काठमाडौं- डलर देखाइ झुक्याएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको हो।
नारायण बहादुर र सोही स्थान वस्ने २३ बर्षीय सरोज भण्डारीले लमजुङ्ग बेशीसहर घर भई काठमाडौं बसुन्धरा बस्ने २८ वर्षीया मिनमाया तामाङ्गलाई पटक पटक फोन गरी आफुसंग अमेरिकन डलर १९ हजार छ, सो रकम नेपाली १० लाख पाएमा दिन्छु भनि प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। उनीहरुले पुस १७ गते ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को खरिवोट बोलाई अमेरिकन डलर ५० को ३ वटा नोट छेउ छेउमा र अमेरिकन डलर १ को २८८ वटा नोटहरु बिच बिचमा राखी जम्मा ४३८ डलरको बिटा बनाई रुमालमा पोको पारी १९ हजार डलर छ भनि झुक्याई मिनमाया तामाङ्गवाट १० लाख रुपैयाँ लिएका थिए। तामाङबाट लिएको रकम दुवै जनाले ५/५ लाख वाँडी निजहरु मध्येका सरोज भण्डारी उक्त रकम लिई तत्कालै सो स्थानबाट भागेका थिए। तर लक्ष्य भन्ने नारायण बहादुर भण्डारीलाई सोही स्थानबाट ठगिएकी महिलाले दिएको ५ लाख रुपैयाँ र महिलालाई डलर दिंदै गर्दाको अवस्थामा अमेरिकन डलर ४३८ सहित प्रहरीले पक्राउ गरेको थियो।
साथै लक्ष्य भन्ने नारायण बहादुर भण्डारी समेतलाई यस भन्दा पहिले पनि अवैध रुपमा अमेरिकन डलर कारोवार गर्ने गरेको आरोपमा संलग्न रहेको कसुरमा अमेरिकन डलर ३ सय ४० सहित २०७२ भदौ २५ गते पक्राउमा परी केही सार्वजानिकम मुद्दा समेतमा अनुसन्धान भई अमेरिकन डलर सहित विदेशी विनिमय गर्ने ऐन २०१९ बमोजिम कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ पुस २०७३ १०:३९ मंगलबार