४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

लाङटाङबाहेकमा यातायातको पहुँच

रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ।

काठमाडौं लगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ। रसुवा घुम्न आउने पर्यटकलाई समेत सहज भएको छ। प्रत्येक गाउँ टोलमा मोटरबाटो पुर्‍याउन स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिएकाले अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो।

भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मर समेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्न समेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताए।

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रयासअन्तर्गत हालसम्म ६४ किलोमिटर   सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताए।

मोटरबाटो खुलेसँगै स्थानीय स्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पुर्‍याउन सहज भएको किसानले बताएका छन्। काठमाडौंको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेंसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, वृद्विम समेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ।

अधिकांश सडक कच्ची र कतिपय खोलामा पुल बन्न बाँकी रहेका कारण हिउँद यामको समयमा मात्र  बस सेवा सञ्चालन हुने समस्या छ। यसै वर्षदेखि वृद्विमदेखि-काठमाडौंसम्म नियमित बस सेवा सञ्चालन भएको छ। हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन सहज सहज भएको पर्यटन व्यवसायीले बताएका छन्। शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्केछड्के पैदलमार्गबाट लाङटाङ पुगी सहज रूपले यात्रा गर्न सकिने पथप्रदर्शकले बताएका छन्। रासस  

प्रकाशित: १७ चैत्र २०७९ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App