११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

रोकिएन चेलीबेटी बेचबिखन

भैरहवा–सबै कुरा दलालको योजना अनुसार भएको भए रसुवाका दुई युवती अहिले बेलहिया नाका कटेर भारतका कोठीमा पुगिसक्थे, या भारतको बाटोहुँदै खाडी मुलुक। अभाव र गरिबीबाट मुक्ति पाउने आशमा दलालले देखाएको प्रलोभनमा परेका रसुवा कत्लाङका ती युवतीलाई सीमा कटाउनै लाग्दा माइती  नेपालको सक्रियतामा बैशाख १६ गते उद्दार गरियो। १९ र २० वर्षका युवतीलाई फकाउन दलाले तीनकै मामा पर्ने गोम्बोको सहयोग लिएका थिए।

निमा कासाङले काठमाडौंको होटलकालागि महिला कामदार खोजी दिए एकमुष्ट रकम दिने भनेपछि भान्जी पर्ने दुवै जनालाई राजधानी लगेर उनैको जिम्मा लगाएको गोम्बोले बयान दिएका छन्। काठमाडौंमा केही दिन राखेर निमाले ती युवतीलाई बुटवल देवीनगर डेरागरी बस्ने बिजयलक्ष्मी कुँवरको जिम्मा लगाए। बिजय लक्ष्मीले भने अनुसार सीमा पार गर्न लागेका ती युवतीको नाकाबाटै उद्दार गरिएको थियो।

 युवतीको बयान अनुसार प्रहरीले गोम्बोलाई पक्राउ गर्यो। बिजयलक्ष्मी र निमालाई भने अझै पक्रन सकेको छैन। गत आइतबार (पुष १० गते) मकवानपुर छतिवनकी एक युवती भैरहवास्थित बेलहिया नाका हुँदै भारत जाँदै थिइन्। नाकामा मालबहाक ट्रक र बजार जाने फकर्नेकोीिभडमा अल्मलिएकी ती युवतीलाई माइती नेपालका कर्मचारीले सोधपुछ गरे।

युवतीले  सुनौलीतर्फ इसारा गर्दै बुटवल हिँडेको भनेपछि तत्काल प्रहरीलाई खबर गरियो। १९ वर्षे युवतीलाई हेटौंडाकै गढीदरबार घर बताउने लुकमणिराज स्याङतानले बुटवलको मल्टिनेशनल  कम्पनीमा टाइपिष्टको काम लगाइदिने भन्दै भारत लैजान लागेका थिए। प्रहरीले स्याङतानसँगै गोरखपुरबाट उनीहरुलाई लिन आएकी अर्की एक महिलालाई पनि नियन्त्रणमा लियो। दुवै जना बिरुद्ध मानव बेचविखनको मुद्दा दर्ता भएको छ।

स्याङतानले फेसबुकमार्फत ती युवतीलाई मायाजालमा पारेका थिए। राम्रो जागिर लगाइदिने र बिहे गरी सुखी जीवन बिताउने प्रलोभनमा युवतीलाई भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए।

त्यस्तै बिहे गर्ने बहानामा भारतको गोरखपुर पुर्याइएकी म्याग्दीकी एक युवतीलाई पनि गत साउनमा उद्दार गरी नेपाल फर्काइयो। भारतको गोरखपुर पुर्याई बेचबिखन गर्न लागेको चाल पाएपछि स्थानीयको सहयोगमा उनी प्रहरी समक्ष पुगेकी थिइन्। आफूहरु  बीच फेसबुकबाटै चिनजान तथा मायाप्रेम बसेका ती युवतीले बताएकी छन्।
चेलबेटी ओसार पसार तथा बेचबिखनका यी प्रतिनिधि मुलक घटना हुन्। सुरक्षा निकायसँगै धेरैवटा गैरसरकारी संस्थाले चेलिबेटी बेचबिखन बिरुद्ध बिभिन्न कार्यक्रम गरीरहेका भएपनि मानव तस्करी तथा बेचबिखन रोकिएको छैन।

नेपाली चेली भारत तथा भारतको बाटोहुँदै तेस्रो  मुलुक बेचिने क्रम बढेको छ । पछिल्लो एक वर्षमा रुपन्देहीको बेलहिया नाकाबाट भारत तथा भारतको बाटोहुँदै तेस्रो  मुलुक लैजाँदै गरिएका २ सय ८७ जनाको उद्दार गरिएको छ । माइती नेपाल आवधिक गृह भैरहवाका अनुसार एक वर्षमा २ सय ५१ जना महिला र ३६ जना बालकलाई नाकाबाट उद्दार गरिएको हो। ती मध्ये केहीलाई भारतका विभिन्न स्थानबाटै उद्दार गरी फर्काइएको आवधिक गृहका प्रमुख प्रभा खनालले बताइन्।
प्रहरी तथा चेलीबेटी बेचबिखन बिरुद्ध काम गर्ने संघसंस्थामा परेका उजुरी तथा उद्दारका घटनालाई केलाउने हो भने दलालले चेलीबेटी फकाउने र सुरक्षा निकायको आँखामा छारो हाल्ने शैली र बेचबिखनको गन्तव्य फेरेका छन्।

 नेपाली महिला पहिले  पैसाको प्रलोभनमा भारतका कोठीमा बेचिन्थे। अचेल भारतको बाटोहुँदै तेस्रो  मुलुक पुर्याइन्छ। खाडी मुलुकमा अधिकांशलाई यौन धन्दामा लगाउने र कतिपयको घरेलु कामदारकै रुपमा यौन शोषण हुने गरेको उद्दार गरिएकाको बयानबाट खुलेको छ।

प्रहरीका अनुसार चेलीबेटी बेचबिखनका सबैजसो घटनामा मोबाइल फोनको दुरुपयोग भएको छ । मोवाइलबाटै माया प्रेमको नाटक गपरिएका छन्। दलाल सुरुमा अति बिपन्न समस्याबाट गुज्रिरहेका तथा सुविधाभोगी जीवनको महत्वकाँक्षा बोकेका महिलाको पहिचान गर्छन्। उनीहरुलाई प्रलोभनमा  पार्छन्। माइती नेपालका प्रमुख खनालका अनुसार मोवाइल वा आफन्तमार्फत युवतीसँग नजिकिने, प्रेमको नाटक गर्ने र तेस्रो मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाइ बोर्डर कटाएका घटना धेरै छन्।  
अभाव, गरिबी, बढ्दो शहरीकरण तथा तडकभडक र त्यसको देखासिकी सँगै फेसबुकको दुरुपयोग चेलीबेटी बेचबिखनको मुख्य कारण भएको बताँउछन रुपन्देही प्रहरीका महिला सेल इन्चार्ज प्रहरी नायव निरीक्षक लक्ष्मण बिक। ‘एकातिर बेरोजगार र बढ्दो महंगीका कारण खान नपुग्ने स्थिति हुन्छ अर्कातिर समाजमा बढ्दै गएको तडकभडकको देखासिकी गर्दा गर्दै महिला दलालको जालमा फसेको चालै पाउदैनन’, महिला सेल इन्चार्ज बिकले भने।

चेलीबेटी बेचबिखन र उद्यारका थुप्रै  घटना भएपनि न्यायका लागि प्रहरी र अदालतसम्म पुगेका घटना भने निकै कम छन् । गत आर्थिक वर्षमा रुपन्देही प्रहरीमा जम्मा १९ वटा मुद्दा दर्ता भए। साउन यता ५ वटा मुद्दा दर्ता छन । घटनामा नजिकका व्यक्ति जोडिँदा पीडितले समाजमा पुनस्र्थापना हुन समस्या हुने र इज्जत मान प्रतिष्ठा घट्ने डरले दोषी बिरुद्ध उजुरी गर्दैनन्।

प्रकाशित: १३ पुस २०७३ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App