१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुदखोरबाट ऋण लिँदै विदेश जाँदै

कात्तिकको तेस्रो साता देश चुनावमय थियो। यो नागरिककर्मी लुम्बिनी, गण्डकी प्रदेशका तराई जिल्ला र वाग्मती प्रदेशअन्तर्गत चितवनको चुनावी रिपोर्टिङमा निस्किएको थियो। जसमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्ला पनि पर्थ्याे।

नवलपरासी (बसुप) त्यही जिल्ला हो, जहाँका मिटरब्याजपीडितले दुईपटक गरी ६१ दिनसम्म राजधानीका सडकमा आन्दोलन गरेका थिए। सरसर्ती हेर्दा तराई–मधेसका जिल्लामा सामाजिक–आर्थिक समस्याका रूपमा ‘भुसको आगो’झैं सल्किरहेको मिटरब्याज समस्याको ‘इपिसेन्टर’ नै थियो। महिनौंको आन्दोलनपछि सरकारले पाँचबुँदे सहमति गराएर असोज १ गते मात्रै पीडितलाई घर फर्काएको थियो।

ती जिल्ला पुग्दा मिटरब्याजपीडितका समस्या सुन्ने दायित्व महसुस भएपछि खोजी सुरु भयो। नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए। त्यसैले प्रतापपुर गाउँपालिका केन्द्र बेलाटारीमा पुगेर त्यहीँबाट मिटरब्याजपीडितकहाँ पुग्ने योजनाका साथ यात्रा तय गरियो। बेलाटारीमा तत्कालीन सत्ता गठबन्धनको तामझामसहितको ठुलै आमसभा थियो। जहाँ नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, उम्मेवारहरू अर्बपति विनोद चौधरी, पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेल र अभिनेता भुवन केसीलगायतको उपस्थिति थियो। हजारौंको भिडमा दर्जनौं कलाकार पनि भेला भएका थिए। तर मिटरब्याजपीडित भने आफ्नै समस्याको मोर्चाबन्दी गर्दै सरवल गाउँपालिका–५ धनगढवामा भेला भएको थाहा भयो। त्यसपछि त्यतैतिर लागियो। त्यहाँ सुरु भयो, पीडितका कथा सुन्ने काम। सयौं पीडितका आआफ्नै कथा थिए।

तर कथाको प्रकृति र त्यसले सिर्जना गरेको पीडा भने अक्सर समान थियो। कथा सुन्दै जाँदा अधिकतरमा बेरोजगार युवाको जमात नै मूल कारण थियो।

बेरोजगार युवाका विकल्प कि विदेश कि तस्करी !

छोरा हुर्कंदै गएपछि हरेक बुवाजस्तै सुस्ता गाउँपालिका–५ सिमरीका जयप्रकाश कुर्मीलाई चिन्ता थपिँदै थियो। नेपालमै रोजगारी पाउने सम्भावना नदेखेका उनले छोरालाई विदेश पठाउने सोचे। ‘नेपालमा बसेर तस्करी गरेर जोखिम उठाउनुभन्दा छोराले पनि विदेश जान सहमति जनायो,’ कुर्मीले भने। विदेश त पठाउने तर घरमा पैसा थिएन। भएको पैसाले मात्रै पुग्दैनथ्यो। त्यही समस्याले कुर्मीलाई मिटरब्याजीको दैलोमा पुर्‍यायो।

‘जगदीश कानु (बानियाँ)सँग नपुग हुने रकम एक लाख रूपैयाँ लिएर छोरालाई मलेसिया पठाएँ। त्यो रकम लिँदा जगदीशको भाइ सुनिल कानु (बानियाँ)ले दोब्बर २ लाख रूपैयाँको तमसुक बनायो,’ कुर्मीले भने, ‘जगदीश आफैंले २ लाख रूपैयाँमा जग्गाको दृष्टिबन्धक बनाएर राख्यो। तत्काल पैसा चाहिएको थियो, लिनैपर्‍यो। छोराले कमाएर छिट्टै तिरिहाल्छ भनेर गरिदिएँ।’

त्यस दिनदेखि कुर्मीको तनाव बढ्दै गयो। ‘मैले रकम लिएकाले छोराले कमाएर दिएको रकम जगदीशलाई दिइरहें। ५ लाख ५ हजार रूपैयाँ तिरिसकेको छु। तर उसले अझै ३ लाख ८१ हजार रूपैयाँ मागिरहेको छ। उता जगदीशको भाइ सुनिलले ४ लाख रूपैयाँ माग्दै छ,’ कुर्मीले दुःखेसो पोखे।

कुर्मीको जस्तै दुःखेसो प्रतापुर गाउँपालिका–७ माधवपुरकी गुलाबीकुमारी धरिकारको पनि छ। उनका पति श्याममिलन धरिकारले साउदी अरेबियाको भिसा लागेपछि सुदखोर सुनिल शर्मासँग ५० हजार रूपैयाँ लिएका थिए। पछि खेती लगाउन गुलाबीले थप ५० हजार रूपैयाँ लिइन्। त्यही रकमको सुद (ब्याज) तिर्दातिर्दै उनले ५ लाख ४६ हजार रूपैयाँ बुझाइसकेको बताइन्। ‘पतिले विदेशबाट पठाएको पैसा सुद बुझाउनै ठिक्क हुन्छ,’ उनले भनिन्, ‘थप घरखर्च माग्दा उताबाट पति गाली गर्नुहुन्छ। के गर्छौ यत्रो पैसा भनेर, कति दिन दिइराख्छौं भनेर?’ उनी काठमाडौंमा भएको आन्दोलनमा दुई महिना बसेकी थिइन्।

नेपालको इलमले पार लाग्ने छाँट नपाएपछि नागरिकतामा भएको कम उमेरको उपयोग सरावल–५ फुलरियाका रामवचन बढैले ५ वर्षअघि विदेश जाने सुर कसे। उनको नागरिकतामा ४५ वर्ष थियो भने वास्तविक उमेर ५५। ‘सबै विदेश गइरहेको देखेर म पनि हौसिएँ। केही वर्षपछि जान नपाउने भएकाले अहिल्यै जाऊँ र बुढेसकालका लागि कमाएर ल्याऊँ भन्ने सोचेको थिएँ,’ उनले भने, ‘परासीका गोविन्द चौधरीसँग १ लाख २५ हजार लिएँ। त्यसको डेढ लाख रूपैयाँको कागज गरेर डेढ कट्ठा जमिन दृष्टिबन्धक गर्‍यो।’ बढै कतार गए। तर उनी गएको १० महिनामै कम्पनी बन्द भयो। ‘१० महिनाको कमाइले त्यो ऋण तिर्नै सकिनँ। ३० हजार रूपैयाँ त दिएँ बाँकी रह्यो। अहिले ५ लाख मागिरहेको छ,’ उनले भने।

सरावल–५ कि मीनादेवी कहारका पति गोविन्द कहार पनि विदेशमा छन्। तर उनी भने सुरुमै सुदखोरकहाँ पुगेका थिएनन्। विदेश जाँदा उनले ४ लाख रूपैयाँ एउटा लघुवित्तबाट लिएका थिए। तर समयमै भिसा नलाग्दा किस्ताको आपत् आइलाग्यो। ‘किस्ता तिर्न सुदखोरबाट ऋण लिन थालें। एक–दुई गर्दागर्दै आठ जनासँग ५०–५० हजार लिएको छु,’ मीनादेवीले भनिन्, ‘सबै आठ जनाले एकएक लाख रूपैयाँको तमसुक बनाएका छन्।’

अहिले उनलाई ती आठवटै साहुले तीन देखि चार लाखसम्म पैसा मागिरहेको उनी बताउँछिन्। ‘एकातिर लघुवित्तको ऋण, अर्कातिर सुदखोर। चिन्ताले धान्नै सकिने अवस्था छैन,’ उनले भनिन्।

मिटरब्याजपीडितको भीडमा अधिकांशको यस्तै गुनासो थियो। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाका अनुसार नवलपरासी (बसुप)को दक्षिणी गाउँका घरैपिच्छे युवा तेस्रो मुलुकमा छन्। ‘बेरोजगार युवाको मूल गन्तव्य नै तेस्रो मुलुक हो। तेस्रो मुलुक जानका लागि तत्कालै पैसा चाहिन्छ। घरपरिवारसँग विकल्प हुँदैन,’ उनी भन्छन्, ‘अनि सुदखोरकहाँ नपुगी उपाय नै लाग्दैन। यसैले यस्ता समस्या पनि घरैपिच्छे छन्।’ यसरी घरैपिच्छे हजारौं युवालाई विदेश पठाउन सुदखोरहरूले ऋण लगानी गरेका छन्। जसबाट चर्को दरमा असुली गरिरहेका छन्।  

‘सुदखोर साहुहरू नै के भन्छन् भने हाम्रा त छोरा हजारभन्दा बढी विदेशमा छन्। हामीलाई कमाएर हामीलाई दिन्छु भन्छन्,’ सुस्ता गाउँपालिका–५ सिमरीका कुर्मी भन्छन्, ‘विदेशबाट कमाएको पैसा सुदबापत उनै साहुहरूलाई दिन ठिक्क हुन्छ। नभए दृष्टिबन्धन राखेको घरजग्गा नै हडप्छन्।’

मिटर ब्याजपीडित आन्दोलनको अभियन्ताका रूपमा काम गरिरहेका निर्ग नवीनको बुझाइमा यहाँका बेरोजगार युवाका लागि प्रस्ट दुई विकल्प मात्रै छन्। ती भनेको कि विदेश जाने कि तस्करी गर्ने ! ‘जति पढेको, जति जानेको भए पनि युवाका लागि कि विदेश जाने कि सीमापारिबाट तस्करी गर्ने दुईवटा मात्रै विकल्प छन्। रोजगारीको अन्य अवसर नै छैन,’ नवीन भन्छन्, ‘खेतीपातीको सिजनमा कृषि मजदुर हो। केरा काट्ने बेलामा केरा काट्छन्, उखु काट्ने बेला उखु काट्छन्, धान काट्ने बेला धान काट्छन्।’

उखु र केरा खेती गर्दा पनि किसानलाई समयमै मूल्य नपाइने समस्या रहेको उनी बताउँछन्। ‘अवस्था कस्तो छ भने उखुको पैसा चार वर्षपछि पाइन्छ। केराको पैसा चार वर्षसम्म पनि दिँदैनन्। उखु लगायो, उखुमा पनि समस्या, केरा लगायो केरामा पनि समस्या। अनि तस्करी नगरेर मान्छे बाँच्ने कसरी?’ उनले भने, ‘त्यसपछिको गन्तव्य विदेश नै बन्छ। अनि सुदखोरकहाँ पुग्दा लिएको रकमभन्दा दोब्बरमा तमसुक बन्ने, नगद लिएको रकममा पनि १० प्रतिशत काटिने, दृष्टिबन्धक अनिवार्य हुन्छन्,’ मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष कुशवाहा वताउँछन्।

‘सुदखोरको आँखा नै जमिन, घडेरी र सम्पत्तिमा हुन्छ। पैसा थोरै ढिलो भए दृष्टिबन्धक गरेको जग्गा छिनुवा पास गरेर राजीनामा गराउँछन्,’ उनले भने, ‘यसरी अधिकांश जमिन कि दृष्टिबन्धकमा छ, कि छिनुवा पासबाट हडपिएका छन्। साराका सारा घरसम्पत्ति सुदखोरको कब्जामा छ।’

यही कारण आफूहरूले तमसुकहरू खारेज हुनुपर्ने, दृष्टिबन्धक कागज खारेज हुनुपर्ने, बढी असुलिएको रकम फिर्ता हुनुपर्ने र छिनुवा पासबाट हडपिएका घरजग्गा फिर्ता हुनुपर्ने माग राखिरहेको उनले बताए। उता नवलपरासी (बसुप)का प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मिटरब्याजसँग सम्बन्धित अधिकांश मुद्दामा पीडितले ऋण लिँदा विदेश जाने उद्देश्यले नै लिएको पाइएको बताए।

राजधानीमा आन्दोलन जारी

यता मधेस प्रदेशलगायत आठ जिल्लाका मिटरब्याजपीडित चार दिनदेखि राजधानीमा आन्दोलनरत छन्। महोत्तरीको बर्दिबासबाट चैत २ गते पैदल हिँडेर चैत १२ गते काठमाडौं उपत्यका छिरेका पीडित आफ्नो माग सुनुवाइ नभएसम्म घर नफर्किने बताइरहेका छन्। सरकारले मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ। यस्तै गृह मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरिसकेको छ। उक्त टोलीसँग पीडित पक्षले बिहीबार वार्ता गर्ने जनाएको छ।

उता नवलपरासी (बसुप)का पीडितले भने अहिले काठमाडौंमा रहेका आन्दोलनकारीको मागले मात्रै मिटरब्याजपीडितको समस्या समाधान नहुने दाबी गरेका छन्। बुधबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष कुशवाहाले एक विज्ञप्ति सार्वजनिक गर्दै यही चैत २० गते राजधानी पुगेर निर्णायक आन्दोलन गर्ने उल्लेख गरेका छन्। 

प्रकाशित: १६ चैत्र २०७९ ००:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App