लहान-लहान ३ स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ। जिल्ला स्वास्थ्य प्रमुख दयाशंकरलाल कर्ण सहितको जिल्लास्तरीय अनुगमन टोलीले बिहीबार यो पोलिक्लिनिक अनुगमन गर्दा ईजाजत नपाएको सेवा समेत गैरकानुनी तरिकाले सञ्चालन गरेको भेटिएको छ।
अनुगमन टोलीले यो पोलिक्लिनिकमा भिडियो एक्सरे, शल्यक्रिया, फर्मेसी र एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको जिल्ला स्वास्थ्य प्रमुख कर्णले जानकारी दिए। ‘यहाँ संचालित सेवामध्ये धेरैजसो सेवा गैरकानुनी छ,’ कर्णले नागरिकन्युजसंग भने, ‘अनुगमनको क्रममा पाईएको गैरकानुनी कार्यको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाउँछौं।’
यो पोलिक्लिनिकलाई बहिरंग, ईसिजि, प्रयोगशाला, प्रसुती (समान्य) र रेडियोलोजि बिभागबाट ईजाजत लिएर एक्सरे संचालन गर्न जिल्ला स्वास्थ्य कार्यलयले ईजाजत दिएको फोकल पर्सन उमेश कर्णले बताए।
ईजाजत नै नपाएको फर्मेसी, भिडियो एक्सरे, शल्यक्रिया लगायतका सेवा संचालन गरेर नियम कानुन मिच्ने यो पोलिक्लिनिकलाई कुन हदसम्मको कारबाही गर्ने प्रतिबेदनमार्फत सुझाव माग गरिने जिल्ला स्वास्थ्य प्रमुख कर्णले बताए।
जिल्लाभरी ४८ वटा पोलिक्लिनिकलाई सामान्य प्रसुती सहितका पाँचवटा सेवा संचालन अनुमति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित: ३० मंसिर २०७३ १२:१२ बिहीबार