१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरका अधिकांश एम्बुलेन्स नै ‘बिरामी’

बिरामी लिएर विराटनगर जाँदै गर्दा दुर्घटनामा परेको उदयपुर गढी १ को एम्बुलेन्स मर्मत गर्नुअघि। तस्बिर: महेश्वर

परोपकारी कामका लागि विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाहरुले भन्सार छुट सुविधामा खरिद गरेका एम्बुलेन्सहरुको उद्देश्य बमोजिम सदुपयोग हुन नसकेको घटना नौलो होइन। स्पष्ट नियमन हुन नसकेकै कारण कतिपय एम्बुलेन्सलाई सामाजिकभन्दा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको पाइएको छ भने कतिपयको गम्भीर दुरुपयोग नै हुने गरेको घट्नाहरु पनि बेलाबेलामा बाहिरिँदै गरेका छन्।

उदयपुरमा पनि भन्सार सुविधा छुटमा यस्ता थुप्रै एम्बुलेन्सहरु खरिद भएका छन्। तर, सञ्चालन शैलीमा भने लापरबाही र बेवास्ता भएको पाइएको छ। उदाहरणका लागि जिल्लाको उदयपुर गढी गाउँपालिका नै काफी छ। सो गाउँपालिकाका ४ ओटा एम्बुलेन्सहरु विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन्। गाउँपालिकाको बजेटबाट पहिलो कार्यकालमै झण्डै ५० लाख मूल्यमा खरिद गरेको ४ वटै एम्बुलेन्स कोही दुर्घटनामा परेर र कोही बिग्रेर मर्मत गर्न नसक्दा हाल प्रयोगविहीन हुन पुगेको स्थानीय बताउँछन्।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले आर्थिक वर्ष ०७५–७६ मा ११ लाख ५० हजारका दरले ती एम्बुलेन्स खरिदे गरेको बताए। भौगोलिक बिकटताका कारण कोही पनि गाउँपालिकावासीले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर कार्यपालिका बैठकबाट निर्णय गरेरै पहिलो पटक ४ वटा एम्बुलेन्स खरिद गरेको अध्यक्ष मगरले बताए। साढे ११ लाखका दरले खुद मूल्य ४६ लाख र अन्य विविध खर्च गरी ५० लाख रुपैयाँ खर्च भएको एम्बुलेन्सको सञ्चालन गर्ने जिम्मा गाउँपालिकाले वडा मातहतमा रहने गरी स्वास्थ्य चौकीहरूलाई सुम्पेको थियो।

जस अनुसार १ नंं वडा तावाश्री, ३ नं. बर्रे, ४ नं. डुम्रे र ५ नं. उदयपुरगढीलाई एम्बुलेन्स वितरण गरिएको थियो। वडाध्यक्ष नै पदेन अध्यक्ष हुने स्वास्थ्य चौकीलाई हस्तान्तरणकै बेला एम्बुलेन्सको वार्षिक बिमा नवीकरणबाहेक सम्पूर्ण खर्च र आम्दानी वडाकै हुने सम्झैता भएको अध्यक्ष मगरले बताए।

‘एम्बुलेन्स गाउँपालिकाले खरिद गरे पनि वार्षिक बिमा नवीकरण गरेवापतको रकमबाहेक सम्पूर्ण सञ्चालनको जिम्मा स्वास्थ्य चौकीले नै गर्ने गरी जिम्मा दिएका हौँ’ अध्यक्ष मगरले भने ‘भएको आम्दानी र चालकलाई तलब भत्ता, बिग्रे भत्के मर्मत सम्भारलगायत खर्चको जबाफदेही पनि स्वास्थ्य चौकी नै रहने भन्ने थियो।’

वडाध्यक्षको जिम्मामा रहेर स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएका एम्बुलेन्सहरु सुरु सुरुमा राम्ररी सञ्चालन भएता पनि समयमै मर्मत सम्भार नगर्दा अहिले वडावासी जनता बिरामी परे अरूको एम्बुलेन्स र भाडाका गाडी उपचार गर्न जानुपर्ने बाध्यता आई लागेको छ।

स्वास्थ्य चौकी तावाश्रीले सञ्चालन गरिरहेको १ नं. वडाको एम्बुलेन्स वर्ष दिनपछि नै दुर्घटनामा परेर मर्मतको क्रममा रहेकाले वडावासी एम्बुलेन्सविहीन हुन पुगेका छन्। बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा २०७६ कार्तिक ५ गते सुनसरीको दुहवीमा दुर्घटनामा परेको उक्त एम्बुलेन्स मर्मत गर्दाको रकम भुक्तानी गर्न नसकेपछि फिर्ता ल्याउन सकिएको छैन।

अध्यक्ष मगरले तत्कालीन १ नं. वडाध्यक्ष खेतबहादुर आलेमगरलाई एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गर्न पटक पटक पत्राचार गरेपछि भर्खर कागजात हस्तान्तरण गरेको बताए। तर, दुर्घटनामा परेर बिग्रेको एम्बुलेन्स इटहरीस्थित ग्यारेजमा मर्मत भईसकेको जानकारी आए पनि रकम तिर्न बाँकी भएकाले अहिलेसम्म गाउँपालिकामा फिर्ता नआईपुगेको उनले सुनाए। त्यसै गरी ३ नं.वडाको एम्बुलेन्स चालकलाई तलब भत्तासमेत खुवाउन नसक्ने भएपछि गाउँपालिकालाई बुझाइएको छ। ५ नं. वडाको एम्बुलेन्स पनि बिग्रेर भर्खर मर्मत गरेपछि गाउँपालिकामै ल्याएर राखिएको छ।

४ नं. वडाको एम्बुलेन्स स्वास्थ्य चौकीमै रहेको तर, नियमित सञ्चालन नहुँदा चालक पाल्नै धौधौ भइरहेको वडाध्यक्ष रामबहादुर घले मगरले बताए। उनका अनुसार पहिनामा १–२ पटक मात्र एम्बुलेन्स सञ्चालनमा आउने नत्र थन्किएरै बस्ने गर्दा लामो समयदेखि तलवभत्ता खानै पाएका छैनन्। गाउँ गाउँमा गाडी चल्ने बाटो बनिसकेकाले अधिकतम बिरामीहरू सस्तो भाडामा बस र अटो चढेर उपचार गर्न जाने गरेकाले एम्बुलेन्स चल्न छाडेको वडाध्यक्ष घलेले बताए। एम्बुलेन्समा गाईघाटसम्म जान ६ हजार भाडा तोकिएको छ भने विराटनगर र धरान जान ९ हजार तथा काठमाडौँसम्मलाई १७ हजार कायम गरिएको छ।

‘अहिले गाईघाटदेखि वडासम्मै ठूला साना गाडी चल्ने सडक बनिसकेकाले बिरामीहरू एम्बुलेन्स चढ्नै छाडिसकेकाले चालक पाल्नै गाह्रो भएको छ’ वडाध्यक्ष घलेले भने ‘सामान्य बिरामी र दिउँसो बस र अटो चढेर गईहाल्छन्, कहिलेकाहीँ राति अपर्झट परेका बिरामी मात्र एम्बुलेन्स चढ्छन्। त्यसैले महिनामा फाट्टफुट्ट १–२ दिन मात्र चल्छ नत्र बढीजसो थन्क्याएर राख्ने गरेका छौँ।’ गाउँपालिकालाई जिम्मा दिन खोजेको तर, कहिलेकाहीँ नभई नहुने अपर्झट खाँचो परेकाले वडामै राखेको घलेले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले विभिन्न स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएका एम्बुलेन्सहरु दुर्घटनामा परेर तथा बिग्रेका कारण नियमित सञ्चालनमा आउन नसकेको बताए।

उनका अनुसार ५ वर्षअघि अहिलेजस्तो गाउँमा सडकको अवस्था राम्रो नभएको र गाडी तथा अटोहरु चलनचल्तीमा नभएकाले गाउँले बिरामीलाई उपचार गर्ने लक्ष्यका साथ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर जिम्मा दिइएको हो। अहिले एउटा दुर्घटनामा परेर निकै ठूलो लगानी पर्ने गरी बिग्रेको तथा अन्य एम्बुलेन्सहरु पनि नियमित सञ्चालन नहुँदा सञ्चालन खर्च धान्नै गाह्रो भएको हाकिम राईले बताए। खास गरी प्राय सबै वडाका गाउँ गाउँसम्म यातायातको पहुँच पुगिसकेको हुनाले पनि एम्बुलेन्सको प्रयोग ह्वात्तै घटेर सञ्चालन गर्नै समस्या भएको राईको भनाई छ।

अहिले दुर्घटनामा परेको एम्बुलेन्स मर्मत भईसकेको र ३ नं. को वडाले नै सञ्चालन गरिरहेको छ भने सामान्य बिग्रेका ४ र ५ नंं का पनि मर्मत गरेर कन्डिसनमा ल्याइसकेको तर, गाउँपालिकामै राखेर सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताएका छन्।

प्रकाशित: १८ चैत्र २०७९ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App