३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्मले बदलिएको नाम ‘तरकारी काका’

उनी भन्छन्, ‘भारतीय तरकारी आयतलाई निरुत्साहित गरौँ’

‘तरकारी काका’ टीकाराम सापकोटा बारीमा काम गर्दै।

घर्कँदो उमेर। सेताम्मे दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन्। कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसकेका छन्। उमेरले सात दशक लाग्न थालेका उनमा जोस र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। 

उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो। साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन। 

व्यावसायिकीकरण गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथि बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बिच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। 

कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ। सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नु पूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो। ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपर्थ्यो। 

तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोड रुपैयाँको जग्गा किन्न सफल भएका छन्। उनले आजको यो सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। 

सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको अनुभव छ। किसान सापकोटा भन्छन्, ‘जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन। सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ।’ 

उनले दुःख सुनाउँदै भने, ‘अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्काउन, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो।’ 

सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको अनुभव छ। सुरुआतका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्। सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटा कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भए। त्यो बाहेक महत्त्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। 

तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्। कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ। 

सापकोटाको कृषि कर्ममा उहाँकी श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छिन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्। तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन्। श्रीमानको कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठुलो परिवर्तन आएको उनको भनाइ छ। कौशिला भन्छिन्, ‘पहिले त खान लाउन निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जिउनका लागि अर्काको घरमा पनि काम ग¥यौँ।’ 

उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरूको भारी बोक्ने, होटेलमा काम गरेर जीविका धानेको बताइन। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाइन। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ। रासस

प्रकाशित: १९ चैत्र २०७९ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App