१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पञ्चकोशी क्षेत्रमा बल्छ पानीमाथि ज्वाला

कर्णाली विशेष

श्रीस्थान मन्दिर क्षेत्रमा रहेको ज्वाला। तस्बिर: गोविन्द/नागरिक

पौराणिक कालमा देवताहरूले तपस्या गरी बसेको पवित्र भूमि भएकाले देवलोक अपभ्रंश हुँदै दैलेख हुन गएको किंवदन्ती पाइन्छ। साविकको कर्णाली अञ्चलका जुम्ला, हुम्ला तथा मानसरोवरतर्फ जाने एक मात्र बाटो रहेको दैलेख जिल्ला धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा परिपूर्ण छ। यी तीन विषयमा अध्ययन गर्न चाहनेका लागि दैलेख खुला विश्वविद्यालय हो। यस ठाउँलाई भाषा, संस्कृति र जातजातिको उद्गम थलोका रूपमा लिइन्छ।

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिंजालाई मानिन्छ तर पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेखको दुल्लुमा रहेको छ। अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढइपालद्वारा शाक्य ९०३ तदअनुसार विक्रम संवत् १ हजार ३८ को शिलालेख दैलेखमै छ भने विक्रम संवत् १४१४ को पृथ्वी मल्लले बनाएको सात हात लामो कीर्तिस्तम्भ पनि दुल्लुमै रहेको छ। नेपाली भाषाको वि.सं १ हजार ३८ को कीर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको पहिलो ९३८ वर्ष पुरानो शिलालेखसमेत दुल्लु क्षेत्रमै रहेको छ।

नेपालकै पवित्र तीर्थस्थलमध्ये पञ्चकोशी तीर्थस्थल दैलेख जिल्लामा पर्दछ। श्रीस्थान, नाभिस्थान, कोटिला, पादुका, धुलेश्वर, भैरवी, तल्लोढुंगेश्वर मुख्य तीर्थस्थल हुन्। पञ्चकोशी तीर्थस्थलसँगै सदरमुकाममै रहेका बेलासपुर, गणेश मन्दिर, स्वामी कात्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भीमसेन, बागभैरव मन्दिर, नारायण, बज्रभैरव मन्दिर रहेका छन्। विन्द्रासैनी, भवानीमाई, नौधारा, भैंसाखोर, दुधेमष्ट, बुकिमाई, मालिकादेवी, दाणेमष्ट, जगनाथ महावै, बडाभैरव, कालसैनी कालिकालगायतका मठमन्दिर जिल्लाभर छरिएर रहेका प्रसिद्ध मन्दिरमा पर्दछन्।

धार्मिक तथा पुरातात्विक स्थल दुल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, कीर्तिखम्ब, पामथर नाउली, सातखम्ब, पञ्चदेवल, वाणगंगा, पौवा, दुल्लु दरबार, लकान्द्रको सिद्धपाइला रहेका छन् भने अन्य पर्यटकीय स्थलमा गुराँसे, रानीमत्ता, राकम कर्णाली, महावु, तीनचुले, द्वारीको बुलबुल झरना, कुइयाँको ताल, भैरवकुण्ड, धाउरपानी गुफा, रानीगुफा, छहारी गुफा पनि यहाँ रहेको छ।

दैलेख सदरमुकाममै जोडिएको ऐतिहासिक कोतगडी, जिल्लाभर रहेका ऐतिहासिक देवलमध्ये सबैभन्दा धेरै २५ देवल रहेको भूर्तिस्थित पञ्चदेवल र सोनजिकै रहेको पञ्चदेवललाई संयुक्त राष्ट्रसंघ युनेस्कोले ९ सय वर्षअघि साके संवत् १३२१ वैशाखमा निर्माण गरिएको भन्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस समेत गरेको छ। योलगायत बाटैभरि रहेका ढुंगाका खम्बा, कुइकाना, जाहारकोट, किमुगाउँ, काँशीकाँध, बेहुली र देउलीका पञ्चदेवल पनि पुरातात्विकस्थलमध्येकै नमुनाका रूपमा पर्दछन्।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सत्ययुगमा महादेवपत्नी सतीदेवीको मृत्यु भएपछि महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतीदेवीको हडी पतन भई ढुंगेश्वर; कोख पतन भई कोटिला; शिर पतन भई श्रीस्थान; नाभि पतन भई नाभिस्थान; पाउ पतन भई पादुका र बाँकी अंश पतन भई धुलेश्वर शक्तिपीठ रहन गएको उल्लेख छ। पञ्चकोशी तीर्थयात्रा पूरा गरे जीवनमा गरेका सम्पूर्ण पाप नष्ट हुने र पुण्य प्राप्त हुने जनविश्वास छ।

पञ्चकोशी: शिरस्थान

ज्वाला क्षेत्र भएको एक महत्वपूर्ण धार्मिक क्षेत्र हो शिरस्थान। श्रीस्थान मन्दिरको ज्वालाजी दर्शनका लागि दैलेख बजारबाट १ घन्टा पैदल र आधा घन्टा सवारी साधनमा श्रीस्थान पुग्न सकिन्छ। श्रीस्थानमा विश्वमै दुर्लभ पानीमाथि शदीयौंदेखि निरन्तर बलिरहेको ज्वाला बलेको देख्न सकिन्छ। खोलाका भित्ताभित्ता र पानीमाथि ज्वाला बलिरहेको यहाँ देख्न सकिन्छ। यहाँ विशेष शक्ति रहेको विश्वासका साथ मानिसहरू टाढाटाढाबाट दर्शन गर्न आउने गर्दछन्। प्रचारप्रसार हुन नसक्दा शक्तिशाली धार्मिक पीठ ओझेलमा परेको छ।

दैलेख सदरमुकामदेखि ८ किलोमिटर पश्चिम दुल्लु नगरपालिका १० मा पर्ने श्रीस्थानमा ज्वालाहरू हालसम्म पनि बलिरहेका छन्। यहाँ बगिरहेको खोलाको पानीमा समेत ज्वाला देख्न पाइन्छ। विसं १६२५ मा दुल्लुका राजा प्रताप शाही र बेलासपुरका राजा संग्राम शाहीले संयुक्त रूपमा श्रीस्थान ज्वाला मन्दिर निर्माण गरेको शिलालेखमा उल्लेख छ। जिल्लामा मानिसहरूको मृत्यु हुँदा श्रीस्थान र नाभिस्थानमा रहेको ज्वालाको आगोबाट दाहसंस्कार गरे स्वर्गलोक पुग्ने मान्यता रहिआएकाले जिल्लाभरबाट मृतकको शव दाहसंस्कार गर्न श्रीस्थान र नाभिस्थान आर्यघाटमा पु¥याइन्छ।

पञ्चकोशी: कोटिला

कोटिला सदरमुकामदेखि पैदल एक घन्टामा र सवारी साधनबाट आधा घन्टामै पुगिन्छ। यहाँ सतीदेवीको कोख पतन भएकाले त्यस क्षेत्रलाई कोटिला नामकरण गरिएको हो। सुमेरु पर्वतका रूपमा पहिला छामघाट र कोटिला खोलाले घेरेको टापुमा दधिची ऋषिले तपस्या गरेको वरपीपलका बुटाहरूसँगै रहेको देखिन्छ। कोटिला मन्दिर क्षेत्रमा दिनरात पूजाआजाका लागि साधुसन्त र माई बस्ने आश्रमसमेत निर्माण गरिएको छ।

पञ्चकोशी: नाभिस्थान

श्रीस्थानबाट आधा घन्टाको पैदलयात्रा र गाडीमा १० मिनेटमा उत्तरतर्फ पर्ने नाभिस्थानमा पुग्न सकिन्छ। श्रीस्थानबाट नाभिस्थान र कोटिला नजिकै पर्दछन्। श्रीस्थानमा जस्तै नाभिस्थानमा पनि इन्द्र ज्वाला र बडी ज्वालाका नामले दुईवटा ज्वाला अहोरात्र बलिरहेको देखिन्छ। यहाँ कालभैरव मन्दिर छ; जसलाई पुजारीबाहेक अरूले हेर्न नहुने मान्यता छ। नाभिस्थानमा रहेको करिब २ सय वर्ष पुरानो स्वामी रूखले यो ठाउँलाई अझै मनमोहक बनाएको छ भने नेपालको दुर्लभ मानिने रुद्राक्षको बुटा समेत नाभिस्थानमै रहेको छ।

नेपाल भ्रमणमा हिँडेका योगी नरहरि नाथले नाभिस्थानमा कोटीहोम गरी दैलेखमा रहेका ऐतिहासिक, पुरातात्विक शिलालेख, अग्निकुण्ड, छिपेका मूलहरू र लुकेका मूर्तिहरूको समेत उत्खनन गरेको पाइन्छ। नाभिस्थानमा पनि श्रीस्थानमा जस्तै गाधीघर छ भने दुल्लुका राजा भक्तबहादुर शाहले १७ सय ९४ मा चढाएको घण्टलगायतका सामग्री रहेका छन्। यहाँ पनि गुठीबाटै पुजारी र महन्तले पूजाआजा चलाउँदै आएका छन्।

पञ्चकोशी: धुलेश्वर

नाभिस्थानबाट दुई घन्टा पैदल र करिब ४५ मिनेटको यात्रापछि उत्तर पश्चिममा पर्ने टाकुरामा धुलेश्वर मन्दिर पर्दछ। धुलेश्वर मन्दिरमा महादेव पार्वती र राधा–कृष्णको प्रसन्न मुद्राको महत्वपूर्ण मूर्तिहरू रहेका छन्। मूर्तिहरूमा नियमित पूजाआजा गरिन्छ। २/३ वर्षअघिसम्म यहाँ खरानी र बालुवाका कण फुस्फुसाई निस्किरहेको देख्न सकिने भए पनि हाल आगो बालेका बेला जमिनमुनिबाट हावा आउने गरेको स्थानीयको भनाइ छ। धुलेश्वरमा धुलो जम्मा भएको कुण्ड मन्दिरभित्र रहेको छ। धुलेश्वरलाई मृत ज्वाला कुण्डका रूपमा लिइने गरिन्छ। यो नै नेपालको एक मात्र ज्वालामुखीको चिन्ह भएको स्थान हो।

पञ्चकोशी: पादुका

पादुका पञ्चकोशी तीर्थस्थलको अन्तिम महत्वपूर्ण क्षेत्र हो। धुलेश्वरबाट दुई घन्टा पैदल र गाडीमा आधा घन्टामै पुग्न सकिन्छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यही मन्दिरको किनाराबाट जान्छ। धार्मिक तथा पुरातात्विक रूपमा रहेको पादुका मन्दिर निकै महत्वपूर्ण मानिन्छ। पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहार समेत रहेको त्यहाँका अवशेषले देखाएका छन्। श्रीस्थान र नाभिस्थान जस्तै पादुका मन्दिरमा पनि निरन्तर बल्ने ज्वाला मन्दिर रहेको भए पनि देवघाटको किनारमा २०१३ सालमा आएको भीषण बाढीले बगाइदिएपछि यहाँ ज्वाला बलेको थिएन। स्थानीयले पुरानो ज्वाला रहेको स्थानमा उत्खनन गरेर ज्वाला बाल्ने बनाएका छन्।

महत्वपूर्ण मूर्तिहरू रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक चल्लका पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुंगाको स्तम्भमा ई.सं. १२४० मा कुँदिएको एसियाकै दुर्लभ मानिने बुद्धको मूर्तिसँगै दुर्लभ चारहाते गणेशको मूर्तिसमेत पादुकामा अवस्थित छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रको निकै महत्व हुँदाहँुदै पञ्चकोशी क्षेत्रमा निरन्तर बलिरहेको ज्वालाकै कारण नेपालको कुनै भूभागमा पेट्रोलियम पदार्थ हुन सक्ने कुरा वैज्ञानिक दृष्टिकोण रहेको छ।

सम्पदाले भरिपूर्ण दैलेख

धार्मिक क्षेत्रबाट मात्र नभई दैलेख जिल्ला पुरातात्विक दृष्किोणले पनि महत्वपूर्ण मानिन्छ। जिल्लाका विभिन्न स्थानमा रहेका हजारौं वर्ष पुराना पञ्चदेवल, ढुंगेधारा, पाथरनाउली र खम्बहरूले पुरातात्विक महत्व झल्काइरहेका छन्। पाँच पाण्डवद्वारा यी स्तम्भ निर्माण गरिएको भन्ने कथन रहेको भए पनि कसका पालामा कसले बनाएका हुन् भन्ने तथ्य प्रमाण अझै फेला परेको छैन।

सदरमुकाम दैलेख बजारबाटै चार खम्बको सुरुवात भई तर्ताङमा दुई खम्ब, जाहारकोटमा एक खम्ब, रावतकोटमा पाँच खम्ब, भैरीकालिकाथुमको डाँडीमाडीमा १२ खम्ब, दुल्लुमा १० खम्ब र गमौडीमा सात खम्ब आफ्ना कीर्तिका रूपमा पाण्डवहरूले गाडेको कथन छ। दैलेखको निर्वाचन क्षेत्र नं २ मा पर्ने दुल्लुनगर पालिकास्थित पामथर नाउली कुवाले ऐतिहासिक महत्व बोकेको छ। दुल्लु बजारनजिकै रहेको यो कुवा साके संवत् १२७६ मा निर्माण गरिएको अभिलेख रहेको छ।

पुरातात्विक शैलीमा निर्मित दुल्लुका अन्य देवल र खम्बा भएका स्थानमा समेत कलात्मक रूपमा कुँदिएका ढुंगे धारा देख्न पाइन्छ। विशेष गरी बडालम्जीको लम्जीमा अवस्थित पञ्चदेवल त्यहाँ नजिकै रहेको वाणगंगा नामले चिनिने ढुंगेधारा विशेष महत्वको हो।

भारत वर्षमा पाण्डवकी आमा, कुन्तीले तपस्या गरिरहेका बखत तपस्या भंग भई तिर्खाएपछि अर्जुनले वाण हानी सोही स्थानमा पानी निकाली खुवाएको भन्ने उल्लेख छ। वाणगंगाका नामबाट त्यतिबेला स्थापना गरिएको मन्दिरसमेत अवस्थित छ। जिल्लाको उत्तरी भेग दुई दिनको पैदल यात्रापछि पुगिने ६१ मिटर अग्लो द्वारी झरना नौमुले गाविसमा अवस्थित छ।

प्रकाशित: ३० चैत्र २०७९ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App