२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला

भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो। 

भक्तपुर नगरपालिका वडा नं ५ स्थित श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट बाजा बजाउने कला प्रदर्शन गरिएको हो।  

चार महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँ प्रदर्शन गरेका थिए। उनीहरु सवैजना पाँंचतल्ले मन्दिरभरि रहेर प्रदर्शन गरेका थिए।  

प्रदशर्न हेर्न सयौंको भीड जम्मा भएको थियो। आकर्षक प्रदर्शन देखेपछि फोटो तथा भिडियो लिनेहरुको पनि भीड लागेको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रशिक्षण प्राप्त महिला पुरुषहरुले बाजा बजाएर त्यहा प्रदर्शन गरेका थिए।  

प्रशिक्षण पूरा गरेका नौ वर्षीय करसाङ सिंख्वाल, भक्तपुरकै गपलीमा वस्ने वर्ष १० का हार्दिक नागा लगायतका ससानादेखि युवा पुस्तासम्मका व्यक्तिहरुले प्रशिक्षण लिई पहिलो पटक त्यहाँ सिकेको बाजा बजाउने कला प्रदर्शन गरेका थिए।  

समूहका संयोजक एवं बाजाका गुरु श्रीभक्त सुवालले बाजा प्रशिक्षण सम्पन्न गरी सिकारुहरुको सार्वजनिकिकरणको क्रममा प्रदर्शन गरिएको बताए।  

सिकारुहरुले दुई समूहमा गरी प्रत्येक दिन साँंझ पाँंच बजेदेखि ६ बजेसम्म एक समूह र ६ बजेदेखि ७ बजेसम्म अर्काे समूह गरी उनीहरु ३७ जनाले बाजाको प्रशिक्षण लिएको उनले सुनाए। प्रशिक्षणको क्रममा कोठामा मात्रै बजाउन सिक्ने उनीहरुले प्रशिक्षण पूरा भएपछि सार्वजनिक रुपमा बाजा बजाएर बजार घुम्ने प्रचलन अनुसार बजार घुम्ने क्रममा पाँंचतल्ले मन्दिरमा पनि बाजाको प्रदर्शन गरिएको जनाइएको छ।  

प्रशिक्षणमा सहभागी युवा राजेश घेमोसूले पुराना पुस्ताले बजाउँदै आएको बाजा बजाउने कलालाई जीवन्त राख्न बाजा सिकेको बताउँंछन्। पुराना कला, संस्कृति, परम्परा, बाजागाजालाई बाचाइराख्न यहाँं यसरी नै टोलटोलका समूह, क्लवलगायतले निःशुल्क रुपमा बाजा सिकाउने हुँंदै आएको उनी बुझाउँंछन्।  

प्रशिक्षणमा ससाना बालवालिकादेखि प्राध्यापकसम्म पनि सहभागी थिए।  

प्रशिक्षणमा सहभागी ख्वप कलेज भक्तपुरका प्राध्यापक केशव तमखूले नयाँ पुस्ताले सिक्दै गरेकै कारण भक्तपुरका पुराना परम्पराले अझै जीवन्त रुप पाएको बताउँछन्।  

पाँंचतल्ले मन्दिरमा प्रदर्शनपछि उनीहरुले बजार घुमेका थिए। उनीहरुले स्थानीय नासद्यमा पुगेर बाजा बजाउन पुगेका थिए। यसअघि उनीहरु विहानै सिकारु र तिनका आफन्त भक्तपुरको पाँंचतल्ले मन्दिरसँंगै भैरबनाथको मन्दिर नजिक पुगी पूजाआजामा सहभागी भएका थिए। पूजाआजाको काम पूरा गरेपछि दिउँंसो उनीहरुले पाँंचतल्ले मन्दिरमा बाजा प्रदर्शन गरेका थिए। साथै उनीहरु बाजा बजाई भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा पनि पुगेका थिए। यसरी उनीहरु दिनभर बाजागाजा बजाएर रमाएका थिए।  

कर खिं एक प्रकारको परम्परागत बाजा हो। यो धिमे जस्तो आकारप्रकारको हुन्छ। तर धिमे भन्दा केही सानो रहेको हुन्छ। यो बाजा भक्तपुरमा दसैं, नयांँवर्ष विस्केट जात्रा, गाइजात्रालगायतका मेला, महोत्सव, उत्सबमा बजाउने गरिन्छ।  

यहाँंका बाजागाजालाई जीवन्त राख्न बाजा प्रशिक्षण दिइएको बताइएको छ। भक्तपुरका कला, संस्कृति, बाजागाजालाई जीवन्त राख्न नयाँं पुस्तालाई सीप हस्तान्तरण गर्ने क्रममा समूहले बाजा प्रशिक्षण दिइएको बताइएको छ। प्रशिक्षणमा भक्तपुर नगरभरिका साथै जिल्लाका विभिन्न नगरपालिकाबासीहरु सहभागी रहेको बताइएको छ।  

बताइए अनुसार कर खिं बजाउनका लागि घटीमा पनि तीनजनाको टोली चाहिन्छ। एकजनाले कर खिं, एकजना, भुछ्या (एक प्रकारको परम्परागत बाजा) र एकजना सिछ्या (एक प्रकारको परम्परागत बाजा) गरी समूहमा घटीमा तीन जना चाहिन्छ। भक्तपुरमा बजाइने धिमे, कर खिं, धाँं झण्डैझण्डै उस्तै धिमे जस्ता हुन्छन्। 

प्रकाशित: २५ चैत्र २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App