१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरका सामुदायिक वनमा अनियन्त्रित डढेलो

सदरमुकाम गाईघाट उत्तरमा पर्ने भुसुने सामुदायिक वन समूहमा बुधबार साँझ देखिएको डढेलो। तस्विरः महेश्वर

केही दिनयता उदयपुरको जंगलमा लागेको डढेलो अनियन्त्रित हुँदै गएको छ। गएको ३–४ दिनयता जिल्लाका विभिन्न जंगलमा डढेलो लागेको र निभाउन नसक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन्।

अहिले सदरमुकाम आसपासदेखि प्राय सबै स्थानीय तहका जङ्गलभरि डढेलो फैलिएको स्थानीयले बताएका छन्। पूर्वको बेलका नगरपालिकादेखि पश्चिमको कटारी नगरसम्म र पहाडी भेगका गाउँपालिकाहरूमा पनि उत्तिकै डढेलो लागेको प्रत्यक्षदर्शी गाउँले उपभोक्ताहरू बताउँछन्।

सदरमुकाम नजिकै त्रियुगा नगरपालिका १५ खाँबु र साउनेमा लागेका २ वटा सामुदायिक वन क्षेत्रमा शनिबारदेखि लागेको डढेलो अघिल्लो दिन मात्र निभाइएको थियो।

तर, सोही समयदेखि लागेको दर्जन बढी सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधवारसम्म निभाउन सकिएको छैन। जिल्लाका कटारी नगरपालिका ७ स्थित लामीदुवाली, उदयपुर गढी गाउँपालिकाका मौवासी, गैडेश्वर, अँधेरी तथा रौतामाईका कौवाई, होक्से वन समूहमा डढेलो निरन्तर लागिरहेको छ। प्रत्यक्षदर्शी स्थानीय उपभोक्ताका अनुसार त्रियुगा नगरपालिकाका ३ दर्जन बढी सामुदायिक वन समूहमा डढेलो लागेको पाइएको छ। गाईघाटनजिकै असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर जाँदै गरेको छ।

यो समाचार तयार पार्दासम्म असारीदेखि उत्तरतर्फको जंगल पुरै डढेलोले झिलिमिली देखिएको छ। सो क्षेत्रको डढेलो यही रफ्तारले बढ्दै गए त्रियुगा नगरपालिका १४ साउनेको निपाने, दियाले लगायत जङ्गलभित्रका ३–४ वटा मानव बस्ती उच्च जोखिममा पर्ने खतरा छ।

चर्को गर्मी र सुख्खा याममा खसेका सालका सुकेका पातले अत्यन्त तीव्र गतिमा डढेलो फैलिइरहेको भुसुने सामुदायिक वनकी उपभोक्ता पकु राईले बत्ताइन्। उनका अनुसार २ दिनअघि सामान्य देखिएको डढेलो मंगलबार फराकिलो हुँदै बुधबार त तुफानको रफ्तारमा फैलिँदै गएको पाइएको छ। 

उदयपुरका जंगलमा डेढ २ महिनायता डढेलो लाग्न थालेको थियो। तर, बीचमा २–३ दिन सामान्य वर्षा भएपछि आफै नियन्त्रणमा आएको थियो भने कतिपय वनको डढेलो स्थानीय र वन कर्मचारीको प्रयासले निभाइएको थियो। तर, वर्षा रोकिएसँगै फेरि फैलिएको डढेलो पनि अर्को चरणमा बाक्लो वर्षा भएपछि सबै ठाउँको नियन्त्रणमा आयो। पछिल्लो वर्षा रोकिएपछि भने एक्कासि गर्मी बढेसँगै फेरि चारैतिर डढेलो लाग्न थालेको हो। यस पटकको डढेलो भने अनियन्त्रित हुँदै गएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार चर्को सुख्खा मौसम र रातदिन हावाहुरी चल्ने गरेका कारण एक ठाउँमा लागेको डढेलोको झिल्को अर्को जंगलमा पुगेर एकैचोटी थामिनसक्नु आगो फैलिएको छ। हावा चलिरहने भएकाले द्रुतगतिमा फैलिएको डढेलो निभाउन पनि जोखिम देखिएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।

डिभिजन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले धेरै ठाउँमा डढेलो लागेको रिपोर्ट आएको बताउँदै नियन्त्रण गर्न सामुदायिक वन समूहका पदाधिकारी, उपभोक्ता र स्थानीय सब डिभिजन वन कार्यालयलाई निर्देशन दिइएको बताए।

साहका अनुसार डढेलो नियन्त्रण र वनको सुरक्षा तथा विकास गर्ने सम्पूर्ण जिम्मा समूहलाई नै दिने सरकारको नीति रहेको छ। त्यसैले डढेलो नियन्त्रणको जिम्मामा सबभन्दा बढी भूमिका वन समूहहरूले नै खेल्नुपर्ने उनले बताए। २ वटा डिभिजन वन कार्यालय रहेको उदयपुरमा ३ सय ५९ सामुदायिक वन उपभोक्ता समूह गठन भएर परिचालित छन्।

गाईघाट डिभिजन अन्तर्गत २ सय ५ र कटारी डिभिजन अन्तर्गत १ सय ५४ समूह गठन भएर परिचालित रहेको साहले बताए।

प्रकाशित: २९ चैत्र २०७९ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App