१२ फाल्गुन २०८० शनिबार
समाज

चुरे क्षेत्र र खोलानदीमा बेहिसाव दोहनको प्रभाव:खण्डहर बन्दै खेत

चुरे सिरानको धनगढीमाई नगरपालिका– १३ भोर्लेनी स्थित मानव वस्तिको बीचमा रहेको आँपाको बगैचा फडानी गरी गहिरो खाल्डो खनेर ग्राभेल झिकेपछि बनेको खण्डहर। तस्विरःमिथिलेश यादव/नागरिक

बिल्टु दास (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा नगरपालिकाको बन्दिपुर गाउँ आए। उनलाई धनुषाबाट बन्दिपुर बसाई सर्नुको आकर्षण  थियो– कमला नदीमा पानीको प्रयाप्त सुविस्ता।  

उनी बन्दिपुर आउँदाका बेला कमला नदीको पानीले यस भेगमा मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो। विगत सम्झँदै दासले भने,‘आफैले खनेको नहर मार्फत त्यो बेला बहुबाली हुन्थ्यो।’ पछिल्लो समय कराेडौ‍‌ लगानीमा निर्माण भएको र भैरहेको कमला सिँचाई नहर प्रणालीले बहुबाली साँघुरिएको उनले बताए।

बन्दिपुरका अर्का किसान मुक्तिलाल सिंह (५५) को एउटै लालसा  छ –कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था। गहुँको सिजनमा लगाउन पानी चाहिएको हुन्छ तर, कमला सिँचाई नहर प्रणाली मार्फत उनको खेतसम्म पानी पुग्दैन। पोटिलो गहुँका लागि कम्तीमा तीन पटक पानी लगाउनुपर्छ। यो सुख्खा भेगमा त चार पटक पानी लगाउनुपर्छ उनले भने,‘तर कमलाको पानीले एक पटक मात्र पानी लगाउन पुग्छ।’ 

कारण कमला सिंचाई नहरमा गहुँको सिजनमा प्रयाप्त पानी हुँदैन। तीन पटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन उनले भने, ‘कमला सिँचाई नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई प्रयाप्त छैन्।’ जेठ असारमा अकाशे पानीले रोपाई धानि हाल्छ। ‘हामीलाई नहरको पानी प्रयाप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो’ उनले भने ‘तर त्यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छौ।’

कमला सिँचाई नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली खेतमै सुक्छ। गहुँ र दलहन खेतीलाई यो सिँचाई नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानहरुको गुनासो छ। गहुँ, दलहन र तेलहन खेतीलाई चाहिने प्रयाप्त पानी हो तर, यस बेला नहर सुख्खा छ, हुन्छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने,‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी नै हुदैन्।’

दुई दशक पहिलासम्म आफ्नै बाहुबलले कमलाबाट खेतसम्म खनेको नहरमार्फत यस भेगका किसानले प्रयाप्त सिँचाई गरी बहुअन्न उब्जाउँथे। धानको सिजनमा माथीबाट पनि वार्षा हुन्छ (अकासे पानी) तर, गहुँ, दलहन र तेलहन सिजनमा यस क्षेत्रका किसानको  एकमात्र सहारा कमला पूर्वी सिँचाई नहर हो ठाकुरले भने,‘ नहर मार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ हुन्थ्यो। तर, कमला सिँचाई नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन्।

यहाँका किसानहरुले बताएअनुसार पहिला धान, गहुँ, दलहन, तोरी, चना घरमा भित्रिन्थ्यो। पछि चना, तोरीको खेती गर्ने परम्परा पनि सुक्यो। अब केवल धान र गहुँ खेती गरिन्छ। त्यो पनि वर्षभरी खान पुग्दैन। धान र गहुँ खेती गर्ने परम्परा पनि बिस्तारै सुक्दै गएको किसानहरु बताउँछन्। अर्थात, पछिल्लो केही दशकभित्रै बहुबालीको ( धान, गहुँ, दलहन, तोरी, चनालगायत) परम्परा सुक्यो। खानाको लागि पनि अन्न किन्नुपर्ने भयो।

सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव(६५) चिन्तित देखिन्छन्। उनको चिन्ताको कारण हो –सुख्खा। किसान उनको सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो–जल। जल अर्थात सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनलाई अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ।  

सरकारले न नोकरी दिनुपर्छ न रोजगार झबुले बताएअनुसार यस भेगमा सिँचाइको भरपर्दो प्रबन्ध भइदिए पुग्छ। सिँचाईको सुबिधा नहुँदा खेतको बाली खेतमै डढ्छन्। चना र दलहन खेतीको बेहाल हुन्छ। उनले भने,‘सिँचाइ सुविधा बेगर हामी किसानको साँस नै अड्केको छ।’ उनी भन्छन्,‘सरकारले यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविस्ता उपलब्ध गराउनुको साटो खानी र क्रसरको लहर ल्याइदिएको छ। खानी र क्रसरका कारण यो क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनले बताए।

धनगढीमाई नगरपालिका –१३ भोर्लेनी खजनपुरिया टोलका जयजयराम यादव सात दशकपहिला कमलपुर गाउँबाट बसाइ सरेर भोर्लेनी आए। उनलाई यहाँको हरियाली र पानीको पर्याप्तताले तानेको थियो। जयजयरामका नाती मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो अहिले छोडेर भाग्नुपर्ने अवस्था आएको छ। ढुंगा–गिटी र बालुवा खानी माफियाले बस्तीको चारैतिर ठुल्ठुला खाल्डा खनेर घरखेत नै उजाड पार्न थालिसके। 

हरियाली उजाड बनाएर बस्तीलाई खण्डहर बनाउँदै छ। चारैतिर क्रसर र खानीका कारण खेत खण्डहरमा परिणत हुँदै गएको उनले बताए। 

 स्थानीय सरकार आएपछि जनतालाई राहतभन्दा आघात पुर्याउने काम गरेको उनी बताउँछन्। उनले भने, ‘स्थानीय सरकारले हामी किसानलाई राहत होइन, आहत दिँदैछ। बस्ती मास्ने र खाद्य असुरक्षा बढाउने गरी अनियन्त्रित र अवैज्ञानिक उत्खननलाई छुट दिएर सरकारले जोखिम बढाएको उनको गुनासो छ। खजनपुरियाका मनोज मात्र होइन, लगडी टोल, बलडारा, भोर्लेनी गरी दुई हजार पाँच सय किसानको साझा समस्या हो–जल संकट। जुन सीमाविहीन उत्खन्न, र क्रसरले निम्त्याएको छ।  

भोर्लेनीका अर्का किसान जोगिन्दर यादव भन्छन्,‘पहिलापहिला यो ठाउँ पर्यावरणीय दृष्टिले गुल्जार थियो, अहिले उजाड बनेको छ।’ हावापानी र हरियालीका कारण यो ठाउँमा बस्ती बाक्लिन थाल्यो। दक्षिणवर्ती गाउँहरूबाट यहाँ बसोबास गर्न आउनेको लहर चल्यो। तर एक दशकदेखि उत्खनन माफियाहरूको नजर लागेपछि यो क्षेत्र उजाड बनेको छ।  

स्थानीय सरकार आएपछि यस क्षेत्रमा क्रसर उद्योग स्थापनाको लहर नै चल्यो। तिनै उद्योगले अवैध र अनियन्त्रित्र रूपमा बालुवा, ढुंगा र गिटी निकालेर बेच्न थाले। प्रहरी, प्रशासन, स्थानीय सरकार र ठेक्केदारबीचको सेटिङमा प्राकृतिक सम्पदामाथिको अनियन्त्रित र अवैध दोहनका कारण यो क्षेत्र उराठलाग्दो बन्दै गएको जोगिन्दरले बताए। 

खेतयोग्य जमिनजती उत्खनन स्थल बन्न थालेपछि चौतर्फी हरियाली बीचमा बसेको मानव बस्ती विस्थापित हुने अवस्था आएको छ।  

धनगडीमाई नगरपालिका–३ कि सुकनी सदाय (मुसहर) वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछिन्। उनको पीडाको अर्थ छ– पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले भनिन्। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ। मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित कृषि मजदुर बेरोजगार प्रायः भएका छन्। कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ गएका छन्, जाँदैछन्।

कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ। यही बस्तीका रामफल सदाय(५०) वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन्। पहिला बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइन्थ्यो। ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले सुनाए। उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ।

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामो समय सिरहा भन्सार कार्यालय, खैरटोकामा जागीर खाएर अवकास पाएका छन्। जागीरे अनुभूती सम्झँदै उनले भने,‘दुई दशक अघिसम्म भन्सारबाट भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो।’ खैरटोका नाकाबाट जयनगर, दरभँगासम्म बैलगाडा (गोरुगाडा)मा नेपाली धान पुग्थ्यो। ‘हेर्दा हेर्दै समय उल्टियो,’ उनले भने, ‘अन्न बेच्नेहरु अन्न किन्न थाले।’ 

उनको बिचारमा समय उल्टिनुको कारण –सरकारी नीति किसानमैत्री हुनुपर्नेमा कंक्रीटमैत्री भैदियो। किसानमैत्री हुननसक्नुको अर्थ सिँचाई, मलखाद्ध, विउविजनको प्रयाप्त सहुलियत नहुनु नै हो उनले भने,‘सिँचाई हुने मूलमा अनियन्त्रित र अवैज्ञानिक दोहनलाई छुट दिइएको छ। नदीप्रणालीको गति बिगारिएको छ। पानी सोस्ने जमिनको प्रणालीमा छेडखानी गरेर भद्रगोल मच्चाइएको छ उनले भने,‘प्रकृतिमाथि यसैगरि उपद्रब भैरह्ने हो भने अन्न भण्डार ‘मधेस’ मरुभूमि बन्नेछ।’

सिरहाको सीमावर्ती बरियारपट्टीका किसान बिल्टु यादव आशा व्यक्त गर्छन्,‘सिँचाईको प्रयाप्तता भईदिए किसानीप्रती जनआकर्षण स्वाभाविक रुपमा बढ्दै जानेछ। उनी भन्छन्,‘यो गाउँको बीच भागबाट बग्ने कटनीया खोलामा कमलानदिको पानीलाई प्रवाह गरिदिए यस भेगमा किसानीप्रती आकर्षण बढ्ने थियो।’ 

तर कमलामाईमा अनियन्त्रित दोहनका कारण पानी पर्याप्त छैन सुन्दैछु उनी भन्छन्,‘चारैतिर माफियाको बोलबाला छ, हामी किसानको दुःखमा मलम कसले लगाइदिने ?’  

सिँचाइ अभावमा जतिसुकै मिहिनेत गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान पिरोलिएका छन्। सिँचाइको असुविधा, मलखादको असहजताले यहाँका किसान किसानीतर्फ लगानी गर्न(बाली लगाउन) हच्किँदै छन्।

मधेस प्रदेश सभाको पहिलो बैठकदेखि नै सदस्यहरुले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। 

समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्र सम्भव रहेको उनीहरुले बताएपनि जलको समुचित व्यवस्थापन र नदी प्रणाली र नदीको मूल चुरेको संरक्षणतर्फ कार्य प्रारम्भ नहुँदा किसानहरु शंकीत छन्।

प्रकाशित: १२ चैत्र २०७९ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App