२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दुई दर्जनभन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय परिसरमा नियन्त्रणमा लिइएका गाडीहरु। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहट प्रहरीले दुई दर्जनभन्दा बढी गाडी नियन्त्रणमा लिएको छ। कागजपत्र नभएका तथा चोरीको सवारी साधन हुन सक्ने आशंकको आधारमा प्रहरीले दुई दर्जन भारतीय गाडीहरु नियन्त्रणमा लिएर अनुसन्धान एवं कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

रौतहटमा निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीको लगत संकलन गर्ने क्रममा शंका लागेका दुई दर्जन गाडीलाई एक साताभित्र नियन्त्रणमा लिएर बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

मध्य तराइका जिल्लाहरु मध्ये रौतहटमा अत्यधिक संख्यामा भारतीय नम्बर प्लेटका चार पाङ्ग्रे र दुई पाङ्ग्र्रे सवारी साधनहरु स्थानीय बासिन्दाहरुले चलाउन थालेपछि स्थानीय प्रहरी प्रशासनलाई अपराध नियन्त्रण गर्न चुनौती थपिएको छ। जिल्लामा रहेका मोटरसाइकल र जिपहरुको नजिकका प्रहरी चौकीमा लगत राख्न अभियान सुरु गर्दा प्रहरीले चार ओटा बोलेरो, दुई ओटा मार्सल गरी चार पाङ्ग्रे ६ थान तथा दुई वटा नम्बर प्लेट नभएको र १८ भारतीय नम्वर गरी १८ थान भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए।

जिल्लामा प्रायः भारतीय नम्बरका सवारी साधनको प्रयोग गरी सीमापारीबाट अवैध सामान ओसारपसार गर्नेलगायतका अपराधिक कार्यलाई निरुत्साहित गर्न प्रहरीले चलाएको अभियानलाई स्थानीय बासिन्दाहरुले सघाउँदा उक्त सफलता प्राप्त भएको पासवानले दाबी गरे।

नियन्त्रणमा लिइएका दुई दर्जन सवारी साधनहरु प्रायः पुरानो भएको हुँदा करिब ३३ लाख मूल्य राखेर आवश्यक अनुसन्धान एवं कारवाहीका लागि मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयालाई सोमबार जिम्मा लगाएको उनले बताए। रौतहट प्रहरीले भारतीय नम्बरको चार र दुई पाङ्ग्रे सवारी साधन बुझाएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले स्वीकार गरेको छ।

 

प्रकाशित: ४ पुस २०७३ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App