हरित, उत्थानशील तथा समावेशी विकास एवं हरित लगानीबारे काठमाडौँमा दुई दिने सिकाइ गोष्ठी सम्पन्न भएको छ।
'नगरपालिकादेखि संघसम्म' नाम दिइएको यस सिकाइ संगोष्ठीमा पोखरा, बुटवल र जनकपुर नगरका प्रमुख, उपप्रमुख तथा पदाधिकारी, संघ तथा प्रदेश सरकारका सचिवहरू, वरिष्ठ अर्थ तथा विकासविद्, एवं विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
बेलायत सरकारको प्राविधिक सहयोगमा विगत चार वर्षदेखि पोखरा, बुटवल र जनकपुरमा सञ्चालित नेपाल शहरी उत्थानशीलता कार्यक्रम सुदढको सहजीकरणमा शहरी विकास मन्त्रालयको आयोजनामा सम्पन्न सो संगोष्ठीमा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ विकास अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले भने 'अहिले आर्थिक तथा सामाजिक विकासको वैश्विक प्रवृत्ति जलवायु परिवर्तनका प्रतिकूल प्रभाव रोक्ने र ऊर्जा संकटलाई सम्बोधन गर्ने क्रममा हरित चरित्रको विकास र स्वच्छ ऊर्जाको विकासतर्फ लक्षित छ। नेपालजस्तो जलवायु परिवर्तनको न्यूनतम कारक किन्तु यसका असरबाट अधिकतम प्रभावित र पीडित मुलकका लागि यो संगोष्ठी अत्यन्तै सान्दर्भिक रहेको छ। जलवायु परिवर्तन समेतका कारणबाट गाउँबाट विस्थापित भएको जनसंख्याले शहरी पूर्वाधार संरचनामा जन्माएको अत्यधिक चाप थेग्न र गाउँलाई प्रकृति, सम्पदा र समुन्नतिको संगमका रूपमा पुनः स्थापित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरु तदनुरूप नीति, कानुन, संस्थागत संरचना र कार्यक्रम निर्माण गरी अगाडि बढ्नुको विकल्प छैन।'
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका डा. वाग्लेले अगाडि थपे 'त्यसका लागि स्रोत साधनको हरित नक्सांकन, हरित पूर्वाधार लगानी, उत्थानशील अर्थात् रेजिलियण्ट विकास संरचना र समग्रमा विकासको सोच र प्राथमिकतामै हरितीकरण को टड्कारो आवश्यकता छ।'
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उत्थानशील र समावेशी विकासको अवधारणा विकासका वर्तमान विकृतिहरूको निदान र उपचार भएको बताए। यो सुरक्षित भविष्यका निम्ति भरपर्दो लगानी भएको उनको भनाइ थियो। उनले सुदृढ परियोजनाको सहयोगमा पोखरामा विकास गरिएको ८५ किलोमिटर लामो लेक (टु) लेक साइकल मार्गको पनि चर्चा गरे।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले समावेशी विकास सुनिश्चित गर्नका निमित्त सीमान्तकृत समुदायलाई केन्द्र भागमा राख्न र लैंगिकता, हरित विकास र सीपमूलक उद्यमशीलताको अवधारणालाई आत्मसात् गर्दै युवाहरुलाई यसतर्फ परिचालित गर्न नगरपालिकाहरूसँग आग्रह गरे।
कार्यक्रममा ब्रिटिस राजदूतावासका तर्फबाट प्रतिनिधित्व गर्दै त्यहाँकी ग्रोथ तथा रेजिलियन्स सल्लाहकार डा. सविता थापाले सरकार, निजी क्षेत्र, विज्ञहरू र विकास साझेदार नमिली तीव्र रुपमा बढ्दो शहरीकरणका चुनौतीहरुलाई सम्बोधन गर्न कठिन हुने बताइन्।
उनले विश्व बैंकका शहरी विशेषज्ञ जोनास पावले सरकार र विकास साझेदारहरुबीचको सामञ्जस्यबाट स्रोत परिचालनमा दोहोरोपन हट्ने उल्लेख गरिन्।
त्यसैगरी पहिलो दिनको उद्घाटन सत्रको समापन गर्दै सभापतिको आसनबाट शहरी विकास सचिव सुरेश आचार्यले हरित विकासको कुरा गर्दा रुख रोप्ने मात्र नभई यसका बहु आयामिक व्यावहारिक पक्षहरु जस्तै कृषियोग्य जमिनको संरक्षण, जैविक खेती, फोहर मैलाको दिगो व्यवस्थापन, जलाधार संरक्षण, जलवायु परिवर्तन व्यवस्थापन, सम्पदा संरक्षण, प्रकृतिमा आधारित समाधान, स्वच्छ ऊर्जा विकास, विद्युतीय यातायात आदिमा जोड दिन सबै सहभागीहरूलाई आग्रह गरेका थिए।
प्रकाशित: १८ चैत्र २०७९ १३:१७ शनिबार