coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘हावाहुरीले ढाल्यो सुनकोसीको झोलुंगे पुल’

हावाले फेदमै ढालेको उदयपुर र खोटाङबीचको सुनकोसीमा निर्माणाधीन झोलुङ्गे पुलको टावर। तस्बिर: महेश्वर

उदयपुर र खोटाङलाई जोड्ने गरी निर्माण भईरहेको झोलुङ्गे पुलको टावर गल्र्याम्म ढलेको छ। 

कटारी नगरपालिकाका १० सोरुङछबिसेको चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ डिकुवा सिमाना बाईटारस्थित सुनकोसीमा निर्माणाधीन पुलको उदयपुर तर्फको टावर गत शुक्रबार ढलेको हो।

टावर ठड्याएर जडान गर्ने क्रममा आएको हावाहुरीले ढालेको स्थानीयले बताए। प्रत्यक्षदर्शी स्थानीय व्यापारीका अनुसार निर्माण सकेर ठड्याइएको टावर हावाले फेदमै भाँचेर लडाएको हाे। १३ स्टेपको टावर निर्माण सकेर डठ्याउदै गरेका बेला ढलेको निर्माण कम्पनीलाई उद्धृत गर्दै रेखदेखको जिम्मा पाएको पूर्वाधार कार्यालय उदयपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी मित्रमणि निरौलाका अनुसार शुक्रबार मध्यान्ह उदयपुरतर्फको टावर भाँचिएर नदीतर्फ ढलेको हो। खोटाङतर्फको टावर भने केही नभएको उनले बताए। खोटाङतर्फको टावर यसअघि नै जडान गरेर ठड्याईसकिएको थियो भने उदयपुरतर्फको भने ठड्याउने क्रममै ढलेको निरौलाले बताए। वारपट्टिको टावर आसपास मानव बस्ती नभएको र टावर नदीतर्फ ढलेकाले कुनै जनधनको क्षति भने नभएको निरौलाले बताए।तर, वारपट्टिको टावर ढलेपछि खोटाङतर्फ पनि ढल्ने आशंकाले स्थानीयलाई चिन्तित तुल्याएको छ। 

खोटाङतर्फ टावरनजिकै सुनकोसी आधारभूत विद्यालय र केही पसलहरु रहेकाले मानव बसोबास र चलखेल बाक्लो हुने गरेको छ। त्यस्तो ठाउँमा टावर ढल्यो भने अकल्पनीय क्षति हुनसक्ने सुनकोसी आधारभूत विद्यालयका प्रधानाध्यापक (प्रअ) विशाल राईले बताए। उनका अनुसार उदयपुरपट्टिको टावर ढल्दा नदीतिर ढल्दा जनधनको क्षति नभएको तर, खोटाङतर्फको टावर पनि त्यसरी ढल्यो भने विद्यालय र घर पसल क्षति हुने उच्च जोखिम छ।

प्रअ राईले एकातर्फको टावर ढलेपछि त्रसित भएका स्थानीयहरुले टावर बलियो गरी जडान गर्न माग गरेका छन्। अर्कोपट्टिको टावर जडानमा कमजोरी भएकैले ढलेको भन्दै उनीहरुले त्यता क्षति नभए पनि खोटाङतर्फ विद्यालय र पसलहरु भएकाले बालबालिका, शिक्षक र व्यापारीलाई जोखिम हुने भन्दै स्थानीयले नियमन निकाय र ठेकेदारलाई ध्यान दिन आग्रह गरेका छन्।

प्रदेश सरकारमार्फत निर्माण भईरहेको सो पुल ०७८ कात्तिक १० गते सम्पन्न गर्ने गरी ०७६ वैशाख ११ गते सम्झौता गरेर काम सुरु भएको थियो। अढाई वर्षभित्र निर्माण सक्ने गरी ‘नेपाल फुबारी–स्वर्णिम–अंशुमन निर्माण सेवा’ ले ठेक्का लिएको पुल सम्झौता अवधिमा सम्पन्न नभएपछि २ पटक म्याद थप भईसकेको छ। काम थाले लगत्तै दोस्रो चरणको कोभिड कहर आईपरेको तथा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने सडक अप्ठेरो भएकाले काम गर्न ढिला भएको भन्दै निर्माण कम्पनीले म्याद थपिमागे अनुसार सुरुमा ५ महिना र दोस्रो पटक ६ महिना थपिएको थियो।

पूर्वाधार कार्यालय प्रमुख (डिई) गंगासागर यादवले ३ करोड ९५ लाख लागत मूल्यमा निर्माणाधीन सो पुलको काम ८० प्रतिशतभन्दा बढी सकिइसकेको छ। टावर जडान गरेर ठड्याउने क्रममा नटबल्टु कस्न नपाई चर्को हावाहुरी चल्दा ढल्न पुगेको बताउँदै डिई यादवले ढलेको टावर भोलिपल्टै जनशक्ति खटाएर जडान गरी पुनः ठड्याउन लागिएको बताए।

पुल निर्माण स्थल सडक पहुँभन्दा बाहिर रहेकाले आवश्यक लठ्ठालगायत निर्माण सामग्री पुर्‍याउन असहज हुनुका साथै कोभिडले केही समय काम रोक्नु पर्दा सम्पन्न गर्न ढिला भएको डिई यादवको भनाई छ।

चिप्टार र बाईटार नाका जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने उदयपुर र खोटाङवासीका लागि महत्त्वपूर्ण स्थान हो। उदयपुरतर्फ कटारी १० र ११ का सोरुङ, लिम्पाटार, ठाँटीलगायत र ताप्ली गाउँपालिकाका १, २ र ५ वडाका ओख्ले, रुपाटार, कटहरे तथा खोटाङतर्फ हलेसी तुवाचुङ २ का डिकुवा, बाहुनीडाँडा र दुर्छिमलगायत बस्तीवासी सो नाका भएर आउजाउ गर्ने भए पनि पुल नहुँदा वर्षौँदेखि डुङ्गा तरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

हिउँदमा पानी घट्ने हुँदा जोखिम कम भए पनि बर्खा याममा उर्लने बाढीले उच्च जोखिम मोलेरै डुङ्गामार्फत कोसी वारपार गर्नुपर्ने बाध्यता उनीहरूमा छ।

डिई यादवले पुल लगभग सकिईसकेकाले आउँदो वैशाखभित्रै सम्पन्न भएर सुरक्षित आउजाउ गर्न पाइने बताए। सम्झौता अवधिमा काम नसक्ने ठेकेदारलाई पटक पटक ताकेता गर्दै दबाब दिएपछि छिटोछिटो काम भईरहेको उनले बताए।

‘पुल लगभग बनिसक्यो भन्दा हुन्छ तर, टावर ठड्याएर नटबल्टु कस्ने क्रममा अचानक चर्को हावाहुरी आउँदा ढलेको हो। हावा नचलेको भए यतिन्जेलसम्म लठ्ठा टाँगेर पुल निर्माणको काम आधा भईसक्ने थियो।’
 

प्रकाशित: १३ चैत्र २०७९ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App