१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

कमसल निर्माण कारण करिब पाँच वर्षअघि भत्केको सिक्टाको पश्चिम मूल नहर। फाइल तस्बिर: नागरिक

सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरूप बिल भुक्तानी गर्न लागेको जनाएको छ।

किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोले बताए। नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन्।

धनगढी-१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताइन्।

‘सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौं, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो’, उनले भनिन्।

धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताए। यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनको भनाइ छ।

असार मसान्तसम्मको महसुल कृषक आफैंले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले बताए।

उनले भने, ‘सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ।’

कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिस पत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ। रासस

प्रकाशित: २२ चैत्र २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App