्यमिक विद्यालय र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वरिष्ठ हास्य कलाकार तथा समाजसेवी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विद्यालय निर्माणार्थ प्रदान गरिएको रकम हस्तान्तरण गरे।
दुवै विद्यालय निर्माणका लागि हेल्प नेपालले पहिलो किस्ता वापत ४०\४० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मह जोडीले हेल्प नेपाल नेटवर्कको सहयोग कार्यक्रममा सहभागी हुन पाउँदा आफूहरु खुशी लागेको बताए।
कार्यक्रममा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष संचारकर्मी रविन्द्र मिश्रले हेल्प नेपालको स्थापनाका उद्देश्यबारे चर्चा गर्दै अब देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको उल्लेख गरे। कार्यक्रममा उपस्थित युवाहरुलाई इङगित गर्दै मिश्रले युवाहरुले मदनकृष्ण हरिवंश आचार्यबाट सेवाकर्म सिक्नु पर्ने बताए।
हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले भूकम्पबाट पूर्णतः क्षतिग्रस्त दुवै विद्यालयहरु नेपाली वास्तुकलामा आधारित रही निर्माण गरिने बताए। उनले भूकम्प जाँदा राहतका लागि उठेको रकमबाट बाँकी रहेको रकम यी दुवै विद्यालय भवन निर्माणका लागि खर्च गरिने बताए।
कार्यक्रममा हेल्प नेपालकी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले हेल्प नेपालको स्थापना तथा सो संस्थाले गरेको क्रियाकलापहरुका बारेमा जानकारी गराएकी थिइन ।
हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोकको विद्यालयका लागि सर्भाइभर्स नेपाल र दोलखाको विद्यालयका लागि राजहिटी समाजलाई रकम हस्तान्तरण गरेको थियो । यी दुवै संस्थाका प्रतिनिधि उत्तम पुडासैनी र विक्रम मल्लले हेल्प नेपाल एक प्रेरणादायी संस्था भएको बताउँदै विद्यालय निर्माणका लागि प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित: २८ पुस २०७३ ०७:१६ बिहीबार