७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बन्देज लगाउन अनुगमन बढाउँदै प्रशासन

काठमाडौं- विद्यालयवरिपरि सुर्तीजन्य र लागू पदार्थ बिक्रीवितरणमा बन्देज लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाउने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले विद्यार्थीलाई लक्षित गरी विद्यालय आसपास सुर्ती र मदिराजन्य पदार्थ बिक्रीले शैक्षिक वातावरण नै खलबलाएकाले रोक लगाउन प्रभावकारी कदम चालिने बताए। उनले यस्ता गतिविधिमा रोक  लगाउन सहायक जिल्ला अधिकारीको संयोजकमा गठित अनुगमन समीतिको दायरा फराकिलो पारी अघि बढनुपर्ने जनाए।

स्कुल वरिपरि खुलेआम मदिरा, सुर्तीजन्य र लागू पदार्थ बिक्री गर्दा बालबालिका गलत बाटोमा फस्ने जोखिम बढिरहेको छ।

काठमाडौंका नक्साल, कालिमाटी, पुरानो बानेश्वर, भिमसेन स्थान, टुकुचा, कुलेश्वर, बल्खुलगायत क्षेत्रका विद्यालय वरिपरि खुला रुपमा मदिरा, सुर्तीजन्य र लागू पदार्थ बिक्रीवितारण हुँदै आएको छ। यसबाट विद्यार्थीको मनोविज्ञानमै नकारात्मक असर परेको महानगरीय प्रहरी  परिसर  हनुमानढोकाका एसपी प्रद्युम्न कार्कीले बताए।

उनले प्रहरीलाई प्राप्त सूचना आधारमा उपत्यकाका विद्यालय  वरिपरि अवैध रुपमा सञ्चालित पसलमा छापा मारी २५  हजार लिटर मदिरा नस्ट गरिसकेको जनाए।  'अनुमति दिने निकाय अन्तःशुल्क र महानगरपालिकाले सरकारको सर्त पूरा गरेनगरेको अनुगमन नगरी पसल सञ्चालन स्वीकृति नवीकरण गरेको पाइयो,' एसपी कार्कीले नागरिकसँग भने, 'अनि प्रहरीले अनुगमन गरी नियन्त्रण गर्न खोज्दा पसलेले  सरकारी अनुमतिपत्रको रबाफ देखाउँछन्।' उनले थपे, 'विद्यालयका नानीलाई सुरक्षित र शिक्षामैत्री वातावरणमा पठनपाठन गराउन प्रहरी र सम्बन्धित निकाय समन्वय गरी अघि बढेमात्र  जराबाटै समस्या समाधान हुन्छ।'

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन, २०६८ ले कार्यान्वयनमा ल्याएर स्कुलबाट ५ सय मिटर दुरीमा  सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रुपैयाँ जरिवानासमेत कानुनले तोकेको छ। कानुनी व्यवस्था कार्यान्वयन हुन नसक्दा राजधानीमै रहेका सरकारी स्कुलवरिपरिको वातावरण विकृत बन्दै गएको हो।

प्रमुख जिल्ला अधिकारी दवाडीले अनुमति लिएको भन्दैमा विद्यालय  वरिपरि मदिरा र सुर्तीजन्य पदार्थ कुनै पनि अवस्थामा बिक्रीवितरण गर्न नमिल्ने स्पष्ट पारे। 'सरकारी स्वीकृति छ भन्दैमा विद्यालय वरिपरि सुर्तीजन्य र मदिरा बिक्रीवितरण गर्न मिल्दैन', दवाडीले भने, 'कार्यालयको अनुगमन टोलीलाई अनुगमन दायरा फराकिलो बनाएर अघि बढ्न मैले निर्देशन दिएको छु। कुनै पनि निहुँमा विद्यालय, बालबालिका र वातावरणलाई बिगार्न मिल्दैन।'

महानगरीय प्रहरी बृत  कालिमाटिका डिएसपी नवराज अधिकारीले कालिमाटी क्षेत्रका विद्यालय वरिपरिको वातावरण  सुरक्षित बनाउन प्रिन्सिपलहरूसँग पनि छलफल सुरु गरिसकेको बताए। उनले बालबालिकालाई स्वस्थ्य र सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने काम  स्कुल र अभिभावकको पनि भएको बताए। 'विद्यालय उमेरका विशेषगरी कक्षा ८–१२ सम्मका किशोरकिशोरीलाई लक्षित गरी बिक्रेताले लागू पदार्थ, सुर्तीजन्य पदार्थ र मदिरा बिक्रेताहरुले बिक्रीवितरण गरेको हामीले पाएका छौं,' डिएसपी अधिकारीले भने, 'शिक्षकले नै आफ्ना विद्यालयका नानीलाई पढाइसँग अनुशासन र नैतिक शिक्षा सिकाउनुपर्छ। प्रहरी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, सम्बन्धित निकाय मिलेर लाग्नुपर्छ।' उनका अनुसार प्रहरीले समेत विद्यालयसँग समन्वय गरी कक्षामै गएर लागूपदार्थविरुद्ध चेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ। यसले केही हदसम्म समस्या हल  गर्ने उनको विश्वास छ।

प्रकाशित: १७ पुस २०७३ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App