१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सरकारलाई दबाब दिन सुनथराली विमामानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले गरेकाे साधारण सभा। तस्विरः ललित विष्ट कालिकोट ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण सुरु भएको चार दशकपछि सम्पन्न भएको बहुचर्चित सुनथराली विमानस्थलमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न भएको छ। २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएपनि हालसम्म जहाज नआउदा सरकारलाई दबाब दिन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले साधारण सभा सम्पन्न गरेको हो।

मंगलबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा विमानस्थलको धावनमार्गमै आयोजना गरियो। कालिकोटबाट प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी,नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल,कर्णाली प्रदेशका सांसद हिक्मत बिष्ट,दुर्गबहादुर रावत,कर्णाली प्रदेशका दश वटै जिल्लाका पत्रकार महासंघका अध्यक्षलगायतका जिल्लाका ९ वटै स्थानिय तहका प्रमूखहरु अन्य सरकारी निकायका प्रमूखहरु सहभागी उक्त साधारण सभा विमानस्थलको धावनमार्गमै गरिएको हो।

विमानस्थलको धावनमार्गमै पत्रकार महासंघले कार्यक्रम आयोजना गर्नुको मुख्य कारण नै तत्काल नियमित उडानगर्न दाबाब दिनको  लागि गरिएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले बताए। उनले भने, ‘यो विमानस्थल निर्माण सम्पन्न हुन ३७ बर्ष लाग्यो । निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि जहाज आएको छैन्। नियमित उडान गर्नका लागि फेरी वर्षौं नलागोस भनेर विमानस्थलमै कार्यक्रम आयोजना गरिएको हो।’

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले ‘भने निर्माण गर्न ३७ बर्ष लागेको विमानस्थल बन्यो। तर यहाँ जहाज आएन्। हामीले नियमित उडान गर्न दबाब दिनकै लागि विमानस्थलमै साधारण सभा गरेको हौँ। विमानस्थल बन्नकै लागि बर्षौँ कुरियो । अब नियमित उडान हुन पनि कुर्न नपरोस भनेर दबाब सहित पहलकदमी पनि लिएको हो।’

विमानस्थल निर्माणकै क्रममा धेरै मजदुरहरुको रगत बगेको छ। सशस्त्र द्वन्द्वका बेला २०५८ फागुन ११ गते अछामको मंगलसेन आक्रमणका दोषी खोज्दै आएको नेपाली सेनाले धादिङको जोगिमारा,काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३६ जनालाई लाइन लगाएर हत्या गरेको स्थानीयको भनाई छ। सुनथराली विमानस्थल निर्माण गर्ने ३६ जना मजदुरको सुनथराली विमानस्थलमा चिहान छ। विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः कछुवाको गतिमा सुरु भएको थियो। कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ। पैदल जानलाई ६ घण्टाको दुरीमा रहेको छ।

कालिकोट प्रदेश सभा ख बाट निर्वाचित सांसद हिक्मतबहादुर बिष्टले सुनथराली विमानस्थलमा नियमित उडानका लागि पहल भईरहेको बताए । उनले भने, ‘नेपाल सरकारका पर्यटनमन्त्री, प्रदेशका पर्यटनमन्त्री, संघ र प्रदेशका सास्।द,आरएनएसीका अध्यक्ष र यअरलाईन्सका अधिकारीहरुसँग छलफल गरेका छाँ । बैशाख १ गते सुनथराली बिमानस्थलमा उडान भर्ने सहमति भएको छ। नयाँ बर्षमा कालिकोटबासीहरुको जहाँज चढ्ने सपना पुरा हुनेमा म विस्वस्त छु।’

सुनथराली विमानस्थलको नियमित उडान भएमा यहाँका रमणीय पर्यटकिय स्थलहरु रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानियले बताउन्छन्। विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी(पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौता अनुसारको काम सकेर हस्तान्तरणको तयारीमा लागेको छ ।

कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो। विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ।  विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ। दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाँडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने छ।

प्रकाशित: २४ चैत्र २०७९ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App