८ वैशाख २०८१ शनिबार
समाज

१७ किलोमिटर चक्रपथ विस्तारमा अन्यौलता

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पञ्चवर्षीय योजना अन्तर्गत (२०७३–२०७८) सम्म चक्रपथ सडकखण्ड निर्माणसम्पन्न गर्ने लक्ष्य राखेपनि सडक निर्माणको अझैसम्म सुरसारै भएको छैन्। मन्त्रालयले २०७२ सालमा 'समृद्ध नेपालका लागि सडक विकासको पाँच वर्षे रणनीतिक योजना अन्तर्गत बाकीँ रहेको १७ किलोमिटर चक्रपथ बनाउने लक्ष्य राखेपनि अझैसम्म कसले बनाउने टुङगो नलाग्दा अन्यौल छाएको हो।

सन् २०१२ देखि चिनियाँ सरकारको अनुदानमा कंलकी–कोटेश्वर १०.३९ किलोमिटर सडक निर्माण कार्य भइरहेपनि बाकीँ रहेको चक्रपथ सडक निर्माण नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ।

'चीन सरकारले चक्रपथ विस्तारमा चासो दिइराखेको छ। तर, अहिलेसम्म मन्त्रालय तहबाट कुनै पहलकदमी भएको छैन्। जसले गर्दा चक्रपथ सडक विस्तारमा अन्यौलता छाएको हो ' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने, 'उक्त सडकको अझैसम्म विस्तुत परियोजना रिपोर्ट समेत बन्न सकेकेा छैन्। कसरी बन्ला पाँचवर्षभित्रै।'

चक्रपथ सडकखण्ड मध्ये कंलकी–बालाजु–गोंगबु, सामाखुसी–चाबहिल– गोशाला–एयरपोर्ट हुदैं कोटेश्वरसम्मको सडक खण्डको ६ लेनको सडक निर्माण कार्य अझै  सुरु हुन सकेको छैन्। बालाजुका स्थानिय रामकृष्ण श्रेष्ठले सरकारको उदाशिनताको  कारणले चक्रपथ सडक विस्तारमा ढिलाइ भएको बताएका छन् । 'बर्खामा हिलो र हिँउदमा धूलोले सताएर हैरान भइसक्यौं,' उनले भने,'तत्कालै चक्रपथ सडक विस्तार सम्पन्न गर्नुपर्‍यो।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता भिमार्जुन अधिकारीले पहिलो चरणको १० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेपछि मात्रै दोस्रो चरणको सडक विस्तार हुने बताएका छन्। 'पहिलो चरणको विस्तार अझै सकिएको छैन्। त्यसैले गर्दा दोस्रो चरणको सडकको तयारी गर्न पाएका छैनौं।' उनले भने,'पहिलो योजना सक्ने बितिकै दोस्रोको काम थाल्नेछौं।'दोस्रो चरणको चक्रपथ विस्तारको विस्तुत परियोजना रिपोर्ट अहिले सम्म बन्न नसकेको उनले बताए ।

सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जय कुमार श्रेष्ठले चक्रपथको दोस्रो खण्डको सडक निर्माणको लागि चिनियाँसरकारसँग कुटनीतिक पहल गर्ने तयारी भइराखेको बताएका छन्।'छिट्टै मन्त्रालयले चिनियाँदुतावाससँग दोस्रो खण्डको चक्रपथ सडक विस्तारबारे छलफल गर्ने तयारी गरिराखेका छौं,' उनले भने,'सम्भवत् चिनियाँ सरकारको अनुदानमा नै निर्माण हुनेछ।' चिनियाँ सरकारले उक्त सडकको डेढ वर्ष अघि नै सम्भाव्यता  अध्ययन गरिसकेको उनले बताए।

'अहिलेसम्म चिनियाँ सरकारले निर्माण गर्ने सम्झौता भएको छैन्। तर, उनीहरुले बनाउने चासो दिइराखेका छन्।' उनले भने,'चिनियाँ सरकारले निर्माण नगरे। मन्त्रालय आफैंले निर्माण गर्नेछ।' पहिलो चरणको चक्रपथ विस्तार सकेपछि मात्रै दोस्रो चरणको चक्रपथ विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

प्रकाशित: १४ पुस २०७३ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App