लाप्राक (गोरखा)- 'पुस लागेदेखि दुईपटक हिउँ पर्यो, जमेको हिउँ पग्लिएको छैन। भूकम्पयता दुई सिजन हिउँमै बितायौँ, कहिलेसम्म हिउँ थेगेर टहरामा बस्नुपर्ने हो, थाहा छैन,’ लाप्राकका माइला गुरुङले भने। लाप्राक– १ का सुरेश गुरुङको पनि पीडा उही छ। भूकम्पले घर भत्काएपछि २७ सय मिटर उचाइको गुप्सीपाखामा टहरा बनाएर १६ महिना गुजारे। गुप्सीपाखामा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन)ले नमुना बस्ती बनाउने भएपछि उनले फेरि गुप्सीपाखाको टहरो भत्काउनुपर्यो। पहिले बनाएको गुप्सीको टहरा भत्काएका उनी अहिले अर्को ठाउँमा टहरा ठड्याएर दिन गुजारिरहेछन्।
उत्तरी गोरखाको दुर्गम गाउँ लाप्राकको गुप्सीमा हिउँमा रमाउन गएका त एक घन्टा टिक्न सक्दैनन् भने सधैँभरि त्यहाँ बस्न त्यति सहज छैन। दुई हजार सात सय मिटर उचाइको गुप्सीमा बर्सेनि यो सिजनको दुई महिना हिमपात हुन्छ। अघिल्लो वर्ष पनि टहरामा जीविका थेगेका पीडितले कम्ती सास्ती खेप्नुपरेन। भूकम्पअघि गुप्सीमा बस्ती थिएन। पुरानो गाउँका सबै घर भत्किएपछि सुरक्षित ठाउँ खोज्दै करिब ६ सय धुरीको गाउँ नै गुप्सी सरेको थियो। भूकम्पको पीडा सँगै हिउँको मार खेपेका लाप्राकी यतिबेला कठ्यांग्रिएर दिनरात बिताइरहेछन्।
‘हिउँसँग रमाएर खेलेका हैनौँ, हामीलाई भूकम्पको पीडासँगै हिउँको ठन्डीले पनि छाडेन,’ स्थानीय मार्सिङ गुरुङले भने। झुरुप्प बस्ती, एकैखाले रहनसहन, जनजाति बाहुल्य रहेको लाप्राक भूकम्पपछि छिन्नभिन्न छ। गुप्सीका डाँडामा केही घर छन्। केही घर पुरानै बस्ती फर्केका छन्। गुप्सीमा हिउँ थेग्न नसक्दा कतिपय भने टहरो भत्काउँदै नयाँ ठाउँ खोज्दै हिँडेका छन्। पुरानो भत्किएको घर पन्छाएर नयाँ घर बनाउन सकेका छैनन्। नयाँ घर बनाउने जग्गा नहुँदा लाप्राकी थप अन्योलमा छन्।
अन्यत्रका पीडितले जस्तो यहाँका स्थानीयले घर बनाउने अनुदानको पैसा पाउँदैनन्। एनआरएनले सबै घर बनाएर नमुना बस्तीसहित हस्तान्तरण गर्ने सरकारसँगको सम्झौतापछि लाप्राकीले सरकारी अनुदान पाएनन्। नमुना घर एनआरएनले बनाइदिने भए पनि अहिलेसम्म ढुक्क हुन नसकेको उनीहरुको गुनासो छ। ‘दुई वर्ष भो घर बनाइदिन्छ एनआरएनले भनेर कुरेको, कहिलेसम्म यसरी हिउँमा दिन बिताउनू?’ स्थानीय अगुवा मार्सिङ गुरुङले भने।
अहिले लाप्राकीले गुप्सीमा बनाएको टहरा भत्काएर एनआरएनले घर बनाउने क्षेत्रभन्दा दायाँबायाँ कटेरामा गुजारा गरिरहेछन्।
दुईपटक टहरा बनाउनुपर्दा र एनआरएनले काम ढिलो गर्दा लाप्राकीले सास्ती खेप्नुपरेको गुरुङले सुनाए। ‘अन्य गाविसको जस्तै गरी तीन लाख दिएको भए बरु आफैँ बनाउन हुन्थ्यो, राम्रो बन्ला भनेर आस गर्दागर्दै कहिले हो कहिले?’ उनले भने।
बालबच्चा र वृद्धवृद्धालाई चिसोबाट जोगाउनै हम्मे भएकोस्थानीय राज गुरुङ बताउँछन्। ‘घाँस दाउरा गर्न जाउँ हिउँ छ, भुइँ पुरेको छ, गाईवस्तु हुनेलाई अझै समस्या छ, चरनभरि हिउँ छ।’
अत्यधिक चिसोका कारण अहिले लाप्राकका विद्यालय पनि बन्द छन्।
एनआरएनले के गर्दै छ लाप्राकमा?
अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखा लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा लियो। सरकार र पुनर्निर्माण प्राधिकरणसँग जिम्मा लिएको दुई महिनासम्म कामको गति निकै सुस्त देखिन्छ। एनआरएनलाई सरकारले लाप्राक गाउँका लागि १८.३ हेक्टर जमिनभित्र बस्ती बसाल्न जिम्मा दिएको छ। त्यसभित्र एनआरएनले पाँच सय ७३ वटा व्यक्तिका घर, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनसहित सुविधा सम्पन्न संरचना निर्माण गरी १० महिनाभित्र हस्तान्तरण गर्ने सम्झौता छ।
तीन आना तीन पैसा जमिन भित्र रहने गरी चारकोठे दुईतले व्यक्तिका घर बनाउनुपर्छ। प्रतिघर करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान एनआरएनको छ। घरमा चर्पी, बाथरुम, सोलार र बिजुली दुवैको पहुँच भएको सुविधा सम्पन्न हुने स्टमेट गरिएको छ। आउँदो अक्टोबर ११ (एनआरएन डे) का दिन लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने योजना रहेको नमुना बस्ती निर्माणमा खटिएका एनआरएन राजेन्द्र भट्ट बताउँछन्। अहिलेसम्म ६० वटा घडेरी मात्रै खारिएको छ। संरचना निर्माण सुरु भएको छैन।
भट्टका अनुसार फेब्रुअरी १ देखि जग हाल्न सुरु हुनेछ। एनआरएनले बितेको दुई महिना गुप्सीमा टहरा हटाउन, माटो जाँच गर्न समय लागेको जनाएको छ। धेरै घर बनाउनुपर्ने भएकाले लाप्राकमै इँटा बनाउने मेसिन लगिएको छ। प्रतिदिन नौ हजार इँटा बनाउने मेसिन लगिए पनि माटो उपयुक्त छ/छैन भन्ने यकिन अझै भएको छैन। ‘अहिले हामी मेसिनरी औजार संकलन, माटो जाँच र घडेरी खार्नमा व्यस्त छौँ,’ गुप्सीमा भेटिएका एनआरएन राजेन्द्र भट्टले भने। अहिले बस्ती निर्माणका लागि आवश्यक विद्युतीय उपकरण जुटाउने काम भइरहेको छ। गुप्सीसम्म जाने मोटरबाटो निर्माण पनि भइरहेको छ। लाप्राकदेखि गुप्सीपाखा जोड्ने सडक सजिलो र फराकिलो बनाइएको छ। निर्माण सामग्री ढुवानीका लागि सडक निर्माणलाई प्राथमिकता दिइएको छ। गुप्सीको नमुना बस्ती निर्माणमा स्थानीयले पनि श्रमदान गर्ने गरेका छन्। धुरीपिच्छे मान्छे खटिएर गुप्सीको नमुना बस्ती बनाउन स्थानीय लागेका छन्।
कहिले निर्माण थालेर कहिले सक्ने भन्ने प्रस्ट जानकारी नहुँदा स्थानीय निराश हुँदै गएका छन्। गुप्सीमा हिउँ परेका कारण पनि काम प्रभावित भएको हो। एनआरएनको काम द्रूत गतिमा नहुँदा आउँदो जाडो पनि टहरामै गुजार्नुपर्ने चिन्तामा स्थानीय छन्। सरकारले छिटो घर बनाउन एनआरएनलाई घचघच्याउन स्थानीयको अनुनय छ।
प्रकाशित: २८ पुस २०७३ ०२:५३ बिहीबार