४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

वासुदेव पौडेल

पोखरा-सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको वडा नं. ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखानाको निर्माणसंगै उक्त परिसरमा जङ्गली जनावर उद्धार केन्द्र निर्माण गरिएको हो ।

स्थानीय युनाइटेड क्लबको पहल एवम् स्थानीयवासीको सक्रियतामा यहाँको एक सय ३४ हेक्टर क्षेत्रको चिडियाखाना भित्र करिव रु २५ लाखको लागतमा उद्धार केन्द्र निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए।

पर्यटकीय सहर पोखराका साथै प्रदेश नं ४ मा रहेको यो चिडियाखानालाई विश्वकै नमुना चिडियाखानका रुपमा विकास गर्ने सोचका साथ स्थानीयबासी तथा सम्बद्ध लागिपरेका छन् ।

क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको जानकारी दिँदै बख्रेलले भने, “चिडियाखाना निर्माणको वर्तमान चरणसम्म आइपुग्दा धेरै दुःख, कष्ट तथा चुनौतीको सामना गर्नुपरेको छ, स्थानीय स्तरमा बढेको यो जागरुकतालाई सरकार एवम् सम्बद्ध निकायको सहयोग अपरिहार्य छ ।”

चिडियाखाना अवलोकनका लागि जालीको डोम निर्माण गरिने र जनावर, पक्षी खुल्ला छाडिने योजना छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पंक्षी तथा जनावर कक्ष बनाउने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

सामुदायिक वनमा भएका जनवार संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रदर्शनी कक्षसमेत निर्माण गरिनेछ । वन्यजन्तुको उद्धार, स्वास्थ्य र संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिएको जानकारी दिँदै संयोजक बख्रेलले केही दिन भित्र नै उद्धार केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न हुने बताए।

देशकै पहिलो खोरमुक्त आधुनिक चिडियाखानामा बाल उद्यान, बल्छी हान्ने पोखरी, डुङ्गा शयरका लागि ताल, जङ्गल सफारीलगायत अतिरिक्त क्रियाकलापलाई समेटिनेछ । चिडियाखाना निर्माणसँगै हिमाली दृश्यावलोकनसहित तालको अवलोकनमा रमाउने पर्यटकलाई वन्यजन्तु एवम् चराचुरुङ्गीले आकर्षित गर्नेछन् ।

स्थानीय समाजसेवी एवम् बेगनास रुपाताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालका अनुसार चिडियाखाना एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइने उनले जानकारी गराए।

निर्माणाधीन चिडियाखानाको पूर्वी भाग रुपातालसँग जोडिएको बताउँदै ढकालले यसको निर्माणसँगै रुपाताल पनि संरक्षण हुने धारणा राखे। पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैया क्षेत्रमा निर्माण गर्न लागिएको चिडियाखाना यहाँको पर्यटकीय विकासका लागि अत्यन्त उपयोगी हुने विश्वास लिइएको स्थानीयवासी बताउँछन् । रासस

प्रकाशित: ६ पुस २०७३ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App