१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

द्वन्द्व पीडितहरुको आन्दोलन जारी

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्व पीडितहरूले आफ्नो आन्दोलन जारी राखेका छन्।

सरकारले पीडकलाई उन्मुक्ति दिने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसद्मा लगेको भन्दै तत्कालीन माओवादी पीडितहरूले विगत २५ दिनदेखि धर्ना लगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

द्वन्द्वपीडितहरुले बिहीबार नयाँ बानेश्वरमा धर्ना दिएका छन्। उनीहरूले तत्कालीन नेकपा (माओवादी) ले हत्या, हिंसा, अपहरण, कुटपिट, सम्पत्ति लुटपाट र मानिसलाई विस्थापित गर्ने सम्मको मानव अधिकार उल्लंघनका घटना घटाएका भए पनि विधेयकमार्फत पीडकलाई उन्मुक्ति दिन लागिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।

माओवादीद्वारा पीडित राष्ट्रिय समितिका अध्यक्ष भोजराज तिमल्सिनाले संक्रमणकालिन न्यायको विषयलाई आजसम्म नटुंग्याइएकाले आन्दोलित हुनुपरेको बताए। उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकाहरुलाई कानूनी कारबाही गर्नुपर्ने उल्लेख गरे। आफूहरू न्यायको पक्षमा रहेको भन्दै न्याय नपाएमा देशमा जनविद्रोह हुने उनको चेतावनी थियो।

आन्दोलनकारीले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, लुटिएको सम्पत्ति फिर्ता गर, बाल सैन्यलाई न्याय दे, पीडितलाई परिपुरणको ग्यारेन्टी गर लगायतका विभिन्न माग राखिएको प्लेकार्डहरुको प्रदर्शन पनि गरेका थिए।

प्रकाशित: ३० चैत्र २०७९ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App