२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धमाधम भेटिँदैछन् ‘हराइएका’ हतियार

काठमाडौं- तत्कालीन विद्रोही नेकपा माओवादीले शान्ति प्रक्रियाको पहिलो खुट्किलोका रुपमा ३० हजार ८ सय ५२ लडाकु र ३ हजार ४ सय २८ थान हतियार सार्वजनिक गर्‍यो। यो तत्कालीन विद्रोही माओवादीका सात मुख्य र २१ सहायक शिविरमा रहेका लडाकु र हतियारको संख्या थियो।

सरकारी तथ्यांकअनुसार सशस्त्र द्वन्द्वकालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट ३ हजार ४ सय ३० थान हतियार विद्रोहीले लुटेका थिए जुन सार्वजनिक तथ्यांकसँग मेल खाएन । लडाकु र हतियार संख्या विवादमा तानिएपछि माओवादीले केही हतियार हराएको, कतिपय खोलाले बगाएको र केही बिग्रिएर फ्याँकेको जवाफ दियो ।

सेना समायोजनका क्रममा बल्लतल्ल थप ८ सय थान हतियार बुझाएको माओवादीबाट जम्मा ४ हजार २ सयभन्दा बढी संख्यामा हतियार देखियो ।

शान्ति प्रक्रिया सुरु भएको एक दशकपछि तत्कालीन विद्रोहीले लुटेका हतियार धमाधम बरामद भइरहेका छन् । हतियार मात्र होइन, तिनका बेवारिस गोलीगट्ठा र विस्फोटक पदार्थसमेत धमाधम फेला परिरहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसरी बरामद हतियारमध्ये घातक र स्वचालित हतियार माओवादी पूर्वलडाकुका साथबाट बरामद भएको हो । प्रहरीले मनाङ, जुम्ला र काठमाडौंबाट पूर्वलडाकुलाई हतियार र गोलीगट्ठासहित पक्राउ गरेको छ ।

नेपाली सेनाका पूर्वरथी एवं त्यतिबेला सेना समायोजन विशेष समिति संयोजक रहेका बालानन्द शर्माले प्रहरीबाट बरामद हतियारका विषयमा सरोकारवालाले सत्य नबोल्दासम्म यथार्थ ननिस्कने बताए । सेना समायोजनका क्रममा अनमिनलाई बुझाइएका हतियारबाहेक अन्य केही सय थान मात्र माओवादीसँग रहेको अनुमान दस वर्षयताको बरामद तथ्यांकले गलत साबित गरेको उनी बताउँछन् ।

‘अनुमानभन्दा थोरै हतियार बुझाइएको छ भन्ने आशंका त्यतिबेलै थियो, हाल बरामद भइरहेका हतियार तिनै हुन् वा अन्य भन्ने अनुसन्धानको विषय हो,’ शर्माले नागरिकसँग भने । उनका अनुसार युद्धकालमा माओवादीले बर्मादेखि अफगानिस्तानसम्म पुगेर हतियार खरिद गरेका थिए ।

नेपाली सुरक्षा निकायले प्रयोग नै नगर्ने हतियार र ठूलो मात्रामा घरेलु हतियारसमेत माओवादीसँग थियो ।

‘पछिल्ला वर्ष तत्कालीन विद्रोही दलमा आएको राजनीतिक फुटको नेतृत्वकर्ताले केही हतियार लगे भन्ने सुनिएको हो, अब हतियार राख्नु गैरकानुनी हो, राज्यले कदम चाल्नुपर्छ,’ शर्माले थपे ।

प्रहरी विशेष ब्युरोको तथ्यांकअनुसार २०६३ देखि मंगलबारसम्म देशभरबाट एक हजार १२ थान ठूला हतियार र एक हजार ७ सय २५ साना हतियार बरामद भएको छ ।

प्रहरीले २०६६ र २०७१ मा नेपाली सेनाले प्रयोग गर्दै आएको ‘एम१६’ राइफल बरामद ग¥यो । यसै आर्थिक वर्ष मात्र तीन थानसहित १० थान एसएलआर राइफल, दुई थान एसएमजीसहित १६ थान, एक थान इन्साससहित दुई थान बरामद गरेको छ ।

प्रहरी तथ्यांकअनुसार २०७० मा एक थान दुई इन्च मोर्टार, १६ थान वन बेल्ट राइफल, थ्रीनटथ्री राइफल ७३ थान र सर्टगन आठ थान बरामद भएको छ । प्रहरीका अनुसार स्वचालित र घातक मानिएका उल्लिखित हतियार हिमाली जिल्लाबाट बढी बरामद भएका छन् । पछिल्लो दस वर्षमा ४ सय ८४ थान पेस्तोल, एक सय १७ थान रिभल्बर, एक हजार ३ सय ३० थान कटुवा पेस्तोल र हर्नेट सात थान बरामद गरेको हो ।

प्रहरी उच्चस्रोतका अनुसार सशस्त्र द्वन्द्वको उद्गम र विद्रोहीले आधार बनाएका जिल्लामा अझै पनि नेतृत्वले विगतमा जस्तै महँगो जडीबुटी, प्राकृतिक स्रोतसाधन र चीन नाकाबाट तस्करीमा हतियार र लडाकु प्रयोग गरिरहेको हो ।

प्रहरीका अनुसार शान्ति प्रक्रियालगत्तै लुकाइएका हतियार र लुकाउन दिएका व्यक्ति तितरबितर हुँदा हतियार कोसँग कहाँ, कुन अवस्थामा छन्, चोइटिएका कुनै माओवादी नेतासँग यकिन विवरण छैन ।

ब्युरो प्रमुख डिआइजी बमबहादुर भण्डारी बरामद हतियारमध्ये सुरक्षा सेवामा प्रयोग भएका हतियारको पहिचान पहिलो प्राथमिकता रहने बताउँछन् । उनले प्रहरीले स्वचालित र अत्याधुनिक हतियार बरामद गरेपछि सुरक्षा निकायले प्रयोग गर्नेमध्ये भए सम्बन्धित निकायसँग लेखापढी गरिने बताए ।

‘हतियार बरामद भए पनि प्रयोग गर्ने सुरक्षा निकायबाट चासो राखेर सोधखोज गरिन्छ, हालसम्म यस्ता हतियारको मुद्दा चलिरहेकाले टुंगो लाग्न सकेको छैन,’ डिआइजी भण्डारीले भने ।

युवाका हातमा घातक हतियार

प्रहरीले जुम्ला चन्दननाथ मन्दिर डकैती घटना अनुसन्धान क्रममा मंसिर अन्तिम साता काठमाडौंबाट जुम्लाका वेदनराज थापालाई नियन्त्रणमा लियो । थापाको उमेर जम्मा २४ वर्ष छ । थापाको समूहले जुम्ला, हुम्ला र डोल्पालगायत हिमाली क्षेत्रमा पछिल्लो पाँच वर्षमा शृंखलाबद्ध डकैती गर्दै आएको समूहका नाइके भएको खुल्यो ।

प्रहरीले थप अनुसन्धानमा थापाले डकैतीमा प्रयोग गर्दै आएका अत्याधुनिक र स्वचालित हतियार बरामद ग¥यो । भदौ १६ मा  जुम्ला माडीचौर– ३ स्थित रोशन होटलबाट प्रहरीले पाँच जनालाई स्वचालित राइफल र अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएका जुम्ला गोज्र्याङकोट– २ बस्ने ३० वर्षीय धीरबहादुर परियार, धापा– ६ बस्ने ३३ वर्षीय अशोक तिरुवा, मुगु जिमा– ३ बस्ने २५ वर्षीय गोविन्द टमाटा, मुगु कोड– ८ बस्ने ३१ वर्षीय दलबहादुर कार्की, जुम्ला मालिका ठाडा– ४ बस्ने ३२ वर्षीय मनबहादुर बोहरा हतियारकै भरमा हिमाली क्षेत्रमा लुटपाटमा संलग्न थिए ।

प्रहरी टोलीले खानतलासी गर्दा परियारको झोलाबाट आइसिआर५७ ए.आइपिएल १४६५ नम्बरको एमएमजी फेला परेको हो । प्रहरीले एसएमजी एक थान, म्याग्जिन, गोली सात राउन्ड र चाइनिज पेस्तोल १ थान, सोको म्याग्जीन १ थान, गोली ३ राउण्ड र नगद सहित पक्राउ गरेको थियो ।  ५ जनालाई पक्राउ गरेको छ ।

कार्तिकमा रौतहटमा दोहोरो भिडन्तमा फेला परेको इन्सास राइफल र प्रहरीले २०७१ साउन ६ गते एके ४७ राइफल सहित नविन रोका मगर र उजिर रोका मगर मनाङमा पक्राउ परे । दुबै पूर्व लडाकु रहेको र मनाङमा यार्सागुम्बा र ब्यापारी लुटन सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुल्यो । प्रहरीले अधिकांस घटनामा फेला पारेका हतियार सेना, सशस्त्र र प्रहरीबाट द्धन्दकालमा प्रयोग भएको र पूर्व लडाकुका साथबाट बरामदगर्दै आएको हो । तर  देशका विभिन्न जिल्लाबाट घातक र अत्याधुनिक हतियार फेला पर्नेक्रम रोकिएको छैन ।

‘आफूखुसी हतियार लिएर पार्टीबाट सम्पर्कविहीन भएको एउटा समूह, पार्टीकै नेताको आड र निर्देशनमा सक्रिय अर्को समूह प्रत्यक्ष देखिएका छन्,’ प्रहरी उच्चस्रोतले भन्यो, ‘एउटा अर्को समूह विगतमा जस्तै भारतबाट हतियार खरिद गरी सक्रिय हुन खोजेको अनुसन्धानमा देखियो ।’

हिमालमा हतियार खोज्दै प्रहरी

प्राकृतिक स्रोतको अवैध व्यापारमा र हिमाली जिल्ला भएर हुने चीनसँगको अवैध व्यापारमा घातक हतियार र हतियारधारी सक्रिय देखिएपछि प्रहरी हतियार खोज्न हिमालमा केन्द्रित भएको छ । प्रहरीले हिमाली जिल्लामा विगतमा फेला परेका हतियार र पक्राउ परेका व्यक्तिको साँठगाँठ केलाउन थालेको हो ।

प्रहरी उच्चस्रोतका अनुसार पाँचै विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रहरी कार्यालय र केन्द्रमा विशेष ब्युरो हतियार खोजीमा सक्रिय छ । ‘हतियार खरिदकर्ता बनेर बरामद र पक्राउ गर्ने समय रहेन, अनुसन्धान गरी लुकाएका हतियार र व्यक्ति खोज्न निर्देशन भएको हो,’ स्रोतले भन्यो ।

प्रहरीले २०६३ देखि २०७३ सम्म बरामद गरेका अवैध हतियार

एम १६ राइफल– २ थान

एसएलआर राइफल– १० थान

एसएमजी राइफल– १६ थान

इन्सास राइफल –२ थान

सर्टगन–८ थान

वन बेल्ट राइफल– १६ थान

मास्केट हतियार– २ थान

दुई इन्चको मोर्टार– १ थान

हर्नेट– ७ थान

एयर गन– २५ थान

जिएसटी क्यालिबर २२– १ थान

थ्रीनटथ्री राइफल– ७३ थान

टुटु– ८ थान

१२ बोर– ७४ थान

२२ म्याग्नम– १ थान

भरुवा बन्दुक– ७८१

पेस्तोल– ४८४ थान

रिभल्वर– ११७ थान

थ्री फिप्टिन– ५ थान

कटुवा पेस्तोल– १,३३० थान

प्रकाशित: १३ पुस २०७३ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App