६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण आगो तापेर बसेका तिप्लिङका एक स्थानीय। तस्बिरः शंकर श्रेष्ठ

धादिङ– अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

चिसो बढेपछि घर बाहिर निस्केर काम गर्न सक्ने अवस्था नरहेको तिप्लिङका एशुप तामाङले बताए । उच्च पहाडी भेगमा पर्ने तिप्लिङ, सेर्तुङ, रि र लापा गाविसका माथिल्लो बस्तीहरु चिसोबाट बढि प्रभावित बनेको छ ।

वर्षमा ९ महिना चिसो हुने यी वस्तीमा आइतबारदेखि हिमपात सुरु भएको रिगाउँका एस्तर तामाङले बताइन । ‘केही दिन देखि हुस्सु मात्रै लागेको थियो, आइतबार असिना पानी प¥यो त्यसपछि हिउँ पर्न थाल्यो’ तामाङले टेलिफोनमा भनिन । अघिल्ला वर्षहरुमा भन्दा यस पटक चिसो धेरै बढेकोले विहान बेलुका घर बाहिर निस्न समेत कठिन भएको उनले बताइन् । सिडिएमए फोन सेटमा पनि संगै अर्काे टावर प्रयोग गरेर मात्रै चल्ने हिमाली वस्तीहरुमा चिसो बढेदेखि टेलिफोनले समेत राम्रो काम गरेको छैन ।

हिमाल गाउँ नजिकै देखिन्छ । अग्लाअग्ला पहाड छन् । सिरकले छोेपेजस्तै एकैछिनमा कुहिरोले गाउँ छोपिन्छ । धारोमा पानी छोइसक्नु छैन । जस्ता र त्रिपालको छाप्रोले हिमालबाट हान्निएको सिरेठो छेकिदैन । हिउँ पर्न थालेपछि बालबच्चा र बृद्धबृद्धाको विचल्ली भएको तिप्लिङका विजय तामाङ बताउँछन् ।

उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ्ग, सेर्तुङ्ग, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको थियो । तिप्लङको लिङ्जो, सेर्तुङको हिन्दुङ, रिको किचेत, गेम्बा, लापाको कचेत, तेम्मो, नेवेर लगायतका स्थानमा हिउँ पर्न थालेको छ । भुकम्पले घरगोठ ध्वस्त बनेर जस्ता र त्रिपालको टहरामा जीवनयापन गर्दै आएकाहरुको विचल्ली भएको छ । जतिसुकै चिसो बढेपनि खपेरै बस्न उनीहरु बाध्य भएका छन् । ‘पाँच वर्ष पहिले यसैगरी हिउँ परेको थियो, पोहोरतिर खासै परेन जाडो ठिकैसंग कट्यो, यस वर्षको चिसो कटाउन मुस्किल हुने भयो’ तिप्लङ–६ का स्थानीय अगुवा मेन घलेले भने ।

भूकम्प पछि अधिकांश परिवार अस्थाई टहरोको बीच भागमा चुलो बनाएर आगो फुक्छन् र त्यहि ओरोघेरो सुत्नेबस्ने गरिरहेका छन् । अभिभावकहरु बालबच्चा च्यापेर अगेन छेउमा बसेर अगेनाको तातोमा निदाउन बाध्य छन् । ठुलोठुलो मान्छेले सानो नासो बच्चाहरु च्यापेर अगेन छेउमा रात विताउने गरेको तिप्लङका विजय तामाङले कष्ट सुनाए । उनले भने– ‘गाउँका मानिसहरु सुत्ने बस्ने खाने सबै एकै ठाउँमा गरी बसेका छन् ।’

चिसोले परपालुवा वस्तुभाउलाई घाँसपानी गर्न पनि समस्या पर्ने गरेको छ । चिसोले भेडा बाख्रा, गाईगोरु चराउन लान सक्ने अवस्था छैन । जाडोले गर्दा घरमा पालेका घर पालुवा पशुवस्तुलाई घासपानी गराउन समेत समस्या भएको तिप्लिङ–७ का सु लामा तामाङले बताए । डाँडा डाँडामा हिमपात हुन थालेपछि बेसीका बस्तीहरुमा पनि अत्याधिक चिसो बढेको स्थानीयहरुले बताएका छन् ।

चिसोका कारण बृद्ध र बालबालिकाहरुमा घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । रि गाविसको वढा नम्बर ४ र ७ मा चिसोका कारण समस्या देखिन थालेको स्थानीय सल्मान तामाङले जानकारी दिए । सामान्य अवस्थामा भन्दा चिसो बढ्न थालेपछि स्वास्थ्य चौकीमा विरामीको चाप झण्डै दोब्बरले बढेको स्वास्थ्य चौकीहरुले जनाएको छ ।
    
अघिल्लो वर्ष टहरामा कष्टका साथ जाडो कटाएका भुकम्प पीडित यस वर्ष पनि उहि टहरामा कठ्याग्रिदो रात विताइरहेका छन् । राहतको जस्ता र त्रिपाल मिलाएर निर्माण गरिएका अधिकांश टहरा थोत्रा भइसकेका छन् ।

चिसोका कारण केही अघिदेखि नै पुननिर्माणको काम पनि ठप्पजस्तै भएको थियो ।  जाडोले काम गर्न नसक्दा गाउँमा पुन निर्माणको काम अघि बढ्न नसकेको रि गाविस वडा नं.७ का स्थानीय समाजसेवी इमान तामाङले बताए । उत्तरमा अहिले धमाधम कोदो भित्र्याउने (चुट्ने) समय भएको छ । तर चिसोका कारण काम गर्न नसक्दा कोदो बारीमै अलपत्र परेका छन् ।
असिना र पानी फेरी दोहोरियो भने र हिमपात बढ्यो भने चिसोका कारण कठ्याग्रिएर थप समस्या आउन सक्ने लापाका स्थानीय अगुवा घनबहादुर तामाङले बताए । उत्तरी क्षेत्रको वर्षात र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ ।

 

 

प्रकाशित: १८ पुस २०७३ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App